हामी सबै ‘डबल रोल’ खेल्छौँ अनि नेतालाई मात्र गाली किन ?
प्रधानमन्त्री खड्गप्रसाद ओली अहिले सबैभन्दा बढी विवादमा छन् । पुस ५ मा संसद् विघटन गरेर १२ फागुनमा सर्वोच्चले सो कदम असंवैधानिक ठहर गरेपछि उनीमाथि सबैले नैतिकताको प्रश्न उठाइरहेका छन् । नैतिकताको प्रश्न उठिरहेकै बेला मलाई भने हामी कस्तो समाजमा छौं भन्ने प्रश्नमा घोत्लिन मन लागेको छ ।
सुरुमा केही आफ्नै कुरा !
एउटा समूहमा काम गर्ने गर्थ्यौं । काम गर्ने कार्यालय, बैठक लगायतका काममा लाग्ने खर्च एउटा संस्थाले दिन्थ्यो । हामी देशका धेरै जिल्लाका साथी त्यसमा संलग्न थियौं । मूलतः राजनीतिक उत्तरदायित्वको क्षेत्रमा काम गर्ने गर्थ्यो संस्थाले । समय बित्दै गयो । संस्था नेतृत्व गर्ने साथीहरूसँग सम्पर्क पनि पातलो हुँदै गयो । बेला बेला काम गरिरहेका साथीहरूसँग कुरा हुँदा यसको औपचारिक रूपमा दर्ता हुनुपर्छ भन्ने गर्थें । उनीहरू भन्थे हैन यसै ठीक छ । दर्ता गरेर किन झन्झट बेहोर्नु !
केही समयअघि मैले थाहा पाएँ । राजनीतिक नेतृत्वको जवाफदेहिता खोजिरहेको संस्था त सुटुक्क पाँच वर्षअगाडि नै दर्ता भइसकेको रहेछ । त्यसका नेतृत्वलाई यसबारे सोधेको उनीहरूले त्यसको जवाफ दिन चाहेनन् । संस्थामा खटिएर काम गर्ने साथीहरू अझै संस्था विनादर्ता चलिरहेको छ भन्नेमै थिए । दर्तावाल संस्थाको वेबसाइट हेर्नुभयो भने उसले यो देश बनाउन सबैभन्दा ठूलो सहयोग पुर्याएको लेखेको छ । संस्था दर्ता गर्नेहरू नेपालको राजनीति किन बनेन ? नेतृत्व किन जवाफदेही हुनुपर्छ भनेर विभिन्न सामग्री राख्छन् । तर उनीहरू चाहिँ जवाफदेही हुनुनपर्ने ? प्रधानमन्त्रीले गलत गरे भन्नेले आफू इमानमा अडिएको छु भन्न चैं नपर्ने हो ? संस्थामा सँगै काम गर्नेलाई गुमराहमा राखेर कदम चाल्नेले त्यस्तै काम गर्ने प्रमको खोइरो खन्न मिल्छ ?
प्रधानमन्त्रीको कदमपछि सामाजिक सञ्जाल धेरै तरंगित भयो । फेसबुकमा प्रधानमन्त्रीले गलत गरे भनेर रोइलो गर्नेहरूमा मेरा एक परममित्र पनि थिए । दाताबाट आएको पैसाले स्थानीय सरकारको जवाफदेहिता खोज्ने उनले नेतृत्व गरेको संस्थाको मुख्य काम थियो । एक दिन उनको संस्थामा बजेट कति आउँछ, कसरी खर्च हुन्छ भनेर चियागफमा सानो जिज्ञासा मात्रै राख्देको । हामीबीचको सम्बन्धै चैट । उनका फेसबुक स्टाटस अध्ययन गर्दा सम्भवतः उनले भोलि सुशासन अवार्ड हात पार्न बेर छैन । किनभने सामाजिक सञ्जालमा रहेका सामग्रीका आधारमा अहिले मानिस तथा संस्थाको मूल्यांकन हुने गर्छ ।
यस्ता घटना भोगेपछि लाग्छ, हामी शक्ति पाएका बेलामा सक्दो दुरुपयोग गर्छौं । हामीलाई कसैले औंला ठड्याउन लागे रिस उठ्छ । हामी आफूले जे गरे पनि हुन्छ भन्ठान्छौं । मन परेका मान्छेले मान्छे नै मारे पनि फरक नपर्ने, मन नपर्नेले आँखा तरे पनि अपराध हुने भन्ने जमातले नै ओलीजस्ता नेता जन्माउने हो । जन्माएकै छ ।
यसो हेर्यो भने समाजमा द्वैध चरित्रको बोलवाला छ । चियागफ र सामाजिक सञ्जालका भित्तामा देश बनाउने महान् विमर्श गरिरहेको ।
ओलीले संविधान मिचेको कुरा प्रस्ट थियो । तर त्यसको विरोध गर्ने कुरामा जुन तरिका अपनाइए । तिनले फेरि पनि हामीलाई पिरोल्नेछन् भोलि–पर्सि । पिरोलेनन् भने त हुनुसम्म भइगो । संविधानका धाराको व्याख्या सडकबाट गर्ने, सम्पादकहरूले इजलासमा सोधिएका प्रश्नको उत्तर दिने, नेताहरूले सार्वजनिक मञ्चबाटै छिमेकी देशको सहयोग माग्ने, आकाशै खसेको धर्ती नै फाटिएको जस्तै अवस्था देखाएर सामाग्री दिने, हुँदाहुँदा प्रधानमन्त्रीको कदम सदर भएमा छिमेकी देशले गर्दा हुन्थ्यो भन्नेसम्मका सामग्री प्रकाशन प्रसारणले भोलि कुनै दिन त हामीलाई पोल्ला नै । २०४६ को आन्दोलन सुरु हुने बेलामा भएको चाक्सीबारी भेलामा छिमेकी देशका नेताले गरेको भाषणको ऋण अहिलेसम्म तिर्नु परिरहेको छ भन्ने अग्रपंक्तिको राजनीति गरिरहेकै नेताबाट सुन्ने गरिएकै छ ।
नेता कस्तो बन्छ भन्ने कुरा तत्कालीन समाजको व्यवहारले निर्धारण गर्छ । साधुहरूको नेता चोर बन्न सक्दैन । बने पनि त्यो समाजमा टिक्न सक्दैन । यसै कारण ओलीलाई हामीले नेता बनाएका हौं । उनको स्वभाव पनि हाम्रैजस्तो छ । हिजो माओवादीको उग्र विरोध गर्दा हामी कसैले उनलाई माओवादी पनि राजनीतिक दल हो । उसलाई यो हदको अपमान गर्नु हुँदैन भन्न सकेनौं । माओवादीसँग सहकार्य गर्ने भन्दा के सिद्धान्तका आधारमा गर्ने ? किन गर्ने ? भनेर कसैले सोध्न सकेनौं । अझ ओलीलाई भगवान् बनाउन थाल्यौं । यो सबैभन्दा ठूलो पाखण्ड थियो । अहिले ओली सबैभन्दा गलत । अरु सबै ठीक भनेर जुन धारणा समाजमा बनाइँदै छ । यो अर्को पाखण्ड हो । यस बखतमा एकजना पुराना राजनीतिज्ञले भनेको कुरा यहाँ प्रासङ्गिक हुन आउँछ । व्यवस्था परिवर्तन भएपछि भेट्न गएका पत्रकारलाई उनले भनेका थिए रे, ‘नेता यिनै हुन्, समाज यही हो, छिमेकी यिनै हुन् । तिमीहरूले ज्यान दिएर फेरेको व्यवस्थाले कसरी काम गर्दो रहेछ हेरौंला न !’
अन्त्यमा,
यसो हेर्यो भने समाजमा द्वैध चरित्रको बोलवाला छ । चियागफ र सामाजिक सञ्जालका भित्तामा देश बनाउने महान् विमर्श गरिरहेको शिक्षक आफूले विद्यालय नटेकी तलब पाए हुन्थ्यो भन्ठान्छ । पढाउनु परको कुरा । नेतृत्वलाई आदर्श छाँटिरहेको समाजको अगुवा आफूलाई कसैले प्रश्न सोध्न हुँदैन भन्ने मान्यता पालेर बसेको छ । सरकारी कार्यालयमा समयमै र विनाझन्झट काम भयो भने आफूलाई धन्य मान्नुपर्ने अवस्था छ ।
कमाइको देखिने कुनै स्रोत नहुनेका जीवनशैली हेर्दा अत्यास लाग्छ । सबै सबै कुरा हेरेपछि लाग्छ, अहिले हामी पाखण्डपनको पराकाष्ठा भोगिरहेका छौं । यसो हुनुमा राजनैतिक नेतृत्वको जति हिस्सा छ । त्यत्ति नै हिस्सा हाम्रो पनि छ । हामी नसच्चिएसम्म एउटा नेता जालान् त्यसका ठाउँमा उस्तै अर्का पाखण्ड नेता आउँछन् । नागरिकको जीवनमा कुनै पनि फरक पर्नेवाला छैन । सर्वसाधारणको जीवन सुधारका कुरा केवल नेताको जनता झुक्याउने कुटिल चाल मात्रै हुनेछन् ।