एशिया यू–२० रग्बी प्रतियोगिता नेपालमा हुने
काठमाडौं–एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता आगामी भदौमा नेपालमा हुने भएको छ ।
नेपाल रग्बी संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशिया रग्बीको आयोजना र संघको व्यवस्थापनमा भदौ २ र ३ गते प्रतियोगीता आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगितामा एशियाका भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेड, हङकङ, उज्बेकिस्तान र नेपालको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेमेन्सतर्फ ७ राष्ट्र र महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसियाले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले एशिया रग्बीको ट्रफी प्राप्त गर्ने संघका महासचिव गोबिन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसका लागि एशिया रग्बी, राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद् र विभिन्न प्रायोजकहरूले साथ दिएको घिमिरेले बताए ।
प्रतियोगिताका लागि नेपाली यू–२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको संघले जनाएको छ ।