खेलकुद

आन्द्रेस इनिएस्टा थप दुई वर्ष भिसेल कोबेमै रहने

इकागज |
बैशाख २८, २०७८ मंगलबार १९:४० बजे

काठमाडौँ: आन्द्रेस इनिएस्टा जापानी क्लब भिसेल कोबेमा थप दुई वर्ष रहने भएका छन् । पूर्व बार्सिलानो मिडफिल्डर इनिएस्टा सन् २०१८ मा जे लिग खेल्न कोबे पुगेका थिए । मंगलबार ३७ वर्ष पुगेका इनिएस्टाले कोबेसँग नयाँ सम्झौँता गर्दै जन्मदिन मनाए । 

चोटका कारण इनिएस्टा केही महिना मैदान बाहिर रहे । गत साताबाट भने उनी कोबेको टिममा फर्किएका छन् । ‘जापानी लिगमा कोबे सबैभन्दा बलियो टिम होस भन्ने चाहन्छु । त्यसमा म सकेको भूमिका खेल्ने नै छु,’ विश्वकप विजेता इनिएस्टाले भने । 


इनिएस्टाले कोबेलाई जिताउन नसके पनि जापानी कप र सुपर कप जित्न मद्दत गरेका छन् । अप्रिल २०२० मा कोबेको कप्तान बनेका इनिएस्टा जापानमा निकै लोकप्रिय छन् । उनको आगमनसँगै जापानी लिगको लोकप्रियता बढेको बताइएको छ । इनिएस्टा जापानी मोबाइलदेखि मदिरासम्मको विज्ञापनमा देखिएका छन् ।

करिब २२ वर्ष बार्सिलोनामा बिताएपछि इनिएस्टा जे लिग खेल्न जापान पुगेका हुन् । पछिल्लो समय चिनियाँ लिगले विदेशी स्टारहरुलाई आकर्षित गरिरहँदा इनिएस्टाले जापान छनौट गर्नुले जे लिगको लोकप्रियतामा वृद्धि भएको विश्वास गरिएको छ । 

कोबेको मालिक जापानी अर्बपति हिरोशी मिकितानी हुन् । इनिएस्टा थप केही वर्ष जे लिगमा खेल्दा जापानी फुटबललाई नै टेवा पुग्ने मिकितानीको विशवास छ । उनले इनिएस्टाको उपस्थितीमा कोबे जापानी लिगको मात्र नभई एसियाकै सबैभन्दा बलियो क्लब बन्ने बाटोमा अघि बढेको दाबी गरे । इनिएस्टाले आफ्नो करियर सकिएपछि कुनै भूमिकामा कोबेमै रहन चाहेको बताइसकेका छन् । 


Author

थप समाचार
x