राजनीति

बागमती प्रदेशको सबै जिल्लामा आजैबाट गणना हुने

खुल्दै ब्यालेट बक्स, सार्वजनिक हुँदै उम्मेदवारको मुल्यांकन

इकागज |
मंसिर ५, २०७९ सोमबार ८:४१ बजे

मकवानपुर - मतदाताहरूले अथाह आशासहित गरेको अमुल्य मतदानको बाकस अबको केही बेरमा खुल्दै छ । पटकपटक संसदीय अभ्यासमा आएका, नयाँ पुस्ता तथा दल र स्वतन्त्र व्यक्तिलाई मतदाताले कत्तिको पत्याए, उनीहरूले बिगत गरेकी संसदीय अभ्यास फेरि दोहोर्‍याउन पाउने वा अब ब्याक हुने, दलका व्यक्तिले चान्स पाउने वा स्वतन्त्रले, अथवा युवाले देशको बागडोर सम्हाल्ने वा पाकापुस्ता नै पुनः  संसद् पस्ने भन्नेबारे जनमतको नतिजा अब सुरु हुनेछ ।

जनमतको नतिजाको व्यग्र प्रतीक्षामा रहेका आममतदाता र सर्वसाधारणको कौतुहलको विषय अब बिस्तारै खुल्दै जाने छ । जब जनमतको ब्यालेट बकस खुल्ने छ र गणना सुरु हुनेछ ।


बागमती प्रदेशको सबै जिल्लाहरूमा मतपेटिका संकलन काम भैरहेको प्रदेश निर्वाचन कार्यालय बागमती हेटौंडाले जनाएको छ ।

हिमाली र पाहाडी जिल्लाको बाहुल्यता रहेको बागमती प्रदेशमा भौगोलिक रूपमा विकट रहेका स्थानहरूको मतदानस्थलहरूबाट मतपेटिका गणना स्थलसम्म ल्याउन समय लाग्ने भएकोले आज मध्याह्नसम्म मतपेटिका संकलन सकिने र गणना कार्य सुरु हुने प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलले बताए ।​ 'विकटका ब्यालेट जिल्ला सुरक्षा योजना मुताविक ढुवानी गर्नुपर्ने हुन्छ,साथै निर्वाचन निर्देशिकालाई पनि फलो गर्नुपर्ने हुन्छ,त्यसै अनुसार काम हुँदैछ,' पोखरेलले भने ।

बागमती प्रदेशको सबै जिल्लाहरूमा हिजो सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपछि मतपेटिका संकलनमा सुरक्षा संयन्त्रलाई रातभर खटाइएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा गत स्थानीय तहको निर्वाचनमा जस्तो मतदातामा उल्लास नभएन । गत स्थानीय तहको तुलनामा यस चुनावमा दलहरूले भन्दा स्वतन्त्र उम्मेदवारहरूले नतिजामा फरकपना ल्याउन सक्ने आंकलन विश्लेषकहरूले गर्न थालेका छन् ।

बागमती प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशको १३ जिल्लामा औसत ५८ प्रतिशत मात्रै मत खसेको छ ।

बागमतीमा सबै मतदान स्थलहरूमा सुरक्षा व्यवस्था बलियो भएका कारण कहीँ अप्रिय घटना नभएको प्रदेश प्रहरीले जनाएको छ । मतपेटिका संकलन क्रममा पनि कुनै समस्या नभएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशको बिकट स्थानमा रहेका, संचार र यातायात सम्पर्क कठिन भएका कारण अतिसंवेदनशील र संवेदनशील सूचीमा रहेका मतदान स्थलहरूको मतपेटिका पनि बलियो सुरक्षा घेराको बिचमा गणना स्थलमा ल्याउने क्रम जारी छ ।

प्रदेश निर्वाचन कार्यालय बागमतीका अनुसार यस प्रदेशको १३ जिल्लामा ३४ लाख १२ हजार ८ सय ३९ जना मतदाताहरू रहेका छन् ।
जसमा अन्य समूदायका २९ जना मतदाताहरू रहेका छन् भने महिला १७ लाख ७ हजार ९ सय ४२ जना रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालय बागमतीका प्रमुख पोखरेलका अनुसार रामेछाप जिल्लाबाट ५० प्रतिशत, सिन्धुली जिल्लाबाट ५३, काभ्रे जिल्लाबाट ६०, सिन्धुपाल्चोक जिल्लाबाट ५५, रसुवा जिल्लाबाट ७४, नुवाकोट जिल्लाबाट ५३, धादिङ जिल्लाबाट ५०, चितवन जिल्लाबाट ६१ प्रतिशत, काठमाडौ जिल्लाबाट ६०, भक्तपुर जिल्लाबाट ७०, ललितपुर जिल्लाबाट ६१, मकवानपुर जिल्लालाबाट ५५ प्रतिशत मत खसेको छ ।  दोलखा जिल्लाबाट राती अबेर ५१ प्रतिशत मत खसेको भन्ने जानकारी आएको पोखरेलले बताए ।

यता मकवानपुर जिल्लाको सबै मतदान स्थलबाट मतपेटिका गणना स्थलमा ल्याइसकिएको छ ।  जिल्लाको बिकटका १९ वटा मतदान स्थललाई अति संवेदनशील र ६० वटालाई संवेदनशील सूचिमा राखिएको थियो,यद्यपि ती क्षेत्रहरूबाट पनि शान्ति रूपमा मतपेटिका संकलनको काम सकिएको छ ।

सबै मतदानस्थलहरूमा सुरक्षा व्यवस्था बलियो बनाइएको र मतपेटिका संकलनको लागि निर्वाचन निर्देशिका र सुरक्षा योजना अनुसार हेटौंडा २ स्थिति सिद्धार्थ माविमा ल्याइएको छ । 

सिद्धार्थ माविमा मकवानपुरको मतगणनाको लागि ४ वटा कोठामा तारजाली र सिसिभिटी क्यामरा जडान गरि तयारी अवस्थामा राखिएको छ ।

अहिले बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको र बैठकको निर्णयपछि गणना सुरु गरिने मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए । 


Author

थप समाचार
x