विचार
यो व्यवस्था रहँदैन, यो व्यवस्थालाई बल गरेर राख्न खोजियो भने राजा रहँदैनन्
हामीहरू आठ वर्षसम्म हिन्दुस्तानमा बसेर अब छिट्टै नेपाल फर्किन लागेका छौं । यो निर्णय लिनुभन्दा पहिले धेरै साथीहरूसँग छलफल गरिएको थियो । काठमाडौंबाट आएका हुन् वा सुदूर पश्चिमबाट आएका हुन्, मुलुकभित्र रहेका तरुण, हाम्रा पुराना साथीहरू अनेक प्रमुख साथीहरूसँग छलफल गरेर यो निर्णय लिइयो ।
साँच्चै भनौं भने हामी नेपाली कांग्रेसका साथीहरूले, सदस्यहरूले जस्तो परिस्थितिमा काम गर्नुपरेको छ, त्यस परिस्थितिमा यो भन्दा बढी विचार-विमर्श गर्ने अरू कुनै उपाय थिएन । हामीहरू कुनै सम्मेलनमा एकत्रित भएर यो निर्णय लिन पनि सक्दैनथ्यौँ । तर मैले मेरो राजनीतिक जीवनमा यस निर्णयलाई जति महत्व दिएँ, त्यति नै महत्व साथीहरूको विचार जान्नका लागि पनि दिएँ । विचारको आदान-प्रदान भयो र मैले साथीहरूका बीचबाट म स्वदेश जानुपर्छ भन्ने पक्षमा एउटा सहमति पाएँ । त्यसमा सक्रिय कार्यकर्ताहरूको एउटै मत थियो। केही साथीहरूले चाहिँ स्वदेश जाँदा मलाई व्यक्तिगत खतरा हुनसक्छ भन्ने सोचे । तर अधिकांश साथीहरूको मतमा भने यो निर्णय निक्कै सामयिक हो, धेरै उचित र क्रान्तिकारी हो।
अब प्रश्न उठ्छ, मैले जुन साथीहरूलाई भेटेर परिस्थिति अवगत गराएँ, विचार-विमर्श भयो, आफ्नो दृष्टिकोण स्पष्ट पारें, उनीहरूलाई त यस सम्बन्धमा कुनै शङ्का वा दुविधा नहोला । तर धेरै साथीहरू र मेरा देशवासीहरू, जोसँग विचार-विमर्श गर्ने मौका मिलेन, उनीहरूको मनमा लाग्न सक्छ - 'आखिर हामीले फेरि नेपाल फर्किने किन निर्णय लियौं ?' त्यसको जवाफ दिनुभन्दा पहिले 'हामी आजभन्दा आठ वर्षपहिले किन हिन्दुस्तानमा आयौँ ? हिन्दुस्तानमा आउने के कारण थियो ?' भन्ने प्रश्नको पनि जवाफ दिनुपर्छ । त्यसबखत हामी हिन्दुस्तान आउनुका दुई-तीनवटा कारण थिए।
१. हामीहरू यहाँ शरणार्थी भएर आएका थिएनौं, भगौडा भएर, देशको शासनदेखि डराएर, सरकारको यन्त्रणाबाट भागेर पनि आएका थिएनौँ । हामीहरू यहाँ राजनीतिक काम गर्न भनेर आयौँ । हामीहरू क्रान्तिकारी हौँ । त्यहाँ नेपालको व्यवस्थाविरुद्ध के काम गर्न सकिन्छ भन्ने विचार गर्दा हामीलाई के लाग्यो भने 'नेपालभित्र त भूमिगत आन्दोलन छदै छ, हाम्रो संस्था बनाउने काम पनि गइरहेको छ, निर्णय गर्न पर्ने काम बाँकी छ । त्यसका लागि हामीलाई सुरक्षित स्थानमा एउटा हेडक्वाटर चाहिएको थियो ।
त्यसैले नेपालभित्र भइरहेको भूमिगत कार्यक्रमलाई समन्वय गर्न र अर्को युनिटसम्म सम्बन्ध स्थापित गराउन, सबैमा एउटा सामूहिक विचार पुर्याउन र छलफलको माध्यम बन्न एउटा सानो सेन्टर भन्नुहोस् वा हेडक्वाटर भन्नुहोस्, त्यसको आवश्यक थियो । त्यो सधैंभरि प्रहरीको नजरमा रहेर सम्भव थिएन । त्यसोहुँदा जस्तोसुकै भूमिगत रूपमा रहेर काम गरे पनि त्यो सम्भव नभएको हुनाले देश बाहिर आउनुपर्यो ।
२. बाहिर आउँदा कुन ठाउँ उपयुक्त हुन्थ्यो ? माझ-लण्डनमा गएर त त्यो काम गर्न सम्भव थिएन । भौगोलिक दृष्टिबाट सबैभन्दा नजिक हिन्दुस्तान वा तिब्बत छ। तर तिब्बतमा त्यसो गर्न सम्भव थिएन । र, तिब्बतको राजनीतिक व्यवस्थामा हामीलाई त्यस्तो गर्न सुविधा छैन । त्यसो हुनाले हिन्दुस्तान र नेपालमा आवत-जावत गर्न सजिलो छ र कुनै पनि नेपाली हिन्दुस्तान आउन- जानसक्ने, त्यसका लागि राहदानीको आवश्यक नपर्ने र यहाँको राजनीतिक वातावरण पनि प्रजातान्त्रिक भएकोले हामीहरूलाई हिन्दुस्तानमा सुविधा थियो ।
हिन्दुस्तानको संविधान, संसद्, स्वतन्त्र प्रेसले गर्दा मलाई काम गर्न यहाँ एउटा पृष्ठभूमि उपलब्ध थियो । त्यहाँ प्रजातान्त्रिक प्रणाली भएको हुँदा र हामीहरू पनि आफ्नो मुलुकमा प्रजातन्त्र र प्रजातान्त्रिक अधिकारहरूको निम्ति लड्ने भएको हुनाले यहाँको वातावरण हाम्रो निम्ति उपयुक्त थियो ।
३. त्यसबाहेक मलाई त्यहाँ रहँदा अन्तर्राष्ट्रिय सम्बन्धहरू राख्न सक्ने तेस्रो सुविधा पनि थियो। दिल्ली वा बनारसमा बसेर म बाहिरका प्रेसहरू, बाहिरका राजनीतिक समर्थक, प्रजातान्त्रिक पक्षका अन्तर्राष्ट्रिय समर्थकहरूसँग सम्बन्ध राख्न सक्थें, तिनीहरूलाई आफ्नो दृष्टिकोण भन्न सक्थें ।
राजाले गर्न खोजिरहेको काम गर्न हिन्दुस्तानले दिँदैन, हिन्दुस्तानले गर्न खोजिरहेको काम, हाम्रो राजाले रोक्न खोज्छन् ।
हिन्दुस्तानको प्रजातान्त्रिक वातावरणले गर्दा एउटा मुख्य कुरा के थियो भने सरकार पक्षले हामीलाई मद्दत नगरे पनि हिन्दुस्तानको संसद्का विभिन्न पार्टीहरू वा बाहिरका मानिसबाट हामीलाई सहानुभूति र सहयोग प्राप्त हुनसक्थ्यो । हिन्दुस्तानको सरकारले हामीलाई मद्दत गर्न गाह्रो पर्थ्यो । यहाँको सरकार त राजालाई नै खुशी पार्ने प्रयत्नमा थियो । नेपालमा एउटा ठूलो प्रजातान्त्रिक आन्दोनललाई समर्थन गर्नुको साटो एउटा व्यक्तिलाई आफ्नो खल्तीमा राख्न पाए सजिलो हुन्छ भन्ने उनीहरूको विचार थियो । हिन्दुस्तान सरकारको यस्तो नीति भएकाले मद्दत पनि भएन।
४. चौथो कारणलाई मेरो व्यक्तिगत कारण भन्नुपर्छ । म हिन्दुस्तानको स्वाधीनताको लडाईंमा मेरो निक्कै ठूलो योगदान थियो । किनभने म केटाकेटीमै स्कूलमा पढ्दादेखि नै हिन्दुस्तानको स्वाधीनताको लडाईंमा धेरै चोटि जेल गएँ, मैले धेरै किसिमको यातना सहें । त्यसले गर्दा एउटा ठूलो समुदाय मेरो मित्रवर्ग बनेको थियो । हिन्दुस्तान स्वाधीन हुनुभन्दा अघि बनेका मेरा मित्रबाट समेत मलाई सहयोग मिल्ला भनेर हामी यहाँ आएका थियौं ।
यसरी यी चारवटा कारण, भौगोलिक कारण, यहाँको प्रजातान्त्रिक वातावारणको कारण, म अन्तर्राष्ट्रिय सम्बन्ध राख्न सक्छु भन्ने कारण र मेरो व्यक्तिगत कारणले हामी हिन्दुस्तान आएका थियौँ । अब हामीहरू फर्किने कुराको मुख्य कारणचाहिँ एउटै छ त्यो मुख्य कारण के हो भने नेपालमा पनि नयाँ घटनाहरू हुन थालिरहेका छन् । यो कुरा मैले आजदेखि होइन, बनारसमा बसेका साथीहरूलाई एक वर्षअघिदेखि सधैं भन्दै आएको छु । । 'हाम्रोलागि, हाम्रो जीवनका लागि, राष्ट्रिय अस्तित्वका लागि, नेपाल राष्ट्रको अस्तित्वका लागि, नेपाल राष्ट्रका लागि सन् ७६ को अन्तिम भाग र ७७ धेरै महत्वपूर्ण समय हुन्छ' भन्ने चेतावनी मैले उनीहरूलाई दिइरहेको छु, । त्यसमा हामीले बडो चनाखो भएर राजनीति गर्नुपर्दछ ।
मैले जे भनेको थिएँ त्यो त एउटा भविष्यवाणी गरेकोजस्तो भयो । त्यो कुरा भन्ने अहिले मौका छैन, तपाईंहरूसँग एकसाथ बसेर छलफल हुनसक्यो भने पछि भनौँला । एउटा संकट आउँछ भन्ने मैले ठानेको थिएँ । र, यो संकट केवल नेपालको निम्ति आउँछ भनेको थिइनँ । एक डेढ वर्ष भयो, यो संकट भारतीय उपमहाद्वीप भनिने पूरै दक्षिण एशियामा आएको छ । अब यस क्षेत्रमा कुनै स्थिरता छैन, राजनीतिक स्थिरता पनि छैन, आर्थिक स्थिरता पनि छैन, कुनै पक्षमा पनि स्थिरता छैन । त्यसो यहाँ कुनै न कुनै किसिमको राजनीतिक भूकम्प भइरहन्छ । बंगलादेशमा मुजीबुर रहमान सत्तामा हुँदै कुनै न कुनै किसिमको उथल-पुथल हुन्छ भनेर मैले ६ महिनापहिले नै भनेको थिएँ ।
गोरखपुरमा सिक्किमको विषयमा मेरो एउटा निक्कै विवादग्रस्त प्रेस सम्मेलन भएको थियो नि ! तपाईंहरूलाई थाहा होला । त्यस प्रेस सम्मेलनमा र त्यहाँका दुई-तीन वटा ठाउँमा मैले सम्बोधन गरें । एक-डेढ वर्ष वा दुई
वर्षपहिलेको कुरो हो, उनीहरूको रोटरी क्लवलाई मैले सम्बोधन गरें । त्यहाँका पत्रकारलाई पनि सम्बोधन गरेको थिएँ । त्यसबेला निक्कै विवाद उत्पन्न भयो । मलाई हिन्दुस्तानी पत्रकारले आक्रमण गरे, नेपालभित्रका केही व्यक्तिहरूले पनि आक्रमण गरे । तर एउटा हिन्दुस्तानी पत्रकारले मलाई प्रश्न गरेका थिए, 'सिक्किमको बारेमा तपाईंलाई के भन्न छ ?' त्यसको जवाफमा मैले भनें, हिन्दुस्तानले त्यो कारबाही किन गर्नुपर्यो भन्ने म बुझिदनँ ।
किनभने सिक्किममा पूरा हिन्दुस्तानी पल्टन नै थियो । सिक्किमको जनसङ्ख्या एक लाख तीस हजार छ त्यति त हिन्दुस्तानी पल्टन नै त्यहाँ थियो । त्यसैले, त्यहाँ त्यस्तो कारबाही किन गर्नुपर्यो भन्ने मैले बुझिनँ । हुनसक्छ, कुनै कारण पर्यो होला । चीन भनौं वा अरू कुनै हिन्दुस्तानविरोधी तत्वले कुनै कारबाही गरे होलान्, त्यसको सामना गर्न हिन्दुस्तानले त्यो कारबाही गर्नुपर्यो होला । तर, हिन्दुस्तानविरोधी तत्व अब झन् चुप लागेर बस्तैनन् ।
बंगलादेशमा वा कुनै न कुनै ठाउँमा तिनीहरूले पनि कारबाही गर्छन् । मैले यसो भनेको थिएँ । र, म के भन्न खोज्दै थिएँ भने हिन्दुस्तानले सिक्किममा त्यो कारबाही गरेर नेपालमा, बंगलादेशमा, यो पूरै क्षेत्रमा अस्थिरताको स्थिति उत्पन्न गऱ्यो । त्यसको केही दिनपछि बंगलादेशमा 'कू' भयो। यो त भविष्यवाणी गरेको जस्तो भयो, मानिसहरू छक्क परे । मेरो भन्नुको तात्पर्य दक्षिण एशिया भनिने सम्पूर्ण क्षेत्रमा अस्थिरताको वातावरण छाएको छ भन्ने हो ।
एउटा अर्को कुरो पनि तपाईंहरूलाई भन्न चाहन्छु । भियतनामबाट अमेरिकीहरूले पछि हटेपछि 'अब के हुन्छ ?' भन्ने प्रश्न उठेको थियो । हिन्दुस्तानका ठूला-ठूला दिग्गज राजनीतिज्ञ र मेरा अन्तर्राष्ट्रिय साथीहरूलाई मैले अब यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अर्थात् रूस र अमेरिकाबीचको प्रतिस्पर्धा दक्षिण एशिया वा भारतीय उपमहाद्वीपमा हुन्छ भनेको थिएँ । मेरो कुरामा कसैले ध्यान दिएनन् ।
तपाईंहरूले पढ्नुभो होला नि ! दुई-चार महिनापहिले भएको कोलम्बो सम्मेलनमा महाराजाधिराजबाट नेपालको प्रतिनिधित्व भएको थियो, त्यस सम्मेलनमा उनीहरूले पनि यो कुरो उल्लेख गरेका छन्। उनीहरूले भनेका छन्, भियतनामबाट अमेरिकीहरू हटिसकेपछि अब अन्तर्राष्ट्रिय संघर्षको अखडा यो भूभाग भइरहेको छ, यो दक्षिण एशिया भइरहेको छ ।
मलाई लाग्छ, म एक-डेढ वर्ष यतादेखि भविष्यवाणी गरिरहेको छु । बंगलादेशमा के हुन्छ भनेको थिएँ, त्यो पूरा भयो । यो भू-भाग अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अखडा हुन्छ भनेर त्यसभन्दा पहिले नै मैले भनेको थिएँ । डेढ वर्षपछि आएर मैले भनेकै कुरालाई आफ्नो कोलम्बो सम्मेलनको अभिलेखमा उनीहरूले समावेश गरेका छन् ।
एउटा राजावादीले त केसम्म भनेछ भने 'भारतलाई खुबसँग गाली गर्छ भने हामी ऊ स्वदेश आउने कुराको समर्थन गछौँ, गर्दैन भने गर्दैनौं । मानौं, नेपालीहरू सबैजना अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन् । हाम्रो यस्तो अवस्था छ।
सम्पूर्ण भूभागमा अस्थिरताको वातावरण छाएको छ, मेरो भन्नुको तात्पर्य यही हो । अब अस्थिरताको विषयमा जहाँसम्म बंगलादेशको कुरा छ त्यो त मैले भनिरहनु पर्दैन, सैनिक विद्रोह भयो, फेरि अर्को 'कू भयो । 'कू दोहोरिइरहेको छ । एउटा राज्यव्यवस्था आउँछ, अर्कोले सरकार पल्टाउँछ । पाकिस्तानमा पनि कुनै स्थिरता छैन । अस्थिरतामाथि अस्थिरता थपिदै छ । हिन्दुस्तानमा लागू भएको यो संकटकाल पनि यहाँ स्थिरता छैन भन्ने कुराको प्रमाण हो । संकटकाल भन्नेबित्तिकै, नामैले नै अस्थिरता वा अस्थायित्वको प्रमाण हो । त, हिन्दुस्तानमा पनि त्यस्तै भइरहेको छ । नेपालमा त झन् अस्थिरता छ। त्यहाँ न राजनीतिक स्थिरता छ, न आर्थिक स्थिरता छ, न कुनै अरू क्षेत्रमा स्थिरता छ ।
तर, यो सम्पूर्ण क्षेत्रमा ठूलो अस्थिरताको वातावरण छ । हाम्रो देश यही भू-भागमा परेको छ । अस्थिरताको यस समयमा यस क्षेत्रका हिन्दुस्तान, पाकिस्तान, बंगलादेश, सिक्किम त हिन्दुस्तानमा मिलिहाल्यो, भूटान, नेपाल, सिलोन जस्ता देशको आपसी सम्बन्ध निश्चित भइसकेको छैन । हिन्दुस्तान र नेपालको सम्बन्ध, हिन्दुस्तान र पाकिस्तानको सम्बन्ध, हिन्दुस्तान र बंगलादेशको सम्बन्धमा कुनै गहिरो डोब बनिसकेको छैन, एउटा अधिकारिक सम्बन्ध बनेको छैन । बलियो भयो भने थिचिदिने, कमजोर भयो भने पछि हट्ने, किसिमको व्यवहार भइरहेको छ । कुनै स्वीकृत नियम र सम्बन्धको स्थापना भएको छैन । यसकारण पनि अस्थिरता बढिरहेको छ ।
अब यी सब कुरा छोडौं, नेपालको कुरा गरौं भन्नुहुन्छ भने हिन्दुस्तान र नेपालमा ठूलो द्वन्द्व चलिरहेछ । यसबेला हिन्दुस्तान र नेपालबीच ठूलो कटुता उत्पन्न हुनु नै राजाको सबभन्दा ठूलो कूटनीतिक असफलता भएको छ। राजाबाट भनिन्छ, हिन्दुस्तानबाट खतरा छ, हामीलाई यसो-यसो गर्यो ! हिन्दुस्तानचाहिं यसमा हामी नेपालीहरूलाई टवाँस्की कस्न (दुःख दिन) थालिरहेको छ, हामीलाई आर्थिक नाकाबन्दी गर्न थालिरहेको छ । अरू-अरू किसिमबाट पनि दुःख दिइरहेको छ, हाम्रो राहदानी जारी गर्न थालिरहेको छ । यो केवल शाब्दिक मतभेद मात्रै नभएर, हिन्दुस्तान त कारबाहीमै उत्रिन थालिरहेको छ, यसले गर्दा अस्थिरता झन् उपस्थित भइरहेको छ । राजाले गर्न खोजिरहेको काम गर्न हिन्दुस्तानले दिँदैन, हिन्दुस्तानले गर्न खोजिरहेको काम, हाम्रो राजाले रोक्न खोज्छन् ।
नेपाल-भारतबीच यस किसिमबाट एउटा ठूलो चेपाचेप चलेको छ। त्यसो हुँदा नेपालमा एउटा नयाँ शक्ति-सम्बन्ध विकसित हुँदै छ । र, त्यति मात्र होइन, नेपाल कमजोर भएको हुनाले नेपाल सबै अन्तर्राष्ट्रिय षड्यन्त्र अन्तर्राष्ट्रिय दबाबको अखाडा भइरहेको छ । हिन्दुस्तानमा भन्छन्, कमजोर स्वास्नीमान्छे सबैको भाउजू । यसको अर्थ, हिन्दुस्तानमा भाउजूहरूसँग ठट्टा गर्न सकिन्छ, अलिकति यताउति गर्न सकिन्छ, त्यस्तै नेपाल कमजोर भएको हुनाले यसलाई यसै गर्छन् कि गर्दैनन् ।
नेपालमा कस्तो स्थिति छ भने को नेपाली हो, को देशभक्त नागरिक हो, भन्ने जान्न सकिएको छैन । कोही चीनवादी होला । अब तपाईंहरू नै विचार गर्नुहोस्, म स्वदेश जाने कुरामा चीनवादी खुशी छन् रे, भारतवादी खुशी छैनन् रे ! एउटा चीनवादीले त केसम्म भन्यो भने 'भारतविरुद्ध बोल्छौ भने हामीहरू सहयोग गछौँ, भारतका सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहुन्छौं र भारतको समर्थन गछौं भने हामीहरू विरोध गछौं ।' अर्थात्, उनीहरू म स्वदेश जाने कुरालाई नेपालका सम्बन्धमा विचार गर्दैनन् ।
चीन र भारतको संघर्षमा मेरो कस्तो भूमिका हुन्छ सोच्छन् । एउटा राजावादीले त केसम्म भनेछ भने 'भारतलाई खुबसँग गाली गर्छ भने हामी ऊ स्वदेश आउने कुराको समर्थन गछौँ, गर्दैन भने गर्दैनौं । मानौं, नेपालीहरू सबैजना अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन् । हाम्रो यस्तो अवस्था छ।
सबभन्दा मुख्य कुरो, हिन्दुस्तान र नेपालमा जुन किसिमको राजनीतिक घटनाक्रम विकास भइरहेको छ, त्यसमा 'हामीहरू हिन्दुस्तानमा बसेर अब काम लागेन।' त्योभन्दा पनि मुख्य करो नेपालमा जुन एउटा राष्ट्रिय संकट उपस्थित भएको छ, त्यहाँ जुन एउटा घटना भइरहेको छ, यसबेला राजाको आत्मविश्वास जसरी घट्दै गएको छ । राजाले मलाई मारिदिन सक्छन्, सबैलाई जे पनि गरिदिन सक्छन् । तर, राजाले हिन्दुस्तानसँग मुकाबला गरेर त्यो काम सम्भव हुन सक्तैन ।
हिन्दुस्तान अब कारबाहीमा उत्रेको हुनाले राजाको आत्मविश्वास कम भयो, जतिजति राजाको आत्मविश्वास कम भयो, चीनका लागि पनि राजाको उपदेयता उतिउति कम भयो । त्यसोहुँदा राजालाई चीनको पनि उत्तिको समर्थन प्राप्त हुन सक्तैन । यसरी अन्तर्राष्ट्रिय कारणले भन्नुहोस्, या राष्ट्रिय कारणले भन्नुहोस्, प्रजातन्त्रवादीहरूलाई अहिले एउटा ठूलो मौका उपलब्ध भएको छ । त्यो मौकालाई हामीले गुम्न दिनु पनि हुँदैन । यसो भनेर हामीले यो निर्णय गरेका हौं ।
एउटा ठूलो राष्ट्रिय संकट उपस्थित भइरहेको छ । राष्ट्रिय संकटमा देशलाई प्रजातान्त्रिक पार्टीले मात्रै उद्धार गर्न सक्छ, अरू समूहले उद्धार गर्न सक्तैन । राजावादीहरूले १६ वर्षसम्म गरेका गतिविधिले गर्दा अहिले यो परिस्थिति आयो, उनीहरू त असफल भए-भए । राजादेखि सबैले भन्न थालिसकेका छन् 'हाम्रो राष्ट्रियतामाथि संकट उत्पन्न भइरहेको राष्ट्रिय अस्तित्वको संकट उत्पन्न भइरहेको छ । म तिनीहरूको विश्लेषणसँग शतप्रतिसत सहमत छ । र, भन्छ 'राष्ट्रियतामाथि संकट छ, राष्ट्रिय अस्तित्व पनि खतरामा छ।' तर राजाको लाइनबाट यस संकटको सामना हुन सक्तैन, प्रजातन्त्रवादीले नै त्यसमा एउटा बाटो देखाउन सक्तछन् । किनभने संकटमा जुन राष्ट्रिय एकता ल्याउनुपर्छ, त्यो राष्ट्रिय एकता प्रजातन्त्रबाटै हुनसक्छ । अहिलेको व्यवस्थाबाट राष्ट्रिय एकता हुनै सक्तैन ।
मलाई त कहाँसम्म लाग्छ भने यहाँको अस्थिरताको स्थिति यति विकराल छ, एक-दुई वर्षभित्रमै हामीले केही गरेनौं भने सायद हामी रहन्छौं कि रहँदैनौं, हाम्रो देश रहन्छ कि रहँदैन । हाम्रो राष्ट्र नै रहन्छ वा रहँदैन भन्ने किसिमको खतरा आएको छ । हामीहरूले अरूवाट पालिनुपरेको छ, अरूहरूमाथि आश्रित हुनुपरेको छ । हाम्रा मानिसहरूले बाहिर गएर काम पाए भने मात्र खान-लाउन पाउँछन् । हामीले बाहिरको सहयोगबाट विकासको कुरा गर्नु परेको छ । अनि, त्यसमाथि, हामीहरू फितलो राजनीति गरिरहेको छौं ।
यसबेला राजनीतिमा राष्ट्रिय पक्षको केवल राजाले मात्र विचार गर्ने हो, अरू कसैले गर्ने होइन भन्नेजस्तो गरेर जनताको ध्यान राष्ट्रिय पक्षबाट हटाउने प्रयत्न भएको छ । राष्ट्रिय पक्षमा कस्तो किसिमको चिन्तन हुनुपर्छ ? राष्ट्रमाथि कस्तो खतरा परेको छ ? राष्ट्रको एकताको आधार के हुनुपर्दछ ? मानौं, अहिलेको राजनीतिक व्यवस्थामा यतापट्टि कसैले सोच्नुपर्ने खण्ड पर्दैन। पहिले त चुनावजस्तो हुन्थ्यो, अब त सो चुनाव पनि हटाइदियो । त्यसले गर्दा राजनीतिमा माथि उठ्नको निम्ति व्यक्तिलाई राष्ट्रियताको आधार चाहिने भएन। उसका लागि अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक विकासका सम्बन्धमा सोच्नुपर्ने खण्ड भएन । किनभने राजनीतिमा माथि उठ्नको निम्ति चाकरी गरे पुग्यो । यसरी एउटा व्यक्तिवादी मनोवृत्ति आयो, सङ्कीर्ण र साम्प्रदायिक मनोवृत्ति आयो । आफ्नो स्वार्थी मनोवृत्ति आयो । राष्ट्रलाई सबैले बिर्सिदिए । त्यसले गर्दा राष्ट्रमा एउटा ठूलो संकट आएको छ ।
यसै बीचमा नेपालको कुटनैतिक असफलता भनौं वा जे भनौं, हिन्दुस्तान र राजामा, हिन्दुस्तान र नेपालमा पनि एउटा नराम्रो खटपट आएको छ । त्यसो त तपाईंहरूले देखिहाल्नुभएको छ, यिनीहरूले आर्थिक क्षेत्रमा कुनै किसिमको सम्झौता पनि गर्न सकेनन् । न व्यापारको सम्झौता हुन सकेको छ, न हिन्दुस्तानले खोजेको कुरो भएको छ न त नेपालले गर्न खोजेको कुरो नै गर्न सकेको छ । यसरी नेपालमाथि यत्रो ठूलो राष्ट्र हिन्दुस्तानको ठूलो दबाब परिरहेको छ । त्यसले गर्दा हामी चुप लागेर बस्यौँ भने पनि यो व्यवस्था त रहँदैन-रहँदैन । यसको बारेमा त म एकदम निर्धक्क छु । यो व्यवस्था रहँदैन, यो व्यवस्थालाई बल गरेर राख्न खोजियो भने राजा रहँदैनन् ।
तर अब कुनै बाटो छ त ? म यही नयाँ घटनाक्रमको पृष्ठभूमिमा हामीहरूले राष्ट्रलाई बचाउनुपर्दछ भन्नेतर्फ जान खोजिरहेको छु । कुनै पनि नेपालीले यो व्यवस्थालाई बचाउने प्रयत्नमा राष्ट्रलाई नै गुमाउन त भएन ! म निर्धक्क छु, यो व्यवस्था रहँदै-रहँदैन । अब राष्ट्र रहन्छ कि रहँदैन भन्ने कुरा छ ।
म एउटा ठूलो आशा लिएर जान लागेको छु । राष्ट्रवादी तत्वहरूलाई अर्थात् प्रजातन्त्रवादी राष्ट्रवादीहरूलाई राष्ट्रिय एकतामा ल्याउन सकिन्छ कि सकिँदैन ? मैले भन्ने गरेको भाषामा प्रजातन्त्रवादीलाई नै राष्ट्रवादी भन्ने गरेको छ । । म सारा राष्ट्रवादीहरूलाई राष्ट्रिय एकतामा ल्याउन सकिन्छ भन्ने आशा लिएर जान लागेको छु । मलाई लाग्दछ, सबैले आफ्नो स्वार्थलाई त्यागेर देशप्रति ध्यान दिने हो भने राजादेखि सामान्यभन्दा सामान्य नागरिकले पनि यसबखतमा हाम्रो कर्तव्य के हो भन्ने सोच्नु परेको छ ।
यस्तो बेलामा पनि हाम्रो स्वार्थलाई नै बढाउने हो वा हामीले स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकतामा बल पुऱ्याउने हो ? यो एउटा मनोवैज्ञानिक क्षण आएको छ जसमा सायद सबैलाई एक जुट पार्न सकिन्छ कि ! मलाई लाग्दछ, राजामा पनि त्यस्तो हठधर्मिता न होला ! यसले देशमाथि ठूलो विपत्तिको घडी आएको कुरा अरू यथार्थ राष्ट्रवादीहरूले त स्पष्ट रूपमा देखिसके ।
हाम्रो दृष्टिमा यो विपत्तिको घडी आउनको मूल कारण देशको राजनीनिक व्यवस्था हो । सोऱ्ह वर्षदेखि कायम भएको यस व्यवस्थाले न राष्ट्रिय एकता ल्याउनसक्यो न आर्थिक विकास ल्याउनसक्यो । त्यसले गर्दा नै बाहिरका तत्वहरूले खेल्ने मौका पाए । हामीलाई किन्न, हामीमाथि फुट ल्याउन र हामीमाथि दबाब हाल्नका लागि नै बाहिरका तत्वहरूले खेल्ने मौका पाए ।
यहाँको अस्थिरताको स्थिति यति विकराल छ, एक-दुई वर्षभित्रमै हामीले केही गरेनौं भने सायद हामी रहन्छौं कि रहँदैनौं, हाम्रो देश रहन्छ कि रहँदैन । हाम्रो राष्ट्र नै रहन्छ वा रहँदैन भन्ने किसिमको खतरा आएको छ ।
यो नयाँ बदलिएको परिस्थितिमा हामीहरूलाई एउटा मौका आएको छ, त्यो मौकालाई गुमाउन हुँदैन । म हिन्दुस्तानमा बसेर त्यो मौका देखिरहेछु । आफ्नो प्रयत्नबाट त्यो मौका छोप्न सम्भव छ भने हामीले मौकालाई छोप्ने कोशिस गर्नुपर्दछ भनेर म जान लागेको छु । अब प्रश्न आउँछ, 'के त्यसो भए तपाईं आफ्नो अडान छोड्दै हुनुहुन्छ ? तपाईंको आफ्नो संघर्षको लाइन, प्रजातन्त्रको निम्ति संघर्षको लाइन छोड्नुभयो ? अहँ, त्यो त हामीहरूले छोडेको छैनौं । किनभने आखिर यो परिस्थिति ल्याउने दोष कसलाई छ भन्ने कुरा प्रस्ट छ ।
राष्ट्रिय एकताको कुरा गरिरहेको बखतमा दोष कसलाई दिनु कसलाई नदिनु ? दोषारोपण गर्नु पनि ठिक हुँदैन भन्ने पनि म मान्दछु । त्यो सबै कुरा बिर्सौं हिजोको कुरा बिर्सौं र नयाँ सिरादेखि सोच्न थालौँ भन्ने हो भने पनि हामीले आखिर यसको जिम्मेवारी कसको हो भन्ने त थाहा पाउनै पर्छ । हामीले यो परिस्थिति आउनुमा कसको हात छ भन्ने राम्रोसँग विश्लेषण गर्न सकेनौँ भने परिस्थितिलाई रोक्नको निम्ति कदम चाल्न पनि सक्तैनौँ । मेरो दृष्टिमा, यो संकटको अवस्था उपस्थित गर्ने सबभन्दा ठूलो दोष अहिलेको व्यवस्था, यो व्यवस्थाको सूत्रधार र यो व्यवस्थाका समर्थकहरूलाई छ ।
सोह्र वर्षसम्म एकछत्र शासन गरेर हरेक किसिमबाट दबाब दिएर, जनताको मुख थुनेर, जनताको अधिकार अपहरण गरेर जनतामाथि यो व्यवस्था लादिनु दुर्भाग्यपूर्ण एवं दुःखपूर्ण कुरो हो । अब उनीहरूनै भन्न थालिरहेछन् 'राष्ट्रियता संकटमा छ, हाम्रो देशलाई ठूलो खतरा आइपरेको छ, राष्ट्रिय एकता चाहिएको छ । र, पञ्चायतका प्रधानमन्त्रीले त यहाँसम्म भनिदए, 'देश यत्रो रोगले वा यति विभिन्न रोगले ग्रस्त छ, म कुन एउटा रोगको नाम दिऊँ ?' त्यस हुँदा यहाँ आर्थिक विकास भएको छैन, देशलाई संकट परेको छ, देशको अस्तित्व नै खतरामा छ; इत्यादि इत्यादि यो व्यवस्था चलाउनेहरू नै भनिरहेका छन् । हाम्रो दृष्टिमा यसको जवाफदेही यही व्यवस्थाले लिनुपर्छ । त्यसो हुँदा हामीले राष्ट्रियता बचाउने हो भने, त्यो प्रजातान्त्रिक आधारमा मात्र बाँच्न सक्छ, अरू कुनै आधार छैन ।
मैले मौका पाएँ भने राजालाई यो कुरोमा विश्वस्त बनाउने विचार गरेको छु। मौका पाइएन, जानेबित्तिकै समाते भने मलाई थुनेर समस्या समाधान हुँदैन । राजा वा शासक वर्गले वा देशको हितको विचार गर्छ भन्ने वर्गले त यो देशको अहिलेलेको समस्या कसरी समाधान गर्ने भन्नेपट्टि ध्यान दिनुपर्छ, एउटा मान्छेलाई थुन्नेपट्टि होइन । देशको समस्याको समाधान हुन्छ भने मलाई जति दिन पनि थुनिराखे हुन्छ । मलाई पहिले आठ वर्ष थुनिएको थियो, बाहिर पनि आठ वर्ष बसें। त्यसभन्दा पहिले पनि थुनिएको थिएँ । तर के मलाई थुनेर यो समस्या समाधान हुन्छ ?
हाम्रो दृष्टिमा राष्ट्रिय संकटको घडीमा प्रजातान्त्रिक एकता झन् धेरै आवश्यक भएको छ । प्रजातन्त्र नभई राष्ट्रिय एकता हुनै सत्तैन । किनभने अधिकार नपाएको जनताले देशको रक्षा किन गर्छ ? आफ्नै अधिकार छैन । मानौँ, घरमै अधिकार छैन भने यो देशको निम्ति किन कोही लड्न जान्छ ? त्यसो हुँदा सबभन्दा पहिले त हामीले त्यस्ता प्रजातान्त्रिक संस्थाहरू विकास गर्नुपर्छ जसमा जनताको स्वार्थ निहित होस् । त्यति मात्र होइन, एउटा राजनीतिक पद्धतिलाई मात्रै ठीक गर्ने र जनताको आर्थिक सुधार भएन भने राष्ट्रियताको रक्षा हुँदैन ।
सुनिन्छ, नेपालबाट वर्षेनी ५ पाँच लाख ढाक्रेहरू हिन्दुस्तान आउँछन् नोकरी खोज्न । आफ्नो एक करोड जनसङ्ख्या भएको देशबाट ५/६ लाख नागरिक बाहिर जान्छन् भने उनीहरूले राष्ट्रियता र आफ्नो देशको हितको निम्ति लड्लान भनेर कसरी आशा गर्ने ? उनीहरू विदेशी पल्टनमा भर्ना हुन्छन्, विदेशी होटेलमा काम गर्छन्, उनीहरूलाई विदेशीहरूले काम दिन्छन् भने उनीहरूमा राष्ट्रियताको भावना कसरी जागृत हुनसक्छ ? त्यसो हुँदा हामीले आर्थिक विकास गर्न पनि जरुरी छ । हामीले प्रजातान्त्रिक जग बलियो पारेनौँ भने राष्ट्रिय एकता ल्याउन सक्तैनौँ। तसर्थ, प्रजातन्त्र, राष्ट्रियता वा समाजवाद भन्नुहोस् वा आर्थिक विकासको अहिलेको समस्या समाधान गर्ने एउटै उपायका तीनवटा पक्ष हुन् । यसलाई तीनपाटे सीसाजस्तो भन्नुपर्यो ।
हामीले प्रजातन्त्र ! प्रजातन्त्र ! मात्र भन्यौँ, राष्ट्रियतापट्टि ध्यान दिएनौँ वा आर्थिक विकासपट्टि ध्यान दिएनौँ भने त्यसको कुनै अर्थ हुँदैन । हामीले आर्थिक विकास ! आर्थिक विकास ! मात्रै भन्यौँ भने त्यसको परिणाम आज जे भइरहेको छ, त्यही हुन्छ। हामीले राष्ट्रियता ! राष्ट्रियता ! मात्र भन्न थाल्यौँ भने पनि राष्ट्रियता नै खतरामा पर्न जान्छ। राष्ट्रियताको आधार हुन्छ- प्रजातन्त्र । प्रजातन्त्र बलियो हुन्छ- समाजवादमा। तसर्थ, नेपाली कांग्रेसले यी तीनवटा पक्ष लिएको छ ।
हाम्रो प्रजातान्त्रिक लडाईं सिद्धियो भन्ने होइन । जनताले जबसम्म अधिकार पाउँदैनन्, तबसम्म त्यो लडाईंं कायम रहन्छ। हामीले आफ्नो अडान छोडेका छैनौँ । संघर्षको स्थिति त्यहाँ प्रजातान्त्रिक अधिकार नभएकाले पैदा भएको हो । मलाई के लाग्छ भने यो कुरा राजालाई वा अहिलेको व्यवस्थालाई चलाउने मानिसहरूलाई लाग्यो होला । उनीहरूले इमानदारीपूर्वक सोचें भनें केही कमी भयो र हामी अहिलेको अवस्थामा आयौँ भन्ने उनीहरूलाई पनि लाग्नेछ ।
मैले जसरी नेपालको परिस्थितिको विश्लेषण गरेको छु र अहिले त्यहाँको परिस्थितिको तस्बिर तपाईंहरू सामुन्ने राखें त्यसलाई स्वीकार गर्नेवित्तिकै वा तपाईंहरूले त्यसलाई 'यो ठीक हो' भन्नेबित्तिकै हाम्रो कार्यक्रम र कर्तव्य के हो भन्ने पनि त्यसैबाट निर्धारित हुन्छ । मैले अहिले भनेका कुरा ठीक हुन् र र हामीले गर्नुपर्ने कुरा पनि स्पष्ट छ भने हाम्रो प्रजातान्त्रिक संघर्ष र प्रजातान्त्रिक अधिकारको माग वा संघर्ष यथावत छ ।
किनभने जबसम्म प्रजातन्त्र पाइँदैन, तबसम्म हाम्रो संघर्ष रोकिदैन । तर हामी प्रजातन्त्रवादीमाथि राष्ट्रिय एकता ल्याउने, राष्ट्रिय संकटको चुनौती, राष्ट्रिय अस्तित्वको खतरासँग मुकाबिला गर्ने जुन नयाँ जिम्मेवारी थपिएको छ, त्यो पनि हामीले नै लिनुपरेको छ । त्यसो हुनाले हामी दुईवटा संघर्ष साथ-साथ चलाउनुपरेको छ । प्रजातन्त्रको माध्यमबाट नै राष्ट्रिय एकता ल्याउन सक्छौँ, अरू कुनै माध्यम छैन र राष्टिय एकता नल्याई राष्ट्रमाथि परेको खतराको मुकाबिला गर्न सकिँदैन भन्नेमा हामी विश्वस्त छौँ । तसर्थ, हुनाले राष्ट्रिय एकताका लागि प्रजातान्त्रिक संघर्ष पनि आवश्यक छ।
यस व्यवस्थाले न राष्ट्रिय एकता ल्याउनसक्यो न आर्थिक विकास ल्याउनसक्यो । त्यसले गर्दा नै बाहिरका तत्वहरूले खेल्ने मौका पाए । हामीलाई किन्न, हामीमाथि फुट ल्याउन र हामीमाथि दबाब हाल्नका लागि नै बाहिरका तत्वहरूले खेल्ने मौका पाए ।
हाम्रो लडाईंको ज्यामितीय रूप हेर्ने हो भने त्रिकोणात्मक रूप देखिन्छ । एउटा, राष्ट्रलाई बचाउने संघर्ष, अर्को प्रजातन्त्रलाई बचाउने संघर्ष, दुइटै संघर्षको जिम्मेवारी हामीमाथि परेको छ । हाम्रो संघर्षको त्यो त्रिकोणात्मक रूप मैले तपाईंहरूको सामुन्नेमा राख्न खोजेको हुँ । यसरी हाम्रो संघर्ष अब त्रिकोणात्मक भयो, एकातिर प्रजातन्त्रको निम्ति संघर्ष, अर्कोतिर आफ्नो देशको अस्तित्वको रक्षा गर्नको निम्ति संघर्ष छ । हाम्रा कार्यकर्ता र देशबासीहरूले अब नेपालको संघर्षको रूप त्रिकोणात्मक भएको छ भन्ने कुरो बुझ्नुपरेको छ ।
हामीले प्रजातन्त्रको कुरा मात्र गर्यौं र प्रजातन्त्रको संघर्षको कुरा मात्र गर्यौं भने राष्ट्रियता, राष्ट्रलाई बचाउन हाम्रो अर्को जवाफदेहीलाई छोडेजस्तो हुन्छ। र, हामी कुनै बाहिरका तत्वबाट सञ्चालित भएकाजस्ता हुन्छौँ । साथसाथै हामीले केवल राष्ट्रियताको कुरा मात्र गर्यौं र प्रजातन्त्रलाई छोडिदियौँ भने हामीले अहिलेसम्म राष्ट्रवादी भनिएकाहरूको खोक्रो नारा वा तानाशाहीलाई समर्थन गरेकोजस्तो हुन्छ । तसर्थ, हामीले दुईवटै कुरालाई सँगसँगै लिएर जानुपर्छ । हामीले दुइवटै संघर्षलाई साथसाथ लिएर गएनौँ भने हामीहरू तानाशाहीको दलाल हुन्छौं वा कुनै विदेशी तत्वको दलाल हुन्छौं । हामीले राष्ट्रियता र प्रजातन्त्र दुवैको रक्षाको हिमायती हुनुपर्दछ ।
हामीले यस्तो नयाँ विचारधाराको नयाँ तस्बिर हृदयङ्गम गरेर जनतामा प्रचार गर्नुपर्दछ । राष्ट्रिय एकताको घडीमा सबै नै एक हुनुपर्दछ भन्ने कुरालाई तपाईंहरूले बुझेर यस विचारको प्रचार गर्नुपर्दछ र नेपाली कांग्रेसलाई यो। जवाफदेही परेको छ भन्ने हामीहरूले अनुभव गरेर यो सन्देश त्रिकोणात्मक लडाईंको विचार जनताको बीचमा लग्नुपरेको छ ।
कति मान्छेले मलाई सोध्छन्, अहिले नै तपाईंहरूको बीचमा पनि प्रश्न उठ्न सक्छ, 'होइन, यत्रो ठूलो कदम लिन थालिएको छ; राजासँग समझदारी त भएको छैन नि ?' वास्तवमै भएको छैन । तपाईंहरूले यस विश्लेषणबाट थाहा पाउनुभयो, हामीलाई समझदारीको कुनै आवश्यकता छैन । राजाले जनताको अधिकार दिएको खण्डमा राजासँग कुनै मतभेद नै छैन । साँच्चै भनौं भने राजासँग म गएपछि भेट गर्ने मौका मिल्यो भने मैले राष्ट्रिय एकतामा राजा पनि सम्मिलित हुनुपर्दछ भन्ने भएको छु । राजाको पनि सहयोग लिएर यो राष्ट्रिय संकटलाई टार्नुपर्छ । राजाको सहयोग लिने भनेको राजाले आफ्नो एकतन्त्रीय अधिकारलाई जनताको हातमा सुम्पन तयार हुनुपर्दछ भनेको हो । राजाले जनताको सुख-दुःखमा सरिक हुन सक्नुपर्दछ । जनताको अधिकार जनतालाई सुम्पन तयार हुनुपर्दछ । अहिलेको अवस्थामा राजाको सहयोग भनेको त्यही हो। मैले भेट्ने मौका पाएँ भने म राजालाई त्यो सहयोग दिनुपर्छ भनेर अपील गर्ने भएको छु ।
राष्ट्रियता संकट परेको कुरा राजा हुन् वा सबभन्दा सानो स्तरका नागरिक सबैले बुझ्नुपरेको छ । र, सबैले आ-आफ्नो तरिकाले त्यो संकट हटाउन मद्दत गर्नुपरेको छ। तसर्थ, राजासँग आत्मसमर्पण गरेर गएको, अडान छोडेको, माग र लक्ष्य छाडेको भन्नु एकदम गलत हो । किनभने त्यसको विश्लेषण पहिले नै स्पष्ट भइसक्यो । अर्को कुरा, हामी कुनै बाहिरी तत्वको घोडा चढेर गएका हौं भन्नु पनि एकदमै गलत हो । मैले राष्ट्रिय संकटको तस्बिर तपाईंहरू सामुन्ने राखेको छु त्यो पनि बुझिसक्नुभएको छ, । तसर्थ, कसैको विदेशी तत्वबाट प्रेरणा पाएर गइरहेको होइन । एउटा आफ्नै विश्लेषणको आधारमा 'मुलुक संकटमा परेको छ' भनेर हामीले यो निर्णय लिएका हौँ।
कतिपय मान्छे भन्छन्, 'तपाईंहरूले ठूलो जोखिम लिनुभयो, व्यक्तिगत जोखिम छ' इत्यादि । नेपालको राजनीतिमा जोखिम त छँदै छ । खासगरी यत्रो ठूलो तानाशाहीको विरुद्ध प्रजातन्त्रको लडाईंको लागि यतिका मान्छेहरूले ज्यान दिए भने त्यो जोखिम मैलेचाहिँ नलिने अरूले मात्र लिने भन्ने करा पनि छैन । जोखिम त लिनुपर्छ । झन्, राष्ट्रिय संकट थपिएको छ, यत्रो राष्ट्रिय संकटको अवस्थामा प्रत्येक देशभक्त नेपाली, प्रजातन्त्रवादी नेपालीले आफ्नो ज्यानको बलिदान दिन पनि तयार हुनुपर्छ । हामीले त्यो जोखिम लिनै पर्दछ ।
मैले जहिले पनि तीनवटा देशको तुलना गर्ने गरेको छ । इंगल्याण्डमा राजनीति गर्ने मानिसले एउटा मात्र जोखिम लिन्छ । त्यो के हो भने चुनाव हुन्छ, चुनावमा हार्छ । चुनाव हार्ने खतरा उसले लिनुपर्छ । अब, हिन्दुस्तानमा चाहिँ विरोधी तत्वले जेल जाने खतरा मोल्नुपर्छ । नेपालमा चाहिँ विरोधी तत्वले आफ्नो ज्यान गुमाउने खतरा मोल्नुपर्छ । तीनवटै देशको परिस्थिति अनुसारका त्यहाँका राजनीतिक कार्यकर्ताले जोखिम लिनुपर्दछ । तसर्थ, हामीहरूले चाहिँ जोखिम नलिने कुरै भएन, यो संकटको अवस्थामा देशलाई बचाउने हो भने हामी सबैले जोखिम लिनुपर्दछ ।
यस विश्लेषणअनुसार नेपालमा अहिले चुनौतीको घडी छ र एउटा मौका पनि छ । म स्वदेश जानु, हामी फर्किनुलाई राजाले एउटा चुनौतीको रूपमा हेर्न सक्छन् । 'यो मौका हो, एउटा राष्ट्रिय एकताको मौका आयो, उनीहरू पनि फर्केर आए' भन्नेपट्टि लाग्ने हुन् वा चुनौती हो' भनेर फेरि उही सानो दृष्टिकोण राख्ने हुन् । हाम्रो सामुन्ने र जनताको सामुन्ने पनि एउटा चुनौती छ । राष्ट्रिय संकटको चुनौती पनि छ; र राष्ट्रिय एकताको मौका पनि छ । तसर्थ, हामीले यो चुनौतीको घडीमा मौका पनि पाएका छौं । त्यस मौकालाई हामीले गुमाउनु हुँदैन । म तपाईहरूलाई चेतावनी दिन खोज्दछु यो मौका गुम्यो भने एक-डेढ वर्षभित्रमा हाम्रो यो नेपालको अस्तित्व नै रहने छैन । गणेशमानजी दुई-तीन वर्षभित्र भन्नुहुन्छ, म त एक-डेढ वर्षभित्रमै भन्छु । यस्तो संकटको अवस्थामा हामीले एक हुनपरेको छ । एउटा राष्ट्रिय एकता ल्याउनुपरेको छ ।
तपाईंहरूसँग मेरो सबभन्दा ठूलो अपील छ- एकताको निम्ति हामीले प्रयत्न गर्नुपर्दछ । त्यो एकता केवल प्रजातान्त्रिक आधारमा मात्र सम्भव छ । किनभने यो राष्ट्रलाई बनाउने काममा जनताको सक्रिय सहभागिता गराएर जनताको सम्पूर्ण सहयोग लिनुपर्दछ । उनीहरूको अधिकार उनीहरूलाई दिएर यो राष्ट्रलाई बनाएर, देशबासीहरूको स्वार्थ रहेका प्रजातान्त्रिक संस्थाहरू बनाएर मात्र राष्ट्रिय एकता सम्भव हुन सक्तछ । राष्ट्रिय एकता भए मात्र हामीले देशलाई बचाउन सक्छौँ । मैले तपाईंहरूलाई यति मात्र भन्नुछ । जय नेपाल ! (संवत्सर वर्ष १ अंक २ मंसिर २०४०, नेपाल फर्किनुअघिको टेप वार्ताको उतार १९७६ । स्रोत : प्रदिप गिरि विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख २०६६)
र, यो पनि
- मेलमिलाप नीति : बीपी तर्साउने विदेशी वचन, ‘आत्महत्याको बाटो किन रोजेको ?’