घटना-दुर्घटना

माइक्रो र बस ठोक्किँदा १३ जना घाइते

इकागज |
साउन २२, २०८० सोमबार २०:४६ बजे

वालिङ- स्याङ्जाको भिरकोट नगरपालिका–४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

काठमाडौँबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको बा३प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमबार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताए ।


घाइतेमध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ । माइक्रो चालक गल्याङ नगरपालिकामा बस्ने ४० वर्षीय पूरन बोहोरा र परिचय नखुलेका माइक्रो सहचालकलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ । 

दुर्घटनामा परी स्याङजा वालिङ २ की पबित्रा सोनाम, वालिङ ९ का दुर्गाबहादुर गुरुङ, वडा नं. २ की मुना गुरुङ, वडा १३ की मन्जु एस्के, वडा ८ की सरिता रेग्मी, भिरकोट घर भई वालिङ १ बस्ने मनसुभा नेपाली, चापाकोट ३ का बेदबहादुर थापा, चापाकोट ४ का मिनबहादुर सारु, पर्बतको बिहादी गाउँपालिका ४ का रुकमागत भुसाल, बिहादी ६ का टेकबहादुर बस्याल, वालिङ २ की सुमित्रा थापा मगर घाइते भएका छन् । सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको छ ।

भारतीय बसमा सवार ४८ जना सबै सकुशल रहेको प्रहरीको भनाइ छ । दुवै सवारी साधन र भारतीय बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x