अनुसन्धानका सिपाही थापा हत्याका अभियुक्तहरू सार्वजनिक
नेपालगन्ज : राष्ट्रिय अनुसन्धान विभाग, बाँकेमा कार्यरत सहायक सूचक (सिपाही) प्रबिन थापामगरको हत्या गर्ने अभियुक्तहरूलाई बाँके प्रहरीले बुधबार सार्वजनिक गरेको छ । हत्या भएको तीन हप्ता पुग्नै लाग्दा जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरेर अभियुक्तहरू सार्वजनिक गरेको हो ।
थापाको माघ २ गते हत्या भएको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-१८, कारकाँदो निवासी २७ वर्षीय थापा माघ ३ गते दिउसो मृत फेला परेका थिए । नेपालगन्जको कारकाँदो लग्दहवा स्थित मेरीगोल्ड स्कुलदेखि १०० मिटर पूर्व थापाको शव फेला परेको हो ।
अनुसनधानका क्रममा प्रहरीले ७ जनालाई विभिन्न मितिमा पक्राउ गरेको जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरीले नेपालगञ्ज-१८ का २४ वर्षीय दिनेश कुमार कुर्मी (बर्मा), सुर्खेत गुर्भाकोट नगरपालिका-१४ गुमी घर भई नेपालगञ्ज-१८ बस्ने १९ वर्षीय निश्चल गुरूङ, जाजरकोट जुनिचाँदे गाउँपालिका-७ दह घर भई नेपालगञ्ज-४ बस्ने तेज मगर भनिने तेज बहादुर बि.एम.लाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न नेपालगञ्ज-६, ५,४ र २ निवासी ४ जनालाई सार्वजनिक गरेपनि नाम र ठेगाना सार्वजनिक गरेन ।
पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले तालिम प्राप्त कुकुर, केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा सुक्ष्म र प्रभावकारी अनुसन्धान गरेर घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको बताए ।
प्रहरीले सुवास थापालाई माघ १३ गते नेपालगञ्ज-२ घरवारी टोलबाट मृतकको मोबाइसहित नियन्त्रणमा लिएको थियो । घटनापश्चात फरार रहेका विवेक परियारलाई माघ १५ गते भक्तपुरको चागुनारायण तथालीबाट, सुमित बि.क. र सुशान्त भन्डारीलाई सोही दिन नेपालगंज बसपार्क नजिक समावेसी स्कुल नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
तेज मगर र निश्चल गुरूङलाई दाङ, सुर्खेत हुदै धनगढी बसपार्क होटलमा लुकिछिपी बसेको अवस्थामा माघ १७ गते कैलालीबाट पक्राउ गरिएको थियो ।
मुलुकी अपराध संहित ऐन २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १७७ बमोजिम अभियुक्तहरूलाई जन्म कैद हुने व्यवस्था कानुनमा छ ।
प्रबिन नेकपाका जिल्लास्तरीय नेता डम्बर थापाका छोरा हुन् ।