साफ च्याम्पियनसिप चुनौतीपूर्ण : कप्तान किरण चेम्जोङ
काठमाडौँ- साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई बिदाई गरिएको हो । नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, एन्फा महासचिव किरण राई लगायतले बिदाई गरेका हुन् ।
टोलीलाई राखेप उपाध्यक्ष शिव कोइरालासहित एन्फा पदाधिकारीले झण्डा हस्तान्तरण गरे । बिदाई पछि बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टिमबाट राम्रो नतिजाका लागि खेल्ने बताए । उनले छोटो समयको तयारीका बाबजुद पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताए ।
भारतमा आयोजना हुन लागेको टोलीमा मिडलिस्ट टोली पनि सहभागिता जनाउनुले साफका स्तर बढ्ने बताउँदै साफ प्रतियोगिता प्रतिष्पर्धात्मक हुने अपेक्षा राखे । अहिले टोलीमा केही नयाँ अनुहार जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डेब्यु नगरेको भन्दै प्रतियोगिता नेपालका लागि निकै चुनौतीपूर्ण रहेको कप्तान किरणले बताए । साविक विजेतासहित कुवेत जस्ता बलिया टोली भएकाले नेपालका लागि अघिल्लो चरण प्रवेश गर्नका लागि ठूलो चुनौती भएको बताए ।
यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिलिपिन्ससँगको खेलमा नेपालले स्वाभाविक खेलका लागि प्रयास गर्ने बताए । नेपाली टोली आफ्नो खेल खेल्दै प्रतियोगिताको तयारी गर्ने बताउँदै प्रशिक्षक एनेसले बलियो फिलिपिन्ससँग विगतको नतिजा जस्तो भए पनि स्वाभाविक खेल्दै साफ खेलमा राम्रो गर्ने रणनीति बनाएको बताए ।
फिलिपिन्सलाई रोक्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नका लागि फिलिपिन्ससँगको खेल महत्वपूर्ण रहेको भन्दै एनेसले नेपाली टोलीमा धेरै नयाँ अनुहार भएको र उनीहरूबाट आफूले धेरै अपेक्षा गरेको भन्दै प्रशिक्षकले प्रतियोगिता राम्रो हुने विश्वास व्यक्त गरे ।
भारतको बैंगलुरुमा आयोजना हुने १४औं संस्करणको साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् । टोलीमा प्रशिक्षक एनेसले डिफेन्डरमा विमल पाण्डे र सीमान्त थापा तथा मिडफिल्डर लाकेन लिम्बूलाई समेट्दै नेपाली टोलीको गरेका हुन् । टोलीमा विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी हुन् ।
प्रतियोगिता असार ६ गतेदेखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तान सम्मिलित कठिन समूहमा रहेको छ । समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक भारत र १२ असारमा पाकिस्तानसँग खेल्ने तालिका रहेको छ । यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेबनान र कुवेतले आमन्त्रित टोलीका रूपमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।
यस्तै प्रतियोगिताको समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । नेपालले साफ च्याम्पियनसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाली टोली उतैबाट बैंगलुरु प्रस्थान गर्ने तालिका रहेको छ ।