राजनीति

अनिष्टका संकेतहरू देखिए, आन्दोलनमै जानुपर्ने अवस्था आउन सक्छ : दाहाल

बिक्रम खड्का |
फागुन २८, २०७७ शुक्रबार १३:१८ बजे

बुटवल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आन्दोलनबाट प्राप्त उपलव्धी गुम्ने खतरा बढेको बताएका छन् । दाहालले परिवर्तनविरुद्ध षड्यन्त्र भई रहेको भन्दै आन्दोलनका लागि तयार रहन आग्रह समेत गरे ।

उनले देशी विदेशी षड्यन्त्रकारीहरूले परिवर्तन उल्टाउन प्रयत्न स्वरुप आफूमाथि निरन्तर प्रहार गरी रहेको समेत बताए । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पछिल्लो केही समय यता देशमा परिवर्तनलाई उल्ट्याउन, अनिष्टकारी घटना निम्त्याउन खोजिएको बताए । दाहालले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको बताए । ‘संविधानमा नपुगेका कुरालाई थप गर्दै लैजाने कि अहिलेका उपलब्धीलाई हत्या गर्ने भन्ने बहस जारी छ,’ उनले भने ।


दाहालले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउन प्रयास भइरहेको बताए । उपलब्धीलाई कुल्चिने प्रयास भए, ७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने प्रयत्नविरुद्ध फेरि एकपटक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्ने उनले  जनाए । उनले भने, ‘अहिले विश्वभर चलिरहेको छ कलरफुल रिभोलुसन, क्रान्तिलाई पूरा गर्न नेपालमा पनि शान्तिपूर्ण कलर रिभोलुसन आवश्यक रहेको छ । परिवर्तन उल्ट्याउन खोज्नेहरूविरुद्ध शान्तिपूर्ण क्रान्ति गरिन्छ ।’

दाहालले सर्वोच्च अदालतले हालै नेपाल कम्युनिष्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै जन्मिसकेको बच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी समेत गरे । उनले भने, ‘यस्तो अचम्म पनि हुँदोरहेछ , यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ठ त हुँदैछैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x