लिङ्देनसहित निर्वाचित सबै पदाधिकारीले लिए शपथ
काठमाडौँ - राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनियताको शपथ लिएका छन् ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।
अध्यक्षले लिएपछि बाँकी पदाधिकारीले पनि शपथ लिएका हुन् । उनीहरूले पनि संयोजक बस्नेतबाट शपथ लिएका हुन् । पार्टी, देश र ईश्वरको नाममा उनीहरूले शपथ लिएका हुन् ।
नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिएका छन् ।
सो शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भए पनि अर्का निवर्तमान अध्यक्ष कमल थापा भने अनुपस्थित रहे ।
काठमाडौंको भृकटीमण्डपमा आज (आईतबार) बिहान सम्पन्न एकता महाधिवेशनले लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्य समितिमा ५० जना सदस्य अध्यक्षले मनोनीत गर्नेछन ।