नेताहरूको शक्ति प्रदर्शन र कार्यकर्ताहरूको भक्ति प्रदर्शन कहिलेसम्म ?

बाल-मस्तिष्कमा लामो समयसम्म बम, बारुद र गोलीसँग खेलिने गृहयुद्धको चस्का पस्यो । देशमा शान्ति र सुव्यवस्थाको परिकल्पनामा हजारौं नेपालीहरूले बलिदान दिए । अन्ततः २०६२/६३ को जनआन्दोलन र जनयुद्धको शान्तिपूर्ण अवतरणपश्चात् देशमा जनताको शासन व्यवस्था आउला भन्‍ने झिनो आशासँगै रुन्चे हाँसोमा मुस्कुराएका जनताहरू देशमा लोकतन्त्र स्थापनाको १४ वर्षे लामो इतिहाससम्म पनि दिल खोलेर हाँस‍्‍न सकेका छैनन् । 

लोकतन्त्रको उदयपश्चात् पनि रोग, भोक र शोकमा देश छट्पटाइरह्यो । अपेक्षा गरेका कयौँ आशाका दियो बल्नै नपाई निभे । जनयुद्ध व्यवस्थापनमै वर्षौं लाग्यो । जनयुद्धका योजनाकारले नै सत्ताको बागडोर सम्हाल्दासमेत आफ्ना पूर्वयोजना चटक्कै बिर्सिए । जनतासामु गरेका कयौँ वाचा कसमहरूको बलात्कार भयो । जनताको शासन भाषणमा मात्र सीमित रह्यो । 

देशमा रोजगारीका लागि भौँतारिँदा–भौँतारिँदा थकित शरीर र निराश मन लिएर लोकतन्त्रको उदयपश्चात् लाखाँै युवा वैदेशिक रोजगारीमा होमिए । हजारौं आमा साना–साना लालाबालाहरूलाई छोडेर परदेशिन विवश भए । तिनै हजारौँ आमाहरूलाई पछ्याउँदै उज्ज्वल भविष्यको खोजीमा म आफू पनि वैदेशिक रोजगारीमा होमिएँ ।
 
काखे नानीहरूलाई छोडेर परदेश पस्दाको पीडा ती आमाहरूलाई मात्र थाहा हुन्छ, जोसँग तीतो भोगाइ र नमीठो वास्तविकता छ । जेल सजाय भोगेको कैदीलेझैँ वैदेशिक यात्रामा कैद भोगिरहेका लाखौँ युवाहरूको तीतो अनुभव, दिनदिनै कफिनमा फर्किने शव अनि मानसिक र शारीरिक यातना सहन नसकेर गरिएका आत्महत्याका घटनाहरू, अर्बमा पुगेकी नेपाली चेलीको चीत्कार, कारुणिक र हृदयविदारक घटनाहरूले कहिल्यै हाम्रा नेताहरूको मन छोएन ।

फलस्वरूप, आजसम्म कुनै पार्टीको नेता या मन्त्रीले कठिनपूर्ण वैदेशिक रोजगारी बन्द गराउन सकेनन् ? भविष्यको सुनौलो सपना बोकेर परदेशिएको छोरोको शव महिनौँसम्म नपाउँदाको पीडा कस्तो हुन्छ भन्ने कुनै नेताज्यूहरूसँग अनुभव छ होला ?
 
उपचार नपाएर गरिब छटपटाउँदा, पेट भर्न नसकेर निमुखाहरूले आत्महत्या गर्दा, बुढेसकालमा अपहेलित भएर वृद्धवृद्धाहरू आँसुमा डुबुल्की मार्दै वृद्धाश्रमको खोजीमा भौँतारिँदा, विकटबस्तीका नागरिकका छोराछोरीहरू शिक्षाबाट वञ्चित हुँदा, प्रसव वेदनामा छट्पटाउँदै महिलाहरूले ज्यान गुमाउँदा, परदेश गएका युवाहरू दिनहुँ कफिनमा फर्किंदा आफ्नो न्यायका लागि भौंतारिँदै चिच्याइरहेका नागरिक पनि नेपालबन्द र सडक आन्दोलन गर्न चाहन्थे होलान् । तर, उनीहरूको आँसुको मूल्य किन कसैले बुझेनन् र साथ दिएनन् । 

आम नेपाली युवाहरूको सोचमा पनि समस्या छ । होइन भने नेताको निर्देशनमा जेसुकै गर्न तयार युवाहरू, आफ्नै अभिभावक र गाउँका निमुखाहरूको दुःखमा किन मल्हमपट्टी लगाउन सक्दैनन् ? मानवीयतालाई बिर्सेर राजनैतिक पूर्वाग्रहले हेरिन्छ, समाजका निमुखा गरिब बेसहाराहरूमाथि, आखिर यस्तै सोचले देशमा आमूल परिवर्तन दिन सक्ला ?
 
देशमा महँगीले झन् आकाश चुलियो, भ्रष्टाचारले रेकर्ड राख्यो अनि हत्या, हिंसा र बलात्कारका घटनाहरूले आम जनमानसमा त्रास छरिरह्यो । भ्रष्टाचार र बेतिथिका काण्डहरू छरपस्ट छरिँदा कुनै सरकारले पनि नियन्त्रण गर्न नसकेको दृश्यहरू हेरेर प्रवासमा छटपटाउँदै हरेक महिना देशमा रेमिट्यान्स भित्र्याउने लाखौं युवाहरूलाई सम्बोधन गर्न सक्ने एउटै नेता पाउन नसकेको अनुभूत भइरहेछ । 

निमुखाहरूमाथि तातो तेल खन्याएर, ट्याक्सी जलाएर कस्तो क्रान्ति गर्न खोजेको ? 

हरेक दसैँ–तिहारमा बूढा बा–आमा र कलिला छोराछोरीहरूलाई अर्को दसैँमा फर्किने झुटो आश्वासन दिँदै वैदेशिक यात्रा लम्ब्याउन विवश लाखौँ युवाहरूले प्रवासमा सिकेको सीप र ज्ञानको सही सदुपयोग गराउन सक्ने एउटा जिम्मेवार नेताको उदय हुने हो भने लाखौँ युवा आफ्नो मातृभूमि फर्किन चाहन्छन् । 

दुई तिहाइको सरकार बनेपश्चात् पलाएका आशाका किरण पाँच वर्ष नबित्दै निराशामा परिणत गर्ने कम्युनिस्ट नेताहरू आफैंले बनाएको जिउँदो संविधानको मलामी गइरहँदा, कुर्सीमोह र गुट–उपगुटमा लिप्त प्रतिपक्ष पनि निदाएको नाटक गरी कुर्सीको लोभमा तमासा हेरेर मौन बसिरहेको आभास हुन्छ ।
 
दुई तिहाइको सरकार हुँदा आफ्नै पार्टीको झगडामा संसद् विघटन गर्ने र सडकमा शक्ति प्रदर्शन गर्ने देश र पार्टी कुन हो भनेर सायद इतिहासमा, हाजिरी जवाफ प्रतियोगिताका लागि विश्वले एउटा प्रश्न सुरक्षित गर्ला ।
 
२०६२/६३ को जनआन्दोलनमा साक्षी बसेका सडक आज फेरि सोच्दै होलान् । यति ठूलो विश्वासघात, आफ्नै संविधानको बलात्कार अनि उही पुरानै वा हजुरबाहरूको चमत्कारहरू पुरानै शैली र सडकमै फेरि किन दोहोरियो ? आफ्नै कुर्सी जोगाउन फेरि किन मलाई नै उपयोग गर्यौ ?
 
गरिब निमुखा जनताहरूलाई झुटो प्रलोभन देखाएर फेरि किन शक्ति प्रदर्शन गर्दैछौ ? बन्द र आन्दोलनको मारमा चेपिएका बस्तीबस्तीका गल्ली भन्दै होलान् । जनताका लागि कहिल्यै सडकमा नओर्लिएका नेताहरू आफ्नै पार्टीभित्रको किचलो मिलाउन नसकेर बन्दको बहानामा देशलाई किन बन्धकी बनाउँदै छौ ? 

जनताका सपना भ्रुण नहुँदै तुहिँदा अपरिचित सडक नेताका सपनाहरूमा ठेस लाग्दा मात्र किन परिचित हुन पुग्छन् ? किन नेपाली जनता र नेपाली नेतामा यत्रो भिन्नता छ ? होइन भने अहिले सडक तताउने नेताहरू ३३ किलो सुन, वाइडबडी, एनसेल, ओम्नी, बालुवाटार काण्डहरूमा किन बोलेनन्, किन सडकमा ओर्लिएनन् ? भ्रष्टाचारीलाई कसले संरक्षण दियो ? के जनताको शासन भनिएको लोकतन्त्रमा जन्मिएको नेपालको संविधानमा यो सब छुट छ ?
 
होइन भने पलपलमा संविधानको उल्लंघन सत्ताधारीहरूले नै गरिरहेका छन् । प्रधानमन्त्रीको असंवैधानिक कदमको सर्वत्र विरोधको क्रममा एउटा श्रमजीवीको ट्याक्सी जलाइनु, निमुखा महिलामाथि तातो तेल खन्याइनु कत्तिको संवैधानिक छ ? 

के राजनीतिक दलको कार्यकर्ताहरूलाई देशको प्रधानमन्त्रीसँग जोडेर राष्ट्रप्रमुखको चरित्र हत्या गर्ने अधिकार छ ? ‘विद्या तेरो सिन्दुर खोई, केपी ओली तेरो पोइ’जस्ता नाराहरूले देशको भविष्य कता जाँदै छ भन्ने गम्भीर प्रश्न खडा गर्छ । आफ्ना कार्यकर्ताहरूबाट गल्ती भएकामा विरोधसभाको आयोजकले आम माफी माग्नु पर्दैन ? 

विश्वका प्रमुख सहरहरू कोरोना कहरको लकडाउन थुनिँदा नेपालको राजधानी सडक आन्दोलनमा तातेको दृश्यहरूले महामारीलाई चुनौती दिइरहेको देखिन्छ । एकातिर कोरोनाको उपचार गर्ने र भ्याक्सिन किन्ने पैसा नभएको सरकार चुनाव गराउन तयार छ भने अर्कोतिर देश संकटमा पर्दा सुक्को ननिकाल्ने नेताहरू आन्दोलनका लागि लाग्ने खर्च कसरी सजिलै जोहो गर्छन् ?
 
आआफ्नो गुटको शक्ति प्रदर्शनको क्रममा विरोध जुलुस, राँके जुलुस, सडक आन्दोलन अनि एउटै पार्टीको झण्डा र सूर्य चिन्ह बोकेर तमासा देखाइरहँदा हाम्रा नेताज्यूहरूले हिजो गरेको विकसित राष्ट्रहरूको भ्रमणको दृश्यहरूले कसैलाई किन झक्झक्याएन ? आफँैले गरेका सिंगापुर र स्वीजरल्याल्डवाला भाषणहरू चटक्कै बिर्से होलान् ? 
सत्ताको स्वाद चाखेका नेताहरू आफ्नै सपनाको मलामी मात्र गएनन् । हिजो जनतालाई दिएको झुटो आश्वासनको दिउँसै राके जुलुस गरेर दाहसंस्कार पनि गरे अनि सडकमा बसेर किरिया गर्दै शाकाहारी भोजन सेवन गरे । गाउँगाउँबाट भाडाका मान्छेहरू ल्याएर शक्तिप्रदर्शन गर्दैगर्दा विकसित राष्ट्रहरू भ्रमण बनेको हो ? नेताहरूले अपनाएका आन्दोलनको अर्को शैली बन्द र हड्ताल । 

बिहान–बेलुका ज्याला मजदुरी गरेर साँझ छाक टार्ने गरिब निमुखाहरूलाई बन्दमा बन्धकी बनाएर, कतै तातो तेल खन्याउने त कतै ट्याक्सी जलाउने जस्ता उग्र गतिविधिहरू गराउँदै आफू पजेरोमा सयर गरी बन्द अवलोकन गर्ने बन्द आयोजक नेताहरूको शैलीलाई अन्तर्राष्ट्रिय जगत्ले कसरी मूल्याङ्कन गरिरहेको होला ? 

पेटभरि एकछाक पुलाउ र एक हजार रुपैयाँ पाएकामा खुसी व्यक्त गर्दै आन्दोलनमा आउने अबोला आमाहरू, तीन दिनदेखि भोको पेटमा छट्पटिँदै काठमाडाँैसम्म नेताको पछि लागेर आउने वा अनि रोजगारी र रोजिरोटीको आशामा नेताको पछि लाग्ने आम युवाहरूको अनुहारमा मुस्कान र मनमा शान्ति ल्याउलान् भन्ने विश्वास गर्ने आधार के छ ? 
लोकतन्त्रपछिको १४ वर्ष लाजतन्त्रमा परिणत भइसक्दा पनि उही पुरानै अनहारका हजुरबाहरूलाई समर्थन गर्दै हिँड्ने आम युवाहरूलाई अन्धभक्त समर्थक नभनेर के भन्ने ? ६० कटेका वा हजुरबाहरूलाई राजनीतिबाट विश्राम गराउन आम कार्यकर्ताहरू किन सफल भइरहेका छैनन् ? पार्टीभित्र भएका इमानदार र बौद्धिक नेताहरूलाई परिचालन गरेर समाज परिवर्तनको नयाँ विचार निर्माण गर्न किन आँट गर्दैनन् आम युवा कार्यकर्ताहरू ? 

आकाशमा मडारिएको कालो बादलझैँ मुलुकको अन्धकार भविष्य मडारिँदै गर्दा मनमा अशान्तिको ज्वाला दन्किन्छ तर पैसा, पावर र पदमा आफ्नो मान्छे नहुनेहरू चाहेर पनि नेपालको राजनीतिमा भर्याङ चढ्न सक्दैनन् त्यसैले स्वदेश या विदेशमा प्रशस्त अनुभव बटुलेका कयौँ विज्ञ देशको अव्यवस्थित प्रणालीमा हात हाल्ने अवसर नै पाउँदैनन्, आखिर किन ? 

चाकडी, चाप्लुसी, भनसुन, नातावाद र कृपावाद उस्तै छ अझै पनि । धनी र गरिबबीचको खाडल पुरिनुको बदला झन् गहिरिएको छ । गरिबका झुपडीमा धुवाँ नआएको पीडालाई मौकाको फाइदा उठाउँदै सडक आन्दोलनमा उतारेर आखिर कहिले आउँछ समृद्धि ? बेरोजगारीको पीडामा छट्पटिँदै रोजगारी र रोजिरोटीको आशासँगै नेताको पछि लाग्न विवश यी आम युवाहरूको समस्यालाई के यो सडकमा देखिएको भिडले सम्बोधन गर्न सक्छ ? 

कुनै पार्टीको झण्डा नबोक्ने र नेताको पछि नलाग्ने युवाहरू जतिसुकै पढेलेखेको दक्ष भए पनि किन परदेश पलायन हुन बाध्य छन् ? देशमा अन्धकार भविष्य देखेर उच्चशिक्षाका लागि विकसित मुलुकहरूमा जाने आम नेताका छोराछोरीहरू किन सडक आन्दोलनमा आउँदैनन् ? नेताहरू आफ्ना छोराछोरीलाई विदेशमा कहलिएको युनिभर्सिटीमा पढ्न, सुखसुविधा भोगचयन गर्न पठाएर आम सर्वसाधारणका छोराछोरीहरूलाई सडक आन्दोलन, राके जुलुस, बन्द हड्ताल र विरोध प्रदर्शनमा किन आकर्षित गर्छन् ? 

हाम्रा कति नेताका छोराछोरीहरू देश–विकास र बन्द हड्तालमा खटिएका छन्, त्यसको मूल्याङ्कन आम युवाहरूले किन गरिरहेका छैनन् ? यी यावत् प्रश्नहरूको अनुत्तरित जवाफसँगै परदेशबाट घरदेश नियाल्दा, कोरोना कहरभित्रको सडक आन्दोलन र बन्द हड्तालको कुनै अर्थ र देशलाई कुनै केन्द्रबिन्दुमा पुर्याउने लक्ष देखिँदैन । बरू कुन नेताको पछि लाग्ने, कुन पार्टीको झण्डा बोक्ने भनेर अलमलमा परेका जनतालाई दुःख नदिई घरघरमा सुुरक्षित राखेर संविधानको रक्षार्थ सम्पूर्ण साना–ठूला पार्टीका नेताहरू नै कानुनी लडाइँमा एकजुट भइदिए शान्तिको स्वच्छ श्वास फेर्ने वातावरण हुन्थ्यो होला ? 

हिजो भर्खरै जन्मेको यहुदी राष्ट्र इजरायल, दोस्रो विश्वयुद्धले थला परेको युरोप अनि एटम बमबाट ग्रस्त जापान बन्द–हड्ताल र सडक आन्दोलनले माथि उठेको होइन भन्ने हाम्रा नेता तथा कार्यकर्ताहरूले किन बुझ्दैनन् ? 

अन्त्यमा, नेताज्यूहरू, बन्द नै गर्नुछ भने भ्रष्टाचार बन्द गरौँ, सिमाना मिच्याई बन्द गरौँ, आयातित संस्कार र संस्कृति बन्द गरौँ । गरिब निमुखाहरूमाथि हुने गरेका अन्याय, अत्याचार, शोषण र दमन बन्द गरौँ । जोखिमपूर्ण वैदेशिक रोजगारी बन्द गरौं । नेपालको मौलिक धर्ममाथिको प्रहार बन्द गरौँ । युवाहरूको परदेश पलायन हुने सोच बन्द गरौँ । तर, नेपाल सधैँ खुला गरौँ । 
हाल : अस्ट्रिया युरोप

आफ्नी भित्रिनीसँग अनुचित प्रेमसम्बन्ध जोरेको भनी बाबुबाटै समलाई विष

विविध भौतिक साधन र सुविधाले सम्पन्‍न सम्भ्रान्त राणापरिवारमा जन्मेका हुनाले बालकृष्ण सम (त्यतिखेर शमश...

किन खोतल्दैछन् ओलीले पूर्वीय दर्शन र सभ्यताको प्राचीन इतिहास, भोलिको आमसभामा के भन्लान् ?

पुष्पराज आचार्य | माघ २२, २०७७

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आजभोलि पूर्वीय दर्शन र सभ्यताको प्राचीन इतिहासका मर्मज्ञ एवं व्...

'केपी नसुध्रिए जनआन्दोलन गर्छौं, लोकतन्त्र विरोधी सबै बढारिन्छन्'

पुष्पकमल दाहाल | माघ २२, २०७७

हामी पनि आन्दोलनको पक्षमा थिएनौँ, यो हाम्रो बाध्यता हो । संविधान, नियम, कानुन मिचेर सर्वसत्तावाद चलाउन ...

बजेट इतिहासमा सुवर्ण शमशेर, महेश आचार्य र प्रकाशचन्द्र लोहनी सम्झिन्‍छु

डा. विश्व पौडेल | माघ २२, २०७७

राणाशासन अन्त्य भएपछि २००८ माघ २१ गते अर्थमन्त्री सुवर्ण शमशेरले नेपालमा पहिलोचोटि बजेट प्रस्तुत गरे । यो...