दल

माओवादीले केन्द्रीय कमिटीमा रुपान्तरण अभियानको समीक्षा गर्ने

इकागज |
माघ २७, २०८० शनिबार १९:१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले पार्टीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने भएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानमा बारेमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समीक्षा र दोस्रो दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।


बैठकमा नेतृत्व चयनका प्रक्रियाका साथै अन्य पार्टी भित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा छलफल भएको उनले बताए ।

बैठकमा जनवादको उत्तम अभ्यास भएको र सबै विषयमा स्थायी कमिटी सदस्यहरूले खुलेर कुरा राखेको प्रवक्ता सापकोटाले उल्लेख गरे । प्रवक्ता सापकोटाले विधान सम्मेलनमा १३ सय प्रतिनिधिहरूको कुरा सुनेर विधानलाई अन्तिम रूप दिने बताए ।

त्यस्तै बैठकमा संविधान अनुसार पार्टीको विधि संरचना लगायतलाई त्यस अनुरूप लैजाँदै अघि बढ्नुपर्नेमा नेताहरूले जोड दिएका थिए । माओवादीले केन्द्रीय कमिटी माघ २८ र २९ गते र फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलनको आयोजना गरेको छ ।  


Author

थप समाचार
x