गण्डकी

बेनीमा  परम्परागत ‘बर्खे नाच’ प्रदर्शनी

इकागज |
भदौ ५, २०८० मंगलबार ६:५४ बजे

बेनी- म्याग्दी सदरमुकाम बेनीमा परम्परागत बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेिख नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । बेनीमा विशेषगरी नेवार समुदायका अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म विभिन्न नाचहरु देखाइने यस बर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ  ।
 
बर्खेनाच अन्तर्गत सोमबारदेखि बेनीमा लाखे नाच देखाउन सुरु भएको छ । नागपञ्चमीको दिनदेखि लाखेनाच देखाउन थालिएको नेपाल भाषा मंका : खल : ले जनाएको छ । मंका खल अन्तर्गतको युवाहरुको समूह ल्याम : पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ । यस बर्ष लाखे, घोडा, गोरु, रोपार्इँ, नागानागीनी, धानको बाला र जोगी नाच देखाइने भएको छ । 

परम्परागत रुपमा देखाइदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको ल्याम पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको बर्खेनाचमा करिब एक दशक बढी समयपछि धानको बाला  नाच देखाउन लागिएको हो । 


मंका : खल: ले दुई सय बर्ष पुरानो बर्खेनाचको निरन्तरताको लागी नयाँ कलाकारहरुलाई तालिम दिने गरेको छ । नाचका विभिन्न नाचहरुमा ४० जनासम्म कलाकारहरु सहभागी हुने गर्छन् । आधुनिकताको प्रभाबले मौलिक र रैथाने संस्कृतिहरु लोप हुँदै गैरहेको सन्दर्भमा यहाँ सो समुदायले बर्खेनाचलाई जीवन्त राखेका छन् । 

बर्खेनाचका दर्जनौँ नाचहरु लोप हुने अवस्थामा पुगेको सन्दर्भमा युवाहरुको जागरणले संरक्षण र संवद्र्धनमा टेवा पुगेको नेपाल भाषा: मंका: खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । यस बर्ष पनि युवाहरुलाई आवश्यक तालिम र परामर्श दिएर व्यवस्थित गराउने प्रयास गरिएको उहाँले जानकारी दिए । 

बर्खेनाच यहाँका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेपनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणको लागि अन्य समुदायको समेत सहभागीता हुन थालेको छ । बर्खे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबै जसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ  । 

खासगरी लाखे नाचमा परापूर्व कालमा समाजमा दु:ख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । नागानागिनी नाच भने जनैपूर्णिमा पर्वदेखि दुईदिन बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा  देखाउने चलन छ  ।

बर्खेनाच अन्र्तगत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने चलन छ । रासस


Author

थप समाचार
x