यो राजनीति सामान्य नै हो र ? असामान्य लाग्छ त मलाई !
कोरोना भाइरसले ध्वस्त पारेको अर्थतन्त्रमा सत्तापक्षको विग्रह राजनीतिले आगोमा घिउ थप्ने काम गरेको छ । जोडिनभन्दा फुट्न र फुट्नभन्दा टुट्नमा विश्वास राख्ने कम्युनिस्टहरू जुन दिन जोडिएका थिए, फुटको बीजारोपण पनि त्यही क्षणबाट सुरु भइसकेको थियो । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ दुई अध्यक्षात्मक परिपाटी भित्र्याएर चमत्कार भन्ने नेकपाका नेताहरू त्यही नै फुटको कारण बन्न सक्छ भन्ने भेउ त्यस पार्टीका नेता तथा कार्यकर्ताले पाउन नै सकेनन् ।
अदृश्य सम्झौतामा रमाई ‘दुई पाइलट’को गुड्डी हाँकेर देश र जनतालाई रनभुल्लमा पारेका नेताहरूले अहिले एकअर्कोलाई गद्दार घोषणा गरी आफ्नै कार्यकर्तालाई जिल्लाराम खुवाए, अनि न रुनु न हाँस्नुको अवस्थामा पुर्याए । स्वार्थमा गरिएको एकीकरणमा ताली बजाउनुको सट्टा नेताहरूलाई सही गलत के हो भनेर सम्झाउन सकेको भए अहिले यसरी जग हँसाउने गरी रोइलो गरिराख्नुपर्ने थिएन । तर असली कार्यकर्ता र शुभचिन्तकहरूलाई चौघेराभन्दा बाहिर राखेर गरिने निर्णयहरूले दिने परिणाम सुखदभन्दा दुःखद् नै हुने गर्छ ।
‘हामी’को छद्मभेषमा ‘म’लाई स्थापित गर्न अघि सरेका यी वृध्द नेताहरूबाट जनता त आहात हुने नै भए, अन्धभक्त कार्यकर्ताको थपडीबाट यस्ता कर्म गर्नमा यिनीहरूले सधँै छुट पाए र आफूलाई दुष्कर्ममा अब्बल साबित गर्दै गए । ‘बुढो साँढेले गाई ओगेटे झंै’ हजुरबा उमेरका नेताहरूबाट पार्टी तथा देशको शासनसत्तालाई कब्जामा राखेर ‘बा’ र ‘नाति’ उमेरका नेताहरूलाई ‘ब्वाँसोले ....को झर्ला र खाउँला’झैं टुलुटुलु हेर्न बाध्य बनाउँदै छन् ।
स्थायित्व र विकासलाई बन्धकी राखेर हजुरबा पुस्ताका नेताहरूले गरेका निर्णयहरूमा थपडी बजाउँदै ऊर्जावान् समय खेर फालेपछि आखिर युवा भनाउँदा नेताहरूबाट तिनको बुढेसकालमा के नै आस गर्न सकिन्छ र । त्यस समयमा यिनीहरू पनि आफ्ना अग्रजको सिको गर्दै आउँदो नाति पुस्तालाई दलनमा खट्न नै बाध्य पार्नेछन् । जबसम्म आउँदो पुस्तामा ह्याउ र केही गर्न सक्छु भन्ने भेउ हुने छैन तबसम्म युवा पुस्ताको काम डाढ थापेर बस्नु र हजुरबा पुस्ताको लात सहनु नै हुनेछ ।
जंगली सत्ताको धङधङ्गती बाँकी राखी देशको राजनीतिमा अहिले फेरि दुई वटा सत्ता स्थापित गर्न खोजिँदै छ । सत्ताको सत्तामा सत्तापक्षको विपक्षले सडकबाट समानान्तर सत्ता सञ्चालन गर्न खोज्दै छ र अर्का खेमाको अध्यक्षलाई कारबाही गरेर आफ्नो गुटको नेतालाई अध्यक्ष नियुक्ति गरी दुई अध्यक्षात्मक प्रणाली फेरि स्थापित गरेको छ ।
आफूलाई केन्द्रमा राखेर गरिने हरेक निर्णयले दिने परिणाम सकारात्मकभन्दा नकारात्मक नै हुन्छ, किनकि अबका हरेक नागरिकमा चेतनाको स्तर नेताले सोचेभन्दा माथि छ, भलै तिनीहरू कुनै प्रतिक्रिया नजनाई बसेका हुन् । देश र जनताको दुहाइ दिँदै ‘हामी यता छौ’ भन्दै सडकमा बसेका नेताहरूलाई यो चेत कहिले आउँला, देश र जनताको लागि नयाँ अध्यक्ष र संसदीय दलको नेताभन्दा स्थायित्व र विकास महत्वपूर्ण छ भनेर ।
सरकार सफलभन्दा असफल बन्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्षको कुर्सी आफ्नो दाहिना हुने देखेर झेल खेल खेल्न सुरु गरेका सत्तापक्षका प्रतिपक्षहरू अहिले घर न घाटका हुन् थालेका छन् ।
सत्ताका लागि पार्टी फुटाउन, जीवनलीला समाप्त पार्न र तत्कालीन दरबारमा भेटी चढाउन यी सबै नेताहरू तयार नै थिए ।
व्यक्तिगत महत्वाकांक्षालाई देश र दुनियाँको जलप लगाई घाटमा जाने बेलासम्म पनि प्रधानमन्त्रीको कुर्सीमा रमाउनुपर्ने भएपछि देश त उभो हैन उधो लाग्ने नै भयो । सत्ता र शक्तिमा टाँसिनको लागि ‘राम्रा’ भन्दा ‘हाम्रा’ र ‘गराउन’ भन्दा ‘कमाउन’ सक्ने मान्छेको कति आवश्यकता रहेछ भन्ने कुरा त अहिलेको संसद् विघटन हेर्दा पनि थाहा हुन्छ । सिध्दान्तभन्दा व्यक्तिगत महत्वकांक्षामा एकीकरण पार्टी आखिर टुट्नु त थियो नै । तर यसले देशलाई कति पछाडि धकेल्छ भन्ने कुरा त आउँदा दिनमा थाहा हुने नै छ ।
‘जल्दी खाऊ तातै मरु’झँै गरी सत्ताका लागि हिजो ४० औं वर्षसँगै काम गरेका आफ्नै पार्टीका साथीहरूलाई पाखा लगाई गरेको पार्टी एकीकरणको नतिजा आज दुवै पक्षले भोग्दैछन् । शुध्द र शान्त मनले सबैलाई समेटेर अगाडि बढेको भए न आजको दुर्दशा निम्तिन्थ्यो न यी दिन देख्न पथ्र्र्याे । आजका दिनमा दुई तिहाइ बहुमतका साथ बनेको सरकार र पार्टीका दुवै खेमा सहारा खोज्दै जाबो अविश्वासको प्रस्ताव पनि पेस गर्न सक्ने हैसियत नभएको प्रतिपक्षसँग सहयोगको हात फैलाउन विवश छन् ।
जब स्वार्थ मिल्न जान्छ तब सबै किसिमका सीमा रेखाहरू मेटिँदै जाँदो रहेछ । हिजोसम्म छिःछि र दुरःदुर गरेका प्रतिपक्षीको प्रतिपक्षीलाई भेट्न सत्तापक्षका प्रतिपक्षहरू लाम लागेर जान थालेका छन् । सँगैका दौंतरी पटकपटक प्रधानमन्त्री र पार्टी अध्यक्ष बनिसकेको अवस्थामा ढल्कँदो उमेरसम्म पनि त्यसको छनक नपाउनुको पीडा त उनीहरूलाई नै थाहा छ ।
त्यसैले सत्तापक्षको प्रतिपक्षले थोरै आस देखाइदिँदा पनि ‘मनको लड्डु घिउसँग खाँदै’ यिनीहरूलाई अदालतको निर्णय कुर्नुभन्दा सडकमा गएर ‘हामी यता छौँ’ भन्ने प्रदर्शनमा भाग लिन हतार छ । सायद आफूहरूले विगतमा गरेका सबै हर्कतहरू सम्झेर यिनीहरूलाई पनि अदालतको काम कारबाहीप्रति त्यति विश्वास नलागेको हुन सक्दछ । यदि इमान, इज्जत र प्रतिष्ठाको राजनीति गर्थे भने त पार्टीको अभिभावकत्व ग्रहण गरी नयाँ पुस्ताका लागि बाटो खुला गरिदिने थिए ।
सरकारविरुध्द प्रदर्शन गर्न उर्दी जारी गरेको घोषणा गर्ने प्रतिपक्षका सत्तापक्ष न त विगतमा आफूले संसद् भंग गरेकोमा पश्चाताप छ न त कुनै पीडा । मौका मिले सत्तापक्षसँग जतिखेर पनि चोचोमोचो मिलाउन पनि पछि नपर्ने प्रतिपक्षको सत्तापक्ष गएको स्थानीय निर्वाचनमा आफ्नो पार्टीलाई नांगै बनाई गरेको सहयोगको बदलामा प्रतिनिधिसभा निर्वाचनमा सँगै सत्तामा बसी तत्कालीन अर्को कम्युनिस्ट घटकसँग कसेको लगनगाँठोबाट पाठ सिक्छन् कि फेरि पनि तिनीहरूकै पछिपछि गएर ‘हामी यता छांै’ भन्ने प्रदर्शनमा सहभागी हुन्छन् वा सत्तापक्षबाट आउन सक्ने कुनै मौका कुरेर बस्छन्, हेर्नु छ ।
कम्युनिस्टमा यो विग्रह नआएको भए सत्ताको सोच पनि कांग्रेसका लागि लामो समयसम्म ‘सपनाको फल’ नै हुने थियो । परिस्थितिले कोल्टे फेर्दा कांग्रेसका लागि एक मौका फेरि आएको छ तर यिनीहरूको विगत हेर्दा जनताको राजनीतिभन्दा सत्ताको राजनीतिमै रमाउने साथै हाम्रा र चाम्रालाई साथ दिनेको बाहुल्य भएको पार्टीमा देशले केही पाइहाल्छ भन्नु त सायद ‘सपनाको फल आँखा तरी मर’ नै होला ।
अन्तमा, मौकाको ताकमा सधैं रहने दुवै पार्टीका नेताहरू एकअर्कालाई उपयोग गर्न खोज्दाको असर नेपाली कांग्रेसमा नपर्ला भन्न सकिँदैन । सत्तापक्षको खेलमा कुुर्सीका लागि दुई धारको प्रतिपक्षलाई थोरै चारो हालिदिँदा, प्रतिनिधिसभा पुनःस्थापनाको लागि संघर्ष गर्ने कि संसद् भंगलाई स्वीकार गरेर चुनावमा जाने भन्ने विषयमा रडाको मच्ची प्रतिपक्ष नै टुटफुटको सिकार पो हुने हो कि ।
आखिर सत्ताका लागि पार्टी फुटाउन, जीवनलीला समाप्त पार्न र तत्कालीन दरबारमा भेटी चढाउन यी सबै नेताहरू तयार नै थिए । साथै हाम्रा नेताहरू असम्भवलाई सम्भव बनाउन पनि त माहिर नै छन्, भलै यसले देशको भलो गरोस् कि नगरोस् । किनकि हाम्रा नेताहरूलाई ‘आफ्नो टाउको फुटेपछि मीतको टाउको बेलै सरह’ जो छ ।
(ड्याम इन्जिनियर डा. थापा क्यानडामा कार्यरत छन् ।)