दिल्लीबाट मेची हुँदै उही दिन काठमाडौँ
पाँच वर्षअघि बंगलादेशको उत्तरी नाका बंलाबन्ध अनि भारतको फूलबारी–पानीट्यांकी हुँदै मेचीपुल तरेर काँकरभित्ता प्रवेश गरेको थिएँ । अहिले एउटा सानो काकताली परी पुनः त्यो बाटो छिर्ने संजोग जुर्यो । यो लेख त्यसकै सेरोफेरोमा छ ।
हामी बूढाबूढी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली नगएको पनि वर्ष दिन नाघिसकेको थियो । ६ महिना लामो लकडाउन र त्यसपछि पनि असहज स्थितिका कारण हामी घरमा नै खुम्चिन बाध्य थियौँ । बाहिरफेर घुम्न निस्कन आँट आउँथेन । कोभिडविरुद्धको खोप लाएपछि भने आत्मविश्वास पलायो । खोपको असर शारीरिक रूपमा त अवश्य हुने नै भयो, त्यसले मनोवैज्ञानिक रूपमा पनि ऊर्जा भर्ने काम गर्दो रहेछ । हामी दिल्लीका लागि फुत्त निस्क्यौँ ।
एक वर्षदेखि त्रिभुवन विमानस्थल टेकेको थिइनँ । अहिले सुधारोन्मुख अवस्थामा रहेछ । सानातिना निर्माणका काम पनि हुँदै रहेछन् । बुटिक विमानस्थलको कुरा सुनिएको थियो, त्यो चाहिँ त्यसै सेलाए जस्तो छ । नेपाल भ्रमण वर्षको सन्दर्भ आएपछि त्यसको फेरि कुरा उठ्ला, जसरी नेपालमा आज एउटा कुरा उठ्छ, अनि भोलि अर्कै ।
तर साँच्चिकै नेपाल भ्रमण वर्षका लागि भने अझै केही वर्ष कुर्नुपर्ने हुन सक्छ, कारण कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय स्तरमा थिलथिलो भएको पर्यटन क्षेत्र र खास गरी अन्तर्राष्ट्रिय हवाई सेवालाई पुरानो लयमा फर्कन अझै केही समय लाग्ने देखिन्छ । अन्तर्राष्ट्रिय हवाई यात्रा त्यसै पनि सजिलो छैन । विमानस्थलको विभिन्न चेक–जाँचले यात्रुलाई आजित बनाउँछ । अहिले झन् कोभिडका कारण विमानस्थलको प्रोटोकल थप कडा पारिएको छ, चाहे एक घण्टाको छोटो यात्रा होस् वा चौबीस घण्टाको लामो दूरी नै किन नहोस् । यात्रुहरूले अहिले पासपोर्ट र टिकटसँगै ४८ घण्टाभित्र लिएको पीसीआर परीक्षणको रिपोर्ट पनि साथमा बोक्नुपर्दो रहेछ । त्यसमाथि एयर इन्डियाले त अनलाइन फारमको अर्को झन्झट पनि थपेको रहेछ । त्यो नभरीकन बोर्डिङपास दिँदो रहेनछ । हामीलाई त्यसको पूर्वजानकारी थिएन, जसका कारण काउन्टरमा सानोतिनो लफडा नै पर्यो ।
त्यसो त, नेपाल वायु सेवाको टिकट काटेको भए त्यो झन्झट बेसाउन नपर्ने रहेछ । तर टिकटको दाम अर्कोको तुलनामा केही महँगो अनि एयरपोर्ट पनि बिहानै पुग्नुपर्ने झन्झट भएकाले हामीले एयर इन्डियाको दिउँसोको फ्लाइट रोजेका थियौँ । अहिले गलपासो जस्तो भयो ।
विमानभित्रको प्रोटोकलले यात्रुलाई थप सास्ती । नाक–मुख छोप्न मास्क त लाएकै थियौँ, त्यसमाथि फेसियल सिल्ड पनि भिर्नुपर्ने । तीनजना सिटमा बसेकामध्ये बीचको यात्रुले पीपीई गाउन पनि लाउनुपर्ने । विमानको परिचारिकाहरूको पहिरन पनि अस्पतालको नर्सको जस्तै । विमानमा हो कि अस्पतालमा– छुट्याउन गाह्रो जस्तो लाग्ने । उनीहरूले फेसन गर्ने दिन कहिले फिर्ला जस्तो लाग्थ्यो ।
सधैँ भिडभाड हुने नयाँ दिल्ली विमानस्थलमा यात्रुको त्यति विधि चाप थिएन । अध्यागमन पार गर्न आफ्नो सामान लिन यात्रुलाई धेरैबेर कुर्नु परेन । विमानस्थलबाट बाहिर निस्कनासाथ हवाई उडान र विमानस्थलको प्रोटोकल चाहिँ त्यहीँ नै बिसाइयो । ट्याक्सी स्ट्यान्डमा पुग्दा यात्रुलाई हातैमा तानातान गर्लान् जस्तो स्थिति थियो । कहाँ मास्क, केको सामाजिक दूरी– ती सबै दन्त्यकथाजस्तै लाग्थे । ट्याक्सी चालकले मास्क नाकमा हैन, चिउँडोमा भिरेका थिए । त्यो पनि एयरपोर्ट ट्याक्सीको नियम पालना गर्नुपर्ने भएकाले– सहरभित्र त्यो पनि रहेनछ । सुरुमा हामी अचम्मित भयौँ, त्यसपछि त्यस्तैमा बानी पर्यो ।
बाहिर जस्तो भए पनि अस्पतालको जनस्वास्थ्य प्रोटोकल भने कडा । ज्वरो नाप्ने, स्यानिटाइजर, मास्क, सामाजिक दूरी सबै अनिवार्य । काम पनि छिटो, छरितो– धेरै कुर्न परेन । डाक्टरको जाँच, परीक्षण, रिपोर्ट सबै काम एकै दिनमा सकियो । त्यति चाँडै काम होला भनेर चिताएकै थिएनौँ ।
अस्पतालको काम सकिएपछि हामी फुक्काफाल भइहाल्यौँ । थप एक दुई दिन दिल्लीमा नै आराम गरी बिताउने विचारमा थियौँ । तुरुन्तै नेपाल फर्केर केही लछारपाटो लाउनुपर्ने पनि थिएन । मार्चको महिना । दिल्लीमा गर्मी बढिसकेको थिएन । प्रशस्त हरियाली, प्रदूषण पनि त्यति थिएन । त्यसैले कामै नभए पनि दुई–चार दिन त्यतै सुस्ताउने विचारमा थियौँ ।
तर सोचिन्छ एकथोक, भइदिन्छ अर्कै । दिल्लीमा कति दिन बस्नुपर्ने भन्ने ठेगान नभएकाले एकतर्फी मात्र टिकट काटी गएका थियौँ– फर्कनलाई जहिल्यै टिकट पाइहालिन्छ नि भन्ने सोचले । पहिले पहिले दुईतर्फी टिकट काट्दा भनेको दिनमा उड्न नपाउँदा टिकट त्यसै खेर गएको थियो ।
नेपाल फर्कन टिकट मिलाउन ट्राभल एजेन्सीको काउन्टरमा पुगेपछि हाम्रो हलिडे मुड एकाएक बिग्रियो । दिल्ली–काठमाडौँको हवाईभाडा एकाएक चारगुना बढेछ । दुई दिनमा नै त्यस्तो हुन्छ ? मलाई पत्यार लागेन । काठमाडौँमा पनि बुझेँ, हो रहेछ । त्यस्तो किन हुन्छ ? मैले बुझ्न सकेको छैन ।
दिल्लीबाट काठमाडौँ फर्कन एकजनाको भारु पैँतीस हजारको दरले हामी बूढाबूढी टिकटका लागि मात्रै करिब एक लाख खर्च गर्नुपर्ने भयो । त्यति पैसामा त त्यस्तै परे लन्डनको टिकट आउँथ्यो । त्यो त यात्रुलाई च्यापमा पारेर रेटे जस्तो पो भयो । ट्राभल एजेन्सीको काउन्टरमा घोरिएर विकल्प सोच्दै थिएँ, अर्का एकजना नेपाली पनि नेपाल फर्कने टिकट मिलाउन त्यहाँ छिरे । उनी झापातिरका रहेछन् । उनलाई दिल्ली आउजाउ गर्न पानी पँधेरो जस्तै रहेछ । उनले नै मेरो समस्या हल गरिदिए :
‘केको टेन्सन ! दिल्लीबाट आन्तरिक उडान समातेर बागडोगरा उड्ने । त्यहाँबाट पानीट्यांकी–मेचीपुल तरेर काँकरभित्ता छिर्ने अनि भद्रपुरबाट त्यही दिनको फ्लाइट लिएर काठमाडौँ उड्ने ।’
पानीट्यांकी–काँकरभित्ता भन्नासाथ मलाई तुरुन्त क्लिक गरिहाल्यो । म ढाकामा कार्यरत छँदा पाँच वर्ष पहिले बंगलाबन्ध–फूलबारी स्थलमार्ग हुँदै पानीट्यांकी–मेचीपुल तरेर काँकरभित्ता छिरेको थिएँ । त्यसैले, त्यस क्षेत्रको भूगोलबारे धेर थोर जानकारी थियो ।
नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको पीडितका लागि बंगलादेश सरकारले उपलब्ध गराएको खाद्यान्न सहयोग र दूतावास आफैँले संकलन गरेको राहत सामग्रीको खेप त्यही स्थलमार्ग प्रयोग गरी काँकरभित्ता सुख्खा बन्दरगाहमा हस्तान्तरण गरिएको थियो । ती राहत सामग्रीको सुगम परिवहनका लागि म आफैँ अगुवानी गर्दै त्यही स्थलमार्ग भएर काँकरभित्ता छिरेको थिएँ ।
ती झापाली मित्रको सल्लाहले मलाई एकपल्ट फेरि मेचीपुल तरेर त्यही बाटो नेपाल फर्कन मन भयो । यताउता दोमन नगरी तुरुन्त टिकट काटेँ । टिकट पनि सस्तो–एकजनाको भारु आठ हजार मात्र । भद्रपुरबाट काठमाडौँको टिकट प्रतिव्यक्ति चार हजारका दरले अर्को आठ हजार । बाटोको अरु खुद्राखाद्री खर्च जोड्दा पनि भारु बीस हजारमा त हामी बूढाबूढी काठमाडौँ उत्रने हिसाब निस्क्यो ।
बिहान सात बजे दिल्लीबाट प्रस्थान गरेको, घुम्दै फिर्दै यात्रा गर्दा पनि साँझको सात बजे त घर आइपुगिहालियो । त्यो पनि कम्ता हो र ? नेपालको सुदूर पूर्वीनाका– मेचीपुलको बाटो हुँदै ।
त्यसरी घुमाउरो यात्रा–डिटुर गर्दा अर्को पनि फाइदा । म त त्यो बाटो एक–दुई पटक पहिले हिँडिसकेको । तर श्रीमती भने नेपालको सुदूरपूर्वी नाका–काँकरभित्ता कहिल्यै पुग्न पाएकी थिइनन् । हामी ढाका छँदा उनी मसँगै भारत–बंगलादेश सीमाको बंगलाबन्ध–फूलबारीको जिरोप्वाइन्टसम्म आएकी थिइन् । त्यहीँबाट पश्चिम दिशातर्फ औँल्याउँदै मैले उनलाई मेचीपुल–काँकरभित्ताको तस्बिर देखाएको थिएँ । त्यति नजिकै आइपुग्दा पनि उनले आफ्नो जमिन टेक्न पाएकी थिइनन् । अहिले उनको पहिलेको त्यो अधुरो धोको पनि पूरा हुने भयो ।
हामी केही अलमल नगरी भोलिपल्ट सखारै बागडोगराको उडान समात्न निस्क्यौँ । घरेलु उडान भएकाले अन्तर्राष्ट्रिय उडानमा जस्तो नानाभाँती–पीसीआर रिपोर्ट, अनलाइन फारमको झन्झट पनि बेहोर्न परेन । विमानभित्रको प्रोटोकल भने अन्तर्राष्ट्रिय उडानसरह थियो । फरक चाहिँ के भने इन्डिगोको उडानमा चियासमेत पैसा तिरेर खानुपर्थ्यो– एक कपको सय रुपैयाँ । त्यो अनुभव लिन पनि छुटाइएन ।
बागडोगरा विमानस्थल हाम्रो नेपालको भद्रपुर, विराटनगर एयरपोर्ट जस्तै हो । चल्तीमा आएको पनि धेरै भएको छैन । भारतको सिलगुडी चिकननेक करिडरको सामरिक र सुरक्षा संवेदनशीलताका कारण त्यो विमानस्थल झट्ट हेर्दा सैनिक विमानस्थल जस्तो लाग्छ । त्यहाँ एकापट्टि लस्करै रहेका खैरो रङका ह्यांगर पक्कै पनि भारतीय वायुसेवाका विमानका लागि होलान् भनेर सजिलै अन्दाज गर्न सकिन्थ्यो ।
विमानस्थलबाट बाहिर निस्कनासाथ नेपाल आइपुगे जस्तो भइहाल्यो । ट्याक्सीवालाहरूले झोला, सुटकेस तानातन गर्न थालिहाले । आफू एकातिर, श्रीमती अर्कोतिर, झोला अर्कैतिर–त्यो छिनाजर्ती छिचोल्न हामीलाई एकछिन त हम्मे पर्यो । केको मास्क ? अनि केको दूरी ? एकछिन त हामी रनभुल्लमा पर्यौँ ।
त्यो भिडलाई बलैले चिर्दै एकजना नेपाली भाषीको ट्याक्सी चढेर हामी मेचीपुलतिर हुँइकियौँ । फूलबारीदेखि पानीट्यांकी–मेचीपुलसम्म एसियाली राजमार्गको त्यस खण्ड अहिले सलल्ल गुड्ने टोल एक्सप्रेस मार्गका रूपमा स्तरोन्नति भइसकेछ । पाँच वर्षअघि त्यो सडक खण्ड ट्रक चल्ने खाल्डाखुल्डी भएको सडक थियो ।
भौगोलिक सान्निध्य र भौतिक पूर्वाधारको दृष्टिकोणले पनि नेपाल, भारत, बंगलादेश र भुटान सम्मिलित त्यस उपक्षेत्रलाई सडक सञ्जालबाट जोड्न अब खासै समस्या छैन । ती चार मुलुक कनेक्टिभिटीको दृष्टिकोणले कति नजिक छन् भन्ने मेरो आफ्नै अनुभवले पनि भन्छ ।
०००
त्यो सन् २०१४ को कुरा हो । त्यतिखेर ती चार मुलुक सम्मिलित बीबीआइएन उपक्षेत्रीय सहयोगको अवधारणा प्राविधिक स्तरको छलफलमा रुमल्लिरहेको थियो । त्यस्तैमा, ढाकास्थित नेपाल, भारत र भुटानका हामी तीन राजदूतले आपसी सल्लाह र छलफल गरी हाम्रो चारै मुलुक जोड्ने सीमा नाकाको भौतिक पूर्वाधारको अवस्था– खासगरी सडक सञ्जाल, भन्सार, अध्यागमन, सुख्खा बन्दरगाह आदिबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यसाथ चार देशको त्यस भूभागको सीमानाकाको अवलोकन भ्रमणमा निस्केका थियौँ । तीन छिमेकी मुलुकका राजदूतहरूको त्यस्तो खाले त्यो पहिलो भ्रमण थियो, जसलाई बंगलादेशको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयबाट समेत आवश्यक सहयोग र सौजन्य प्राप्त भएको थियो ।
हामीले हाम्रो भ्रमणको सुरुवात बंगलादेशको उत्तरीक्षेत्रको शैयदपुर विमानस्थलबाट सुरु गर्यौँ जुन ढाकाबाट पौने घण्टाको हवाई दूरीमा पर्छ । त्यहाँबाट बागडोगरा अनि नेपालको भद्रपुर, विराटनगरको हवाई दूरी आधा घण्टा जति मात्र होला । बंगलादेशको उत्तरी सीमाको एक प्रमुख व्यापारिक र पारवहन नाका बूढीमारी र भारतको सीमा नाका च्यांग्राबन्द हुदै भुटानको प्रमुख प्रवेशद्वार–भारतको जयगाउँ र भुटानको फुन्सोलिङको सडकको दूरी केवल ८० किलोमिटर मात्रै छ । त्यही बाटो प्रयोग गरेर भुटानले बंगलादेशमा स्याउ, सुन्तला र ढुंगागिटी निर्यात गर्छ ।
त्यहाँबाट पश्चिमतर्फ सिलगुडीको दुरी १५० किलोमिटर जति छ । त्यसको लगत्तै पानीट्यांकी कटेपछि त मेचीपुल–काँकरभित्ता आइपुगिहाल्यो । त्यस्तै काँकरभित्ताबाट भारतको फूलबारी र बंगलादेशको अर्को प्रमुख उत्तरी सीमानाका बंगलाबन्धको दूरी पनि पचास किलोमिटर जति मात्रै छ । फूलबारीदेखि पानीट्यांकीसम्म नयाँ सडक बनेपछि त्यो दूरी अझै कम भएको हुनुपर्छ ।
भौगोलिक दृष्टिकोणले त्यति नजिकै जोडिएका ती चार मुलुकले सरल र सहज कनेक्टिभिटीको माध्यमबाट व्यापार, पारवहन, पर्यटनको क्षेत्रमा लाभ लिन सक्ने प्रचुर सम्भावना छ । तर झिनामसिना सोच र साना–ठूला स्वार्थका कारण ठूलो सम्भावना बोकेको बीबीआइएन उपक्षेत्रीय सहयोगको अवधारणाले मूर्त रूप लिन सकेको छैन । त्यसको ज्वलन्त उदाहरण हस्ताक्षरसमेत भइसकेको बीबीआइएन मोटर भेइकल सम्झौता भुटानको संसद्ले अनुमोदन नगरेका कारण त्यसै अलपत्र अवस्थामा छ । त्यस्तै पाँच वर्षअघि नै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको बंगलाबन्ध–फूलबारी नाकामा अझसम्म अध्यागमन पोस्ट सञ्चालनमा आउन सकेको रहेनछ ।
हामीलाई भने मेचीपुलको पूर्वीछेउमा अवस्थित भारतीय भन्सार, अध्यागमन पार गर्न खासै समस्या भएन, भलै सिलिगुडी, पानीट्यांकीतिर किनमेल गरी फर्किने नेपालीको लर्को भने लामै थियो । भन्सार अध्यागमन जाँचपछि ट्रली घिर्सादै हामी केहीबेर मेचीपुलमा हिँड्नुपर्ने भयो । पुलको बीच भाग–जिरो प्वाइन्ट पार गरी नेपाल भूमिमा प्रवेश गरेपछि ट्याक्सी, अटो, टेम्पोको त्यस्तै हारालुछ !
पाँच वर्षअघि मेचीपुलमा नेपालबाट फूलबारी–बंगलाबन्ध जाने ट्रकको लामो लाइन हुन्थ्यो । पुरानो जीर्ण पुलको केही माथि उत्तरी भागमा नयाँ पुल बनेपछि ट्रक र अन्य ठूला गाडीले त्यो पुल प्रयोग गर्दारहेछन् । पुरानो पुल यात्रुहरूको पैदल आवतजावत र ट्याक्सी, टेम्पोले यात्रु र सामान ओसारपसारका लागि प्रयोग हुँदो रहेछ । दुईतर्फी मानिसको भिडले पुरानो मेचीपुल हाटबजार जस्तै लाग्छ । हामी मेचीपुलबाट पैदल काँकरभित्ता छिर्दा त्यहा छिचोली नसक्नु भिड थियो । एकापट्टि लामबद्ध भएर पानीट्यांकी, सिलिगुडी जाने मानिसको लर्को अनि अर्कोतिर उताबाट घरायसी सामान किनमेल गरी फर्कनेको लाइन ।
नेपाल–भारत सीमावर्ती बजार चाहे सिलिगुडी, पानीट्यांकी होस् वा जोगबनी, रक्सौल, सुनौली, नौतनवा वा पश्चिमको गौरीफन्टा नै किन नहोस्, ती बजार नेपाली उपभोक्ताका कारण गुल्जार भएका हुन् । त्यसबाट बढी लाभ त भारतलाई नै भएको छ । खुला सिमानाको फाइदा नेपाललाई मात्र हैन, कति अर्थमा भारतलाई झन् बढी छ भन्ने तथ्य बुझ्न र बुझाउन उत्तिकै जरुरी छ ।
मेची नदी कोशी, नारायणी जस्तै ठूलो नदी होला भन्ने मेरी श्रीमतीले ठानेकी रहिछन् । पुलको बीच भागबाट हेर्दा मेची नदी विशाल बगरको कुना काप्चा छिचोलेर नागबेली हुँदै बगिरहेको थियो । यही हो त मेची नदी ? उनी जिल्ल परिन् । मैले उनलाई सम्झाएँ– हिउँदमा मेची नदी त्यस्तै हो । हामीले गर्मी मौसममा स्वाद मानी मानी खाने तर्बुजा खर्बुजा त्यही मेची बगरमा फल्ने त हो भनेर मैले गफ दिँदा उनी झन् जिल्ल परिन् । त्यसबेला मैले मेची नदीछेउको जंगे पिलरको प्रसंग पनि जोडेँ तर त्यो पिलर ठ्याक्कै कहाँ पर्छ, मलाई पनि थाहा थिएन ।
मेचीपुल तरेर काँकरभित्ता छिरेपछि उनी धेरै रमाइन् किनकि पहिलोपल्ट पूर्वी नाकाबाट नेपाल प्रवेश गरेकी थिइन् । काँकरभित्ताको भन्सार अध्यागमन पार गरेपछि हामीलाई सिधै भद्रपुर विमानस्थल पुग्नु थियो । त्यसका लागि पनि हामीले टाउको दुखाउनै परेन । हाम्रो अटोचालक भर्खरका युवा भाइले नै व्यवस्था मिलाइदिए । उनी बिहानी क्याम्पसमा स्नातक तहमा अध्ययन गर्दा रहेछन् ।
विमानमा हो कि अस्पतालमा– छुट्याउन गाह्रो जस्तो लाग्ने । उनीहरूले फेसन गर्ने दिन कहिले फिर्ला जस्तो लाग्थ्यो ।
दिउँसो अटो लिएर मेचीपुलबाट काँकरभित्तासम्म यात्रु ओसारपसार गर्ने काममा व्यस्त । ती फरासिला अटोचालक भाइले हाम्रा लागि पर्यटक गाइडको काम पनि गरे । त्यति मात्र नभई हामीलाई सुविस्तासँग भद्रपुर ट्रान्सफर गर्ने काम पनि उनले नै गरे । उनका बाबुछोरा नै अटो चलाउँदा रहेछन् । बाबु एकजना बिरामीलाई बिर्तामोड अस्पताल पुर्याई फर्कंदै रहेछन् । चारआली चोकमा भेट भइहाल्यो । छोराले हाम्रो जिम्मा बाबुलाई सुम्पे । हामी सुविधापूर्वक भद्रपुरतर्फ लाग्याँै ।
लगेज नहुँदो हो वा त्यही दिनको काठमाडौँको टिकट नकाटेको भए हामी पूर्व–पश्चिम राजमार्गको चारआली चोकबाट दक्षिण भद्रपुर नगई उत्तर मेची राजमार्ग समाती इलाम घुम्न जान्थ्यौँ होला । चारआलीबाट त्यहाँ पुग्न जम्मा चारघण्टाको बाटो त रहेछ । हामीलाई हुनु थकथकी लाग्यो । फेरि त्यस्तै मौका मिलेछ भने जाउँला भनेर चित्त बुझाइयो ।
अटोचालकले हामीलाई बेलैमा भद्रपुर विमानस्थल ल्याई पुर्याए । बेलैमा भन्दा पनि धेरै अगाडि । हामी केही घण्टा विमानस्थल अगाडिको बयरगाछी रेस्टुरेन्टको काठको बेन्चमा बिसायाँै । फागुनको अन्तिम हप्ता थियो । तराईमा गर्मी बढिसकेको थिएन । बयरको रुखको शीतल छहारीमा मन्दमन्द हावा चलिरहेको थियो । त्यो शीतल छहारीमा सुस्ताउँदा हाम्रो दिनभरिको यात्राको थकान कहाँ भाग्यो, भाग्यो ।
त्यसरी बेन्चमा सुस्ताउँदा अरु पनि नजानिँदो फाइदा भयो । काठमाडौँ जाने यात्रु र राजधानीबाट फर्केकाहरू चियानास्ताका लागि त्यहाँ छिरिरहन्थे । हामी बेन्चको एउटा कुनामा बसेर चुपचाप उनीहरूको चियागफ सुनिबस्थ्यौँ । एकजना युवकले राजधानीको क्लब कल्चरबारे यस्तो अनुभव सुनाउँदै थिए :
‘अरु त अरु, उदय सोताङ र मनिला सोताङजस्ता चर्चित गायक गायिकाले समेत गीत संगीतमा भविष्य नदेखेर आफैँ क्लब चलाइरहेका छन् । अहोरात्र क्लबमा आफैँ खटिन्छन् । ग्राहक, श्रोताहरूको मन राख्न कहिलेकाहीँ गाउँदा रहेछन् ।’
उनी उदय सोताङसँग नजिकका परिचित लाग्थे । राति उनकै क्लबमा बिताई मुखै नधोई आएका रहेछन् । किञ्चित आक्रोशित अनि निराशाजनक स्वरमा उनी भन्दै थिए :
‘जतासुकै छिचरा गीत संगीत र म्युजिक भिडियोको बोलवालाले गर्दा ‘आधी बाटो हिँडेपछि तिमीसँग भेट भयो’ जस्तो हृदयलाई झंकृत गर्ने गीतका गायक उनीहरू अहिले गुमनाम जस्तै छन् ।’
अर्को टेबलको वरिपरि फुटवल खेलाडी र प्रशिक्षकको एक ग्रुप थियो जुन टोली हाम्रै फ्लाइटमा काठमाडौँ जान प्लेन पर्खिरहेका थिए । उनीहरूको कुराकानीमा नेपालमा फुटबल खेलको खस्कँदो अवस्थाप्रति आक्रोश र निराशा दुवै झल्कन्थ्यो । उनीहरू स्वरमा स्वर मिलाइकन भन्दै थिए :
‘नेपालमा लिग स्तरीय फुटबल म्याचको फर्म्याटमा आमुल परिवर्तन नआउन्जेल मुलुकको फुटबल खेल अनि मोफसलका क्लबको भविष्य छैन । राजधानीमा हुने सहिद स्मारक लिग फुटबल प्रतियोगिताको ‘ए’ डिभिजनको खेलमा समेत चार–पाँच सय दर्शकको पनि उपस्थिति नहुनु जस्तो लज्जाजनक प्रर्दशन के हुन सक्छ र ? बरु झापा, मोरङ, पोखरा, बुटवल, नेपालगन्जमा आयोजना हुने फुटबल खेल हेर्न स्थानीय मात्र हैन, छिमेकी जिल्लाबाट समेत दर्शक ओइरिन्छन् । अब फुटबलको नेतृत्व मोफसलले लिएन भने यसको भविष्य छैन ।’
उनीहरूको आक्रोश र किञ्चित निराशा मिश्रित कुराकानीसँगैको बेन्चको एउटा कुनामा चुपचाप सुनी बसेको थिएँ । तर एउटा कुरा– उनीहरू कसैले पनि राजनीतिको ‘र’समेत उच्चारण गरेनन् । आजको पुस्ताको आकांक्षा र चाहना मुलुकको बागडोर सम्हाल्नेहरूले छाम्न नसकेको हुनाले त्यस्तो वितृष्णा जागेको हो कि ?
मेचीपुलदेखि भद्रपुर विमानस्थलसम्म आउँदा बाटोमा भेटिएका अटोचालकदेखि चिया पसले र विमानमा यात्रा गर्ने प्रायः सबैको अनुहारमा केही न केही हतार र हतास मनस्थिति मुखरित हुन्थ्यो । उनीहरू सबै जिन्दगीको भागदौडमा थिए । उनीहरूको त्यो हतारो कर्मक्षेत्रको गाडी सतात्ने हतार थियो अनि त्यो हतास गाडी छुट्ला भन्ने हतास ।
त्यस्तै हतार र हतासको चित्र विमानस्थलभित्र पनि देखियो । पाँचथरदेखि हतारहतार आएका चार जना युवकयुवतीको ग्रुप गाडीबाट आउँदा आउँदै दश मिनेट ढिलो हुन जाँदा प्लेन छुटेको थियो । उनीहरूमा पनि आक्रोश र हतासको भावना देखिन्थ्यो । उनीहरूले आफ्नो आक्रोश यसरी पोखे ः
‘ठूलाबडा माननीय, मन्त्रीको सवारी हुँदो हो त अरु यात्रीलाई तीन घण्टासम्म पनि कुराउँथे । हामी दौडादौड गर्दै आउँदा दश मिनेट पनि कुर्न नहुने ?’
त्यसमा प्लेनको गल्ती थिएन । उड्नुअघि अन्तिम समयसम्म माइकमा कराइरहेकै थिए । गल्ती भनौँ या सिस्टमको कमजोरी भनौँ– छुटेको यात्रुलाई भाडा समायोजन गरी सिट खाली भए अर्को प्लेनमा यात्रा गर्ने सुविधा हुनुपर्थ्यो । त्यही नभएर उनीहरूले रिस पोखेका थिए ।
हाम्रो प्लेन– बुद्ध एयर भने भनेकै समयमा आइपुर्यो अनि ठीक समयमा नै उड्यो । हामीलाई हतार गर्नु पनि परेन, हतास पनि हुन परेन । बिहान सात बजे दिल्लीबाट प्रस्थान गरेको, घुम्दै फिर्दै यात्रा गर्दा पनि साँझको सात बजे त घर आइपुगिहालियो । त्यो पनि कम्ता हो र ? नेपालको सुदूर पूर्वीनाका– मेचीपुलको बाटो हुँदै ।