क्रिकेट

युगाण्डाविरुद्ध नेपाल पराजित, सय रन पनि बनाउन सकेन

इकागज |
जेठ २, २०७९ सोमबार १६:१५ बजे

काठमाडौँ – पाहुना टोली युगाण्डाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल १२ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रनमात्र बनाउन सक्यो ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक १६ रन बनाउदा डोली भट्टले १३ रन जोडिन् । विन्दु रावलले १२ रन बनाइन् । कप्तान रुविना क्षेत्री ९, ज्योति पाण्डे ६, रोमा थापा ५, कविता जोशी ४ र अप्सरी वेगम १ रनमा आउट भए । विन्दु, ज्योति र इन्दु रन आउट भएका थिए । कविता कुँवरले ११ रन बनाइन् ।


युगाण्डाका लागि साराह अकिटेङ र कोन्सी अवेकाले समान २-२ विकेट हात पारे । रिता मुसामाली र जानेट मबाबाजीले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन जोड्यो । युगाण्डाका लागि जानेट मबाबाजीले सर्वाधिक २९ रनको योगदान गरिन् । केभिन अविनोले १५ र फ्रान्कलिन नाजुम्वाले १२ रन जोडिन् । रिता मुसामालीले १३ रन बनाइन् ।

नेपालका लागि कविता कुँवरले दुई विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एक-एक विकेट हात पारे ।

नेपाल र युगाण्डाबीचको दोस्रो खेल मंगलबार हुनेछ । नेपाल र युगाण्डाबीच ५ खेलको सिरिज आयोजना हुँदैछ ।


Author

थप समाचार
x