क्रिकेट

तीन ‘क’ को संयोगः कीर्तिपुर, क्रिकेट र कीर्तिमान

सञ्जीव शाह |
चैत २०, २०७८ आइतबार १३:१२ बजे

काठमाडौँ – कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदान नेपाली क्रिकेट टिमका लागि कीर्तिमान बनाउने उत्कृष्ट थलो बनेको छ । मैदानमा नेपालले एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को कीर्तिमान बने ।

एकदिवसियमा सर्वाधिक रनदेखि टी–ट्वान्टीमा ह्यट्रिक विकेट लिने कीर्तिमान कीर्तिपुर मैदानमै बनेका छन् । एकै खेलमा सार्वधिक विकेट लिने कीर्तिमान पनि यही मैदानमा बनेको छ ।


यस हिसाबले हेर्ने हो भने कीर्तिपुर मैदान नेपाली क्रिकेटका लागि कीर्तिमान बनाउने उत्कृष्ट थलो बनेको छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले सर्वाधिक २८६ यही मैदानमा जोडेको छ । सन् २०२२ मार्च २५ मा नेपालले पपुवा न्यूगिनी (पीएनजी) एकदिवसियको सर्वाधिक रन जोडेको थियो ।

नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहित पौडेलको नाममा रहेको छ । यो कीर्तिमान कीर्तिपुरमै बनेको हो । पौडेलले मार्च २५ मा पीएनजीविरुद्ध १२६ रन जोड्दै उक्त कीर्तिमान कायम गरे ।

विकेटको हिसाबले नेपालले सर्वाधिक ८ विकेटको जित दर्ता गरेको छ, त्योपनि कीर्तिपुरमै । सन् २०२० फेब्रुअरी १२ मा नेपालले अमेरिकालाई यही मैदानमा ८ विकेटले पराजित गरेको थियो ।

दिपेन्द्र सिंह ऐरीले पनि आफ्नो पहिलो शतक कीर्तिपुरमै पुरा गरे । उनले पीएनजीविरुद्ध २०२२ मार्च २६ मा १ सय ५ रन जोडे ।

नेपाली टिमका कप्तान सन्दीप लामिछानेले नेपालका लागि एकदिवसीयमा ५० विकेट लिने  पहिलो बलरको कीर्तिमानै बनाएका छन् । उनले २०२२ मार्च २६ मा पीएनजीविरुद्ध ५० विकेट पुरा गर्दै उक्त कीर्तिमान कायम गरे । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो खेलाडी समेत बने । उनले २२ खेलमा ५० विकेट लिदा श्रीलंका अजन्था मेन्डीसले १९ खेलमै ५० विकेट लिएका थिए ।

नेपालका लागि एकदिवसीयमा सर्वाधिक १ सय २९ रनको साझेदारी पनि कीर्तिपुरमै बनेको छ । पीएनजीविरुद्ध २०२२ मार्च २६ मा देव खनाल र दिपेन्द्र सिंह ऐरीले १ सय २९ रनको साझेदारी गरे । सोही खेलमा दिपेन्द्र सिंह ऐरीले १ सय ५ रन जोड्दै एकदिवसीयमा पहिलो शतक प्रहार गरे ।

सन्दीप लामिछानेले एकै खेलमा सर्वाधिक ६ विकेट पहिलो पटक कीर्तिपुर मैदानमै लिएका थिए । उनले सन् २०२० को फेब्रुअरी १२ मा अमेरिकाविरुद्ध ६ विकेट हात पारेका थिए ।

यता टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पनि नेपालले कीर्तिपुरमा एकपछि अर्को कीर्तिमान कायम गरिरहेको छ ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियको ५० औं खेल नेपालले कीर्तिपुरमै खेल्यो ।  नेपालले ५० औं खेल पीएनजीविरुद्ध २०२२ मार्च ३१ मा खेलेको थियो ।

सोही खेलमा करण केसीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो ह्याट्रिक तथा पहिलो ५ विकेट लिने खेलाडी बन्न सफल भए । पीएनजीविरुद्ध नै करण टी–ट्वान्टीमा ५० विकेट पुरा गर्ने सन्दीप लामिछानेपछि दोस्रो खेलाडी समेत बने ।

अर्कोतर्फ टी–ट्वान्टी अन्र्तराष्ट्रियमा नेपालले एकै खेलमा सर्वाधिक २ सय ३८ रन बनाएको छ र त्यो पनि कीर्तिपुरमै ।

नेपालले २०२१ अप्रिल २४ मा नेदरल्यान्ड्सविरुद्ध ३ विकेट गुमाएर २३८ रन जोडेको थियो । नेपालले उक्त खेल १४२ रनले जितेको थियो । नेपालका लागि उक्त जित सर्वाधिक रनको जित पनि हो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियको एक अर्को कीर्तिमान दिपेन्द्र सिंह ऐरीको नाममा रहेको छ । दिपेन्द्र टी–ट्वान्टीमा नेपालका लागि एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । कीर्तिपुरमै मलेसियाविरुद्ध २०२२ मार्च २ मा अविजित १ सय १० रन जोड्दै दिपेन्द्रले उक्त कीर्तिमान बनाए ।

त्यसैगरी, कुशल भुर्तेलले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो ५ सय रन पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । उनले १२ खेलमै ५ सय रन पुरा गरे । जबकी यस अघि भारतका केएल राहुलले १३ खेलमा ५ सय रन पुरा गरेका थिए । उक्त कीर्तिमान पनि कीर्तिपुरमै बनेको छ । मार्च २८ मा पीएनजीविरुद्ध खेल्दै कुशलले विश्व कीर्तिमान बनाएका थिए ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x