समाज

दिक्‍क अभिभावक

अनलाइन कक्षा : विद्यार्थीले शिक्षिकालाई अश्‍लील म्यासेज पठाएपछि...

सृजना खड्का |
मंसिर १०, २०७७ बुधबार ८:५१ बजे

काठमाडौं : कक्षा चारमा पढिरहेका रेवन राईले अनलाइन कक्षा लिन थालेको पाँच महिना भयो । कोभिड-१९ ले स्कुलहरू बन्द भएसँगै उनी अध्ययनरत  स्कुलले ‘अनलाइन क्लास’ लिने निर्णय गरको थियो । काठमाडौँ, धुम्बाराहीमा रेवन आफ्नी आमा अनिमासँग बस्छन् । अनिमा सरकारी जागिरे हुन् । छोरालाई दिनभरी सासु-ससुरासँग छाडेर उनी अफिस जान्छिन् । उनका श्रीमान् एक गैरसरकारी संस्थामा काम गर्ने भएकाले परिवारसँग खासै बस्न पाउँदैनन् ।

अनिमा छोराले अनलाइन कक्षाबाट पढिरहेकोमा खुसी थिइन् । अनलाइन कक्षा पढ्न उनले छोरालाई ल्यापटप पनि किनिदिएकी थिइन् । ‘अलि ठूलो भएपछि किनिदिन्छु भन्ने सोचेको थिएँ,’ उनले भनिन्, ‘अनलाइन कक्षा हुने भएपछि जहिले किने पनि किन्दिनु परिहाल्छ भनेर किनिदिएँ ।’


ल्यापटप किनेपछि रेवनले फेसबुक खोले । स्कुल जान नपाए पनि साथीहरूको न्यास्रो फेसबुकमा कुरा गरेर मेटोस् भनेर अनिमाले केही भनिनन् । उनले आफ्ना मनपर्ने साथीदेखि स्कुलका सर मिस सबैलाई साथी बनाए । छोराले अनलाइन कक्षाको नाममा इन्टरनेटको दुरुपयोग नगर्नेमा ढुक्क थिइन्, अनिमा । आफूभन्दा टेक्नोलोजीमा छोराले धेरैकुरा जानेको हुनाले यसको सदुपयोग र दुरुपयोगको बारेमा सम्झाउने आवश्यकता उनले ठानिनन् । एकदिन बिहानै रेवनकी एक जना मिस रेवनलाई खोज्दै आइन् । उनले मोबाइलको म्यासेज रेवनकी आमा अनिमालाई देखाउँदै भनिन्- ‘यो मलाई तपाइँको छोराले पठाएको म्यासेज हो ।’

त्यतिबेला अनिमा तीन छक परिन् । रेवनले उनकी मिसलाई अस्लिल फोटो र भिडियो पठाएका थिए । अनिमाले तुरुन्तै रेवनलाई बोलाएर उसको मोबाइल चेक गरिन् । तर, यताबाट सबै म्यासेज डिलिट गरिसकिएको उनले पाइन् । ‘मिसले ‘यो म्यासेज लिएर म तपाइँको छोरा कुन बाटोतिर लागिरहेको छ भनेर देखाउन आएको’ भन्नुभयो,’ अनिमाले भनिन्, ‘म त रातोपिरो भएँ । धन्न मिस प्रहरीकहाँ पुग्नु भएन । त्यो दिनदेखि मैले ल्यापटप नै खोसेर राखिदिएको छु ।’

केन्द्रीय साइबर ब्यूरोका एसपी पशुपति रायले पछिल्लो समय १६ वर्षभन्दा कम उमेरका बालिकालिकाहरू साइबर अपराधमा संलग्न भएको बताए । अनलाइन कक्षाको नाममा धेरैले इन्टरनेटको दुरुपयोग गरिरहेको घटना आएकाले उनले सम्पूर्ण अभिभावकलाई सतर्क रहन सुझाव दिए । ‘आफ्ना बालबालिकाले साच्चै पढिरहेका छन् कि अन्य क्रियाकलापमा संलग्न भइरहेका छन् ध्यान पुर्‍याउनुपर्छ,’ उनले भने, ‘अनलाइन कक्षामा डिस्टर्ब हुन्छ भनेर उनीहरूलाई कोठामा चुकुल लगाएर बस्ने दिने मात्रै होइन । उनीहरूले गर्ने क्रियाकलापमा पनि बेला-बेला निगरानी गर्नुपर्छ ।’

उनीहरू अनावश्यक साइटमा जान नपाउन् भन्नका लागि विभिन्न उपाय अपनाउन सकिने उनले बताए । त्यसको लागि ‘सेफ नेट’ राख्न उनले सुझाए । ‘सेफ नेटले बालबालिकालाई अनावश्यक साइटमा जान दिदैन,’ उनले भने, ‘बालबालिकाले कोसँग कस्तो कुराकानी गरिरहेका छन् भनेर उनीहरूको एक्टिभिटी लग र च्याट हिस्ट्री बेला-बेलामा चेक गर्नुपर्छ ।’

त्यस्तै, अभिभावकहरू बालबालिकासँग खुलेर प्रस्तुत हुनेपर्ने समेत उनले बताए । ‘कतिपय अभिभावकहरू आफू मोबाइल र ल्यापटपमा अनेकथरी पासवर्ड राखेर बालबालिकासँग पारदर्शी हुँदैनन्,’ उनले भने, ‘तर, बालकालिका परदर्शी होऊन् भन्ने चाहन्छन् । तर, ठूलाको सिको गरेर बालकालिकाहरू पनि नचाहिने कुरामा पनि गोपनियता कायम गर्न थाल्छन् ।’

अनलाइन कक्षा हुन थालेपछि धेरै बालबालिकाहरू साइबरसम्बन्धि झमेलामा फसेर प्रहरी चौकी धाइरहनुपर्ने अवस्था आएको एसपी रायले बताए । ‘आफ्ना छोराछोरी साइबर अपराधमा फसेर प्रहरीकोमा आउनुभन्दा पहिला नै अभिभावकले ध्यान पुर्‍याउनुपर्छ,’ उनले भने, ‘साइबर अपराधमा कानुन कडा हुँदै गइरहेको छ । पहिला जस्तो धरौटीमा कमै बालबालिका छुट्छन् । गल्ती गरेको बालकालिकालाई सिधै सुधार गृह पठाउने गरिएको छ ।’

मनोविद् करुणा कुँवरले पनि अनलाइनमार्फत् बालबालिकाहरू जानी नजानी अपराधिक क्रियाकलापमा लागिरहेको बताइन् । अनलाइन कक्षाको नाममा अनलाइनको दुरुपयोग बढिरहेको जानकारी उनले दिइन् । ‘अनलाइन कक्षाको नाममा सोसल मिडियाका ‘एडिक्सन पनि एकदमै बढ्दै गइरहेको छ,’ उनले भनिन्, ‘समाजिक सञ्जाल के हो भन्ने थाहा नहुनले लाइक र कमेन्टको लोभमा जस्तो पनि फोटो र भिडियोहरू अपलोड गरिरहेका छन् । पछिल्लो समय निकिशा श्रेष्ठको घटनामो भएको पनि यहि हो ।’

मनोविद कुँवरकहाँ अहिले एकजना बालिका काउन्सिलिङको लागि आएकी छिन् । जोे १६ वर्षसमेत पुगेकी छैनन् । अनलाइनबाटै उनको एकजना अनजान युवकसँग अफेयर चल्यो । परिवारले थाहा पाएपछि उनलाई मोबाइल र ल्यापटपबाट टाढा राखिएको छ ।

मोबाइल र ल्यापटपबाट टाढा राख्दा डिप्रेस्ड हुँदै गएपछि उनलाई कुँवरकहाँ ल्याइएको हो । ‘आफ्नो कुरा कसैले नबुझ्ने भन्दै उनले आफूलाई आत्महत्याको समेत सोच आएको उनले बताएकी छिन्, कुँवरले भनिन्, ‘एउटा अध्ययनले दिनमा छ घण्टा ग्याजेटमा बिताउनेहरूमा डिप्रेसनको समस्या देखिने बताएको छ । तर, हाम्रा बालबालिकाहरू अनलाइन कक्षाको बाहनामा ८ देखि १० घण्टा ग्याजेटसँग बिताइरहेका हुन्छन् । त्यसमाथि त्यसले निम्त्याउने अपराधका घटना त छदैछ ।’

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले जब कुनै कुराको अनावश्यक प्रयोग हुन थाल्छ त्यसले दुरुपयोग र दुर्घटना निम्त्याउने बताए । बालबालिकाहरूले जिज्ञासाबस इन्टरनेटको दुरुपयोग गरेको हुन सक्ने पनि उनको बुझाइ छ । ‘बालबालिकाको उमेर नै जिज्ञासु हुन्छ,’ उनले भने, ‘जिज्ञासाबस उनीहरू विभिन्न साइटमा जान सक्छन् । उनीहरूको जिज्ञासालाई शान्त गर्ने काम शिक्षक र अभिभावकको हो ।’

इन्टरनेटका कारण धेरैजसो यौनजन्य कुरामा अपराध हुने उनले बताए । ‘कुनै बालबालिकाले नाङ्गो तस्विर देख्यो भने त्यसमा पहाड खस्ने कुरा केही छैन,’ उनले भने, ‘त्यसलाई पढ्ने सामग्रीको रुपमा कसरी देखाउन प्रस्तुत गर्न सकिन्छ सिकाउनुपर्छ । किनभने, भोलि मेडिकल डाक्टर पढ्दा पढ्ने कुरा त्यही हो । यसलाई सिकाइको रुपमा लिनुपर्छ ।’

बालबालिकालाई के आवश्यक र के अनावश्यक छुट्याउन सिकाउनुपर्ने उनले बताए । ‘बालबालिका अबोध हुन्छन् । उनीहरूलाई के सहि, के गलत सिकाउनुपर्छ । जो पायो त्यही मानिसहरूसँग सामाजिक सञ्जालमा बोल्न दिनु हुँदैन, जोडिन दिनु हुँदैन ।’

काठमाडौँ, काँडाघारीस्थित अक्षर स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले सबैभन्दा पहिला अभिभावक र बालबालिकालाई साइबर अपराधको बारेमा सम्बन्धित विद्यालयले सचेत गराउनुपर्ने बताइन् । ‘कक्षाको समयभन्दा बढी समय मोबाइल र ल्यापटपमा बिताउन थालेको थाहा पाउँनासाथ उनीहरूलाई घरको काममा सहभागी गराउनुपर्छ,’ उनले भनिन्, ‘प्रत्येक दिनको होम रुटिन बनाइदिनुपर्छ । मोबाइल र ल्यापटपबाट मात्रै सिकाइ हुन सक्छ भन्ने कुरालाई दिमागबाट हटाउनुपर्छ ।’

अभिभावक र बालबालिकाबीच सञ्चार नहुँदा पनि यस्ता समस्या देखिने उनले बताइन् । ‘धेरै बालबालिकाहरू आफ्ना अभिभावकसँग कुरा राख्न सक्दैनन्,’ उनले भनिन्, ‘कतिपय अवस्थामा आफ्ना कुरा राख्दा अभिभावकहरू उल्टै जाइ लागेर गाली गर्छन् । जसकारण बालबालिकाहरू अभिभावकसमक्ष आफ्ना जिज्ञासा र समस्या राख्न सक्दैनन् ।’ बालबालिकासँग सधैँ राम्रासँगै समाजमा हुने गरेका नराम्रा विषयवस्तुको बारेमा पनि चर्चा गरिरहनुपर्ने उनले बताइन् । ‘समाजमा घटेका नराम्रा कुराले बालबालिकालाई आफ्ना कदमहरूमा सतर्क हुन सिकाउँछ,’ उनले भनिन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x