खेलकुद

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताइरी, लक्ष्य सुन्दर फुटबल र साफ च्याम्पियन्सिप

इकागज |
चैत २२, २०७७ आइतबार १७:४२ बजे

काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुल्लाह अल्मुताइरीलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । यसै महिनाको पहिलो साता कोचिङ इन्सट्रक्टर बनेर नेपाल आएका अल्मुताइरीलाई राष्ट्रिय टिमको जिम्मेवारी दिइएको हो । उनले थ्री-नेसन्स कपमा नेपालको मुख्य प्रशिक्षक रहेका बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्नेछन् । 

कतार फुटबल संघसँगको सहयोगमा एन्फाले अल्मुताइरीलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्याएको हो । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित पत्रकार सम्मलेनमा अल्मुताइरीले नेपाली टिमलाई सुन्दर फुटबल खेलाउन वाचा गरे । ‘अब नेपालले रक्षात्मक खेल्ने छैन । बरु सुन्दर फुटबल खेल्नेछ । चुस्त खेल्नेछ,’ अल्मुताइरीको भनाई थियो । उनले नेपाली टिमलाई ४-३-३ को संरचनामा खेलाउने पनि बताए । 


एन्फाको वेभसाइटमा उल्लेख भए अनुसार अल्मुताइरीसँग साउदी अरब र कुवेतका क्लबहरुलाई प्रशिक्षण गराएको अनुभव छ । अल्मुताइरीले किर्गिजस्तानको अण्डर १७ टिम पनि हेरेका थिए । अल्मुताइरीले यस अघि चार देशका टिमसँग काम गरिसकेका छन् । 

‘नेपाली खेलाडीहरुमा क्षमता छ । मैले पछिल्ला तीन वर्षमा उमेर समूह र राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलेका करिब ५१ नेपाली खेलाडीहरुको खेल विश्लेषण गरिसकेको छु । अब राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्दा ती खेलाडीहरुले मौका पाउन सक्छन् । हामी नेपाल सुपर लिग सकिन साथ प्रशिक्षण सुरु गर्नेछौँ,’ मुख्य प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो पत्रकार सम्मलेनमा अल्मुताइरीले भने । 

अल्मुताइरीका लागि नेपालको मुख्य प्रशिक्षकका रुपमा पहिलो चुनौति विश्वकप छनौट हुनेछ । छनौट चरणमा चार खेल हारिसकेको नेपाल समुह बीको चौथौँ स्थानमा छ । पाँच खेलबाट तीन अंक मात्रै बटुलेको नेपालले अब बाँकी तीन खेल तटस्थ भूमिमा खेल्नेछ । 

मुख्य प्रशिक्षक अल्मुताइरी नेपालको अबको लक्ष्य समूहमा पाँचौ नहुने रहेको बताउँछन् । विश्वकप छनौटको अर्को चरण पुग्ने सपना यसअघि नै तुहिसकेकाले नेपालको नयाँ लक्ष्य चौथौँ स्थानमा रहँदै एसियन कप छनौटको तेस्रो चरण पुग्ने रहेको छ । आ-आफ्ना समूहमा चौथौँ रहने चार टिमले एसियन कप छनौटको तेस्रो चरणमा स्थान बनाउने छन् । 

दिर्घकालिन लक्ष्य चाँहि साफ च्याम्पियन्सिप नै हो । अल्मुताइरी दक्षिण एसियाका सैब टिमको स्तर समान रहेको मान्छन् । त्यसकारण नेपाल देखि माल्दिभ्ससम्म सबै टिमले साफ च्याम्पियन्सिपको उपाधिका लागि भिड्न सक्ने मान्छन् अल्मुताइरी ।

‘हाम्रो लक्ष्य भनेको साफ च्याम्पियन्सिप नै हो । तर त्यसका लागि मैले मात्रै मेहेनत गरेर हुँदैन । खेलाडीले पनि उत्तिकै मेहेनत गर्ने हो । मैले योजना एन्फामा बुझाएको छु । सबै पक्ष लागे सफलता हासिल गर्न सकिनछ,’ अल्मुताइरीको भनाई थियो । अल्मुताइरीले एन्फासँग एकवर्षको सम्झौता गरेका छन् । उनको तलब कतार फुटबल संघले ब्यर्होेनेछ । नेपालमा बस्ने खाने व्यवस्थापन गर्ने जिम्मा भने एन्फाको हुनेछ । 

  
 


Author

थप समाचार
x