सिँचाइ विभागको महानिर्देशकमा सीबी ओली
काठमाडौँ- जलस्रोत तथा सिँचाइ विभागको २६ औं महानिर्देशकमा विभागकै उपमहानिर्देशक चूर्णबहादुर ओली सोमबार नियुक्त भएका छन् ।
विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलाई मन्त्रालयमा सरुवा गरिएको छ । आचार्यलाई माओवादी केन्द्रबाटै ऊर्जामन्त्री भएकी पम्फा भुसालले २०७८ साउन २० गते महानिर्देशक बनाएकी थिइन् । आचार्यले दुई वर्ष ९ दिन विभागमा महानिर्देशकका रूपमा काम गर्न पाए ।
विभागको इतिहासमा दुई वर्ष महानिर्देशक भएर काम गर्न पाउनेको संख्या निकै कम छ । आचार्यअघिका मधुकर राजभण्डारी पनि दुई वर्ष पुग्नलाई तीन महिना बाँकी छँदै सरुवा भएका थिए ।
आज महानिर्देशकमा नियुक्त भएका ओली २०५३ सालमा तत्कालीन सिँचाइ विभागमा प्रवेश गरेका हुन् । सप्तकोसी उच्चबाँध परियोजनामा समेत काम गरिसकेका ओली २०६६ सालमा खुला प्रतिस्पर्धाबाट राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा भई विद्युत् विकास विभागमा काम गरेका थिए ।
भूगर्भ शास्त्रमा स्नातकोत्तर र व्यवस्थापनमा कार्यकारी एमबीए उत्तीर्ण गरेका ओली २०६६ सालमा खुला प्रतिस्पर्धाबाट राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा भएका थिए । २०७७ सालमा खुला प्रतिस्पर्धाबाट राजपत्रांकित प्रथम श्रेणीमा बढुवा भएका ओलीले पञ्चेश्वर विकास प्राधिकरण (पीडीए) को कार्यकारी निर्देशक भई तीन वर्ष काम गरेका थिए ।
२०७८ देखि विभागको भूमिगत जलस्रोत महाशाखामा उपमहानिर्देशक रहेका ओलीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महानिर्देशकमा बढुवा गरेका हुन् ।
सिँचाइतर्फ सतह तथा भूमिगत लगायत सिँचाइका सबै विधामा काम गरेर अनुभव हासिल गरिसकेका ओली जलस्रोतका विज्ञसमेत हुन् ।