दल

प्रतिगामी शक्तिलाई पराजित गर्न नसके लोकतन्त्रमाथि गम्भीर खतरा : बाबुराम भट्टराई

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १२:१६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए ।

उनले जनताका आकंक्षाहरू दिनप्रतिदिन बढिरहेकाले त्यसलाई पूरा गर्न गठबन्धन बनेको दाबी गरे । अध्यक्ष भट्टराईले मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिने उल्लेख गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गर्दै आफूले माओवादीसँग सहकार्य गरिरहेको बताए । ‘अहिलेको अवस्था विशिष्ट हो । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्‍यौँ । त्यसैभित्र लुकेर बसेका शक्तिहरूले संविधानलाई उल्ट्याउने दुष्प्रयत्न गरे । तिनलाई अघि सारेर प्रतिगामी शक्ति, राजावादी शक्तिले बोकेर यो संविधानलाई धरापमा पार्ने प्रयत्न गरे,' उनले भने, 'त्यसकै विरुद्धमा यो गठबन्धन हो । यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ । ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई समय र छुट छैन ।’


अध्यक्ष भट्टराईले आफ्नो लक्ष्य नेपालीको विकास, समृद्धि र खुशीयाली भएको दाबी गरे । 


Author

थप समाचार
x