दल

इकागज टिप्पणी

प्रचण्डको घुर्कीले देउवामाथि दबाब

इकागज |
पुस १०, २०७९ आइतबार ९:२२ बजे

काठमाडौँ - प्रधानमन्त्रीका लागि दाबीसहित सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक हप्ताको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले दिएको समयसीमा सकिँदै गर्दा यतिबेला मुलुकको नयाँ प्रधानमन्त्री को बन्ने ? भन्ने विषय चासो र चर्चामा छ ।

सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेका बेला प्रधानमन्त्रीका लागि शेरबहादुर देउवा र प्रचण्डबीच रस्साकस्सी चलिरहेको छ । शनिबार र त्यसअघिका बैठकमा प्रचण्डले आफैँ प्रधानमन्त्री बन्नुपर्ने नभए देशमा फेरि राजनीतिक दुर्घटना निम्तिने चेतावनी दिइसकेका छन् ।


त्यो चेतावनी केवल उनकै लागिसमेत प्रत्युत्पादक हुन सक्ने भए पनि सत्ता र स्वार्थका लागि प्रचण्ड राम्रैसँग घुर्की लगाउन सक्छन् उदाहरण पनि देखाएका छन् ।  

बालुवाटार प्रचण्डलाई व्यवस्थापन गर्नुपर्ने सबैभन्दा पेचिलो अवस्थामा छ । देश मध्यावधिमा जान सक्ने सम्भावना यथार्थ रहेका बेला प्रचण्ड आफू पहिला प्रधानमन्त्री नभए फेरि प्रधानमन्त्री नै बन्दिनँ कि भन्ने पिरलोमा छन् ।

पाँच वर्षअघि आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धोका खाएपछि प्रचण्ड यतिबेला देउवामाथि आफू पहिल्यै प्रधानमन्त्री बन्नुपर्ने दबाब बढाइरहेका छन् ।

अन्यथा, सत्ता गठबन्धन आफूले छाडेर एमालेसँग तालमेल गरिदिने चेतावनी प्रचण्डले दिएका छन् । यद्यपि पोखराको नेपाल लिटरेचर फेस्टिभलमा वक्ताका रुपमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताइसकेका छन् ।

अर्थात, प्रचण्डले सत्ता गठबन्धन छाड्न नसकेकाले अब एमालेले उनलाई प्रधानमन्त्री बनाउन नसक्ने खुलासा ओलीले पोखराबाट गरेका छन् । तर पनि प्रचण्ड एमालेलाई देखाउँदै घुर्की लगाउन छाडेका छैनन् ।

प्रचण्डको घुर्कीले देउवामाथि दबाब बढेको छ । त्यो दबाब यति धेरै छ कि प्रचण्डलाई प्रधानमन्त्री नबनाए उनले जतिबेला पनि धोका दिन सक्ने चिन्ता देउवामाथि छ ।

प्रचण्डको लगातारको घुर्की र अस्थिर नेताको छविलाई समयमै बुझेर निर्णय लिनुपर्ने बाध्यतामा देउवा छन् । आफूनिकट केही नेता कार्यकर्तासँग देउवाले आफ्नो चाहना भए पनि लगातार घुर्की लगाइरहेका कारण राजनीतिक जोखिम घटाउन पहिलो चरणमा प्रचण्डलाई छाडिदिनुपर्ने निष्कर्षमा रहेको बताइसकेका छन् । 
तर कांग्रेस नेता कार्यकर्ता भने देउवाकै नेतृत्वमा सरकार बन्नुपर्नेमा जोड दिइरहेका छन् । स्पष्ट बहुमत नभएका कारण पहिलो पार्टीको बनेको हैसियतमा पनि देउवालाई सबै मिलाएर लैजानुपर्ने बाध्यता छ ।
 
यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार बनाउने कि घुर्की लगाउने प्रचण्डलाई प्रधानमन्त्री बनाउने भन्ने दबाबमा देउवा छन् । बालुवाटारमा शनिबार बेलुकीसम्म तीन जना आलोपालो प्रधानमन्त्री बन्ने सहमति बनिसकेको चर्चा छ ।

सुरुमा जसले नेतृत्व गरे पनि देउवा, प्रचण्ड र माधव नेपालले पाँच वर्षमा सरकार चलाउने सम्भावना सत्ता गठबन्धनको राजनीतिक सहमति देखिन्छ । तर जसले पहिला नेतृत्व गरेको हो, उसैले पाँच वर्ष सत्ता गठबन्धनकै सरकार निश्चित गर्ने सम्भावना रहेकाले पनि बालुवाटारमा देउवाको प्रचण्ड प्रवृत्तिप्रति थप गम्भीर भएर सोच्नुपर्ने बाध्यता छ ।

अन्यथा चुनावमा दुईपटक संसद् विघटन गरेका ओली प्रतिगमनविरुद्ध बनाएको सत्ता गठबन्धन र यसपटकको चुनावमा हासिल गरेको औषत बहुमत पाँच वर्ष सरकार चलाउन नसकेर मध्यावतिमा जानुपर्ने अवस्था आए फेरि जनतामा देउवा, प्रचण्ड र माधव नेपालप्रति नै नैराश्यताको चरम अवस्था देखिनेछ ।


 


Author

थप समाचार
x