राजनीति

२ बजे ओली-नेपालबीच निर्णायक वार्ता : ओली गले मात्रै मिल्‍ने नेपाल समूहको निष्कर्ष

इकागज |
बैशाख ९, २०७८ बिहीबार १३:१ बजे

काठमाडौँ : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुधबार पौने दुई घण्टा छलफल भयो । नक्सालस्थित होटल मेरियटमा चार महिना पानी बाराबारको स्थितिमा पुगेका ओली र नेपालबीच मन माझामाझ त भयो तर बिनानिष्कर्ष बैठक सकियो ।

छलफलमा ओली र नेपालले आ-आफ्‍ना राजनीतिक विषय राखे । उनीहरूबीच पछिल्‍लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको विवादबारे छलफल भयो । एमाले फुटेरभन्दा पनि जुटेर जानुपर्ने ओली र नेपाल दुबै सहमति भए । तर नेता नेपालले २०७५ जेठ २ गतेअनुसार नै पार्टी चल्‍नुपर्ने प्रस्ताव ओलीलाई राखे । प्रस्ताव राखेर केही समय कुरा गरेपछि अब भोलि २ बजे फेरि बैठक बसौँ भन्दै निस्किए ।


'पार्टीको विवाद मिलाउन हामी पनि तयार छौँ' नेपाल निकट एक नेताले इकागजसँग भने 'तर ओलीजीहरू पनि तयार हुनुपर्‍यो नि । ओलीले पार्टीमा जे मन लाग्यो त्यही गर्नुभएको छ । पार्टी त विधिअनुसार चल्‍नुपर्‍यो नि । माओवादी केन्द्रसँग एकता हुनुअघि जेठ २ गते अनुसार ओली चले हामी मिल्छौँ ।' उनका अनुसार ओली समूहले एकलौटी रुपमा माओवादीबाट एमालेमा आएका रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतलाई जे पद दिइएको छ त्यो खारेज हुनुपर्नेलगायत प्रस्ताव नेपालले राखेका छन् ।

ती नेताका अनुसार बिहीबार (आज) बिहान नेपाल समूहका मुख्य नेताहरूको बैठक बसेको थियो । बैठकले ओली गलेर जेठ २ कै अवस्थामा पार्टी सञ्‍चालन गरे मात्रै मिल्‍ने निष्कर्ष निकालेको उनले बताए । नेता नेपाललाई बैठकमा सहभागीहरूले ओली गलेर बैठकमा प्रस्तुत भए मात्रै मिल्‍न सुझाव दिएका छन् ।

ओलीले एकलौटी रुपमा फागुन २८ गते बैठक बसेर माओवादी केन्द्रबाट आफ्नो समूहमा उभिएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेपछि एमालेभित्रको विवाद चर्कियो । त्यसपछि अनुशासनविपरीत गतिविधि गरेको भन्दै ओलीले चैत १६ गते नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बनको निर्णय गरेका थिए । नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेर ओलीको कदमविरुद्ध पछि नहट्ने निष्कर्ष निकालेको थियो ।


Author

थप समाचार
x