कोशी

कोशीका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिँदै

इकागज |
असोज १९, २०८० शुक्रबार १८:१२ बजे

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि असोज २० गते विश्वासको मत लिने बताएका छन् ।

मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लागेको बताएका हुन् । उनले विश्वासको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताए ।


कार्कीले विश्वासका मत लिने तयारी गरिरहँदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले बताएका छन् । उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा अर्को व्यवस्था अनुसार बहुमत सदस्यको हस्ताक्षरसहित गठबन्धनको सरकार बनाएर नै जाने बताए ।

निर्वाचनमा सहकार्य गर्दै र नेकपा एमालेसँग सत्ता साझेदार गर्दै आएको राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि नेकपा एमालेले बहुमत पुर्याउने भएमा समर्थन गर्न सकिने यसअघि नै बताएका थिए । यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए । तर, यस पटक उपसभामुखले मत हाल्न नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै रहनेछ । त्यसका लागि गठबन्धन दल नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ मत रहेका कुनै एक दललाई आफूतिर तान्नु पर्ने बाध्यता रहेको छ । जसपाको १ मत तानेर पनि एमालेले विश्वासको मत पुर्याउन नसक्ने अवस्था रहेको छ ।


Author

थप समाचार
x