प्रदेश २ मा पहिलो दिन ७३३ जनाले लगाए कोभिड-१९ विरुद्धको खोप
जनकपुरधाम : प्रदेश २ मा अभियानको पहिलो दिन ७३३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । बुधबार प्रदेशको ८ वटै जिल्लाको ९ वटा केन्द्र र १४ वुथबाट ७ सय ३३ जनाले कोभिडविरुद्धको खोप दिइएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।
पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीहरूलाई खोप दिइएको छ । अभियानको पहिलो दिन सबैभन्दा बढी सप्तरीमा १४६ जना, सर्लाहीमा १२९ जना, पर्सामा ११३, सिरहामा ११०, धनुषामा १०२, बारामा ७० र महोत्तरीमा ३७ जनाले खोप लगाइएको झाले जानकारी दिए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगंजको नारायणी उपक्षेत्रीय अस्पताल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव प्रादेशिक अस्पताल जनकपुरधाम र सामाजिक विकास मन्त्री नवल किशोर साह सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजबाट अभियानको औपचारिक सुरुवात गरेका थिए ।