राजनीति

पाँच महिनामा कर्णाली सरकारको उपलब्धि

सडक कालोपत्रेदेखि जडिबुटी खेतीसम्म

लक्ष्मी भण्डारी |
बैशाख ७, २०७९ बुधबार १९:२३ बजे

सुर्खेत – कर्णाली प्रदेश सरकारले आफ्नो पाँच महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले पत्रकार सम्मेलन गरी पाँच महिनाको अवधिमा गरेका प्रगतिहरुको विवरण सार्वजनिक गरेको हो ।

कार्यक्रममा शाहीले हालसम्म प्रदेश भर ११.५ किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । मुख्य मन्त्री शाहीका अनुसार प्रदेश भरी एक सय ७० किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ भने ३० किलोमिटर सडक स्तरोन्नती साथै सात वटा सडक पुल बनेका छन् । 


यस्तै, जनता आवास कार्यक्रम अन्तर्गत यस अवधिमा कुल छ सय १३ आवास निर्माण सम्पन्न भएका छन् भने नौ सय ७० इकाई निर्माण कार्य सम्झौता भई कार्यान्वयनमा रहेका छन् । थप दुई सय घरधुरी जनता आवास कार्यक्रम अन्र्तगत र विपन्न आवास कार्यक्रममार्फत दुई सय गरेर ४०० घरधुरी विपन्न परिवारको घर निर्माणका लागि छनोट प्रक्रियामा रहेका मुख्यमन्त्री शाहीले जानकारी दिए ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ जारी गरी नियमावली तर्जुमाको प्रक्रिया अगाडि बढाउनुको साथै विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत र अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालहरुमा पठाइएको मुख्यमन्त्री शाहीले बताए । 

त्यसैगरी प्रदेशभरका ६६ वटा सामुदायिक स्वास्थ्य इकाई पुर्नस्थापना भएर स्थानीय तहमार्फत कार्य सुचारु भएका छन् । प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश रंगशालाको ट्रयाक र फिल्डको काम ५० प्रतिशत सम्पन्न हुनुको साथै अन्तर्राष्ट्रिय भलिवल कवर्ड हलको जग निर्माणको काम भइरहेको छ ।

कर्णाली प्रदेशका १० वटै जिल्लामा ८१ वटा खेल मैदान निर्माण सुरु गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिए । त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७९ वटै पालिकामा चार सय कक्षा कोठा भवनहरु निर्माण भइरहेका छन् ।

‘चालू आर्थिक वर्षमा कर्णालीका एक हजार दुई सय ३९ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नुका साथै १० हजार २८६ बराबर स्वरोजगार बनेका छन्’ शाहीले भने, ‘चक्लाबन्दी कार्यक्रममार्फत एक हजार दुई सय पाँच रोपनीमा आलु,बदाम,स्याउ,ओखर र किवी उत्पादन सुरु भएको छ ।’

त्यसैगरी मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रममार्फत कार्यक्रमको लागि ७९ वटा पालिकामा महिला सहकारीलाई जगेडा कोषमार्फत पुँजी परिचालन गरिएको उनले बताए ।

जाजरकोट र दैलेखमा मकै मिसन कार्यक्रम, मार्सी धान प्रवद्र्धन कार्यक्रम, भटमास र रैथाने बाली प्रवद्र्धन कार्यक्रम तथा चैते धानको क्षेत्र विस्तार कार्यक्रम लागू गरिएको छ । ‘सल्यान, दैलेख, जाजरकोट र सुर्खेतमा ४ वटा ईलाका प्रहरी भवन निर्माण सम्पन्न भएका छन्’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।’

जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्ति आन्दोलनका शहिद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्ति आन्दोलनका घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि १५ करोड रुपैयाँ स्थानीय तहमा पठाइएको छ । कर्णालीका १० वटै जिल्लाका ८० देखि एक सय घरधुरीलाई विद्युतीय ऊर्जामा पहुँच पुर्‍याउन ‘वस्ती उज्यालो कार्यक्रम’ कार्यान्वयन भइरहेको शाहीले जानकारी गराए । 

यो अवधिमा १९ वटा मन्त्रिपरिषद् बैठक बसेर ६१ वटा निर्णयहरु भएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमबाट १२ वटा नवप्रवर्तनकारी स्थानीय तहका प्रस्तावहरू लगानीका लागि छनौट गरिएका छन् । जडिबुटी विकास कार्यक्रम अन्र्तगत प्रदेशका विपभन्न जिल्लामा पाँच सय हेक्टर क्षेत्रफलमा जडीबुटी खेती सुरु गरिएको मुख्यमन्त्री शाहीले जानकारी गराए । 

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि नेपाली, चिनियाँ र अंग्रेजी भाषामा वेभसाइट निर्माण गरिएको छ । यो अवधिमा करिव तीन सय जनालाई उद्यमशीलता तालिम दिएर रोजगार बनाइएको उनले बताए । 


Author

थप समाचार
x