खेलकुद

युरो २०२० : डे ब्रुएना, हाजार्ड बिनाको बेल्जियमलाई रुसको चुनौति

इकागज |
जेठ २९, २०७८ शनिबार १९:३३ बजे

काठमाडौँ: विश्लेषकहरू भन्छन्, फ्रान्स युरो २०२० को सम्भावित विजेता हो । फ्रान्सलाई कुनै टिमले टक्कर दिन सक्छ भने त्यो टिम, बेल्जियम नै हो । रोबर्टो मार्टिनेजको टिम कती बलियो छ भनेर विश्वकप २०१८ मा देखि सकियो । सोही विश्वकप आयोजक नै बेल्जियमको पहिलो विपक्षी बन्दैछ जारी युरो २०२० मा । 

बेल्जियम र रुस शनिबार राती के्रस्टोभस्की रंगशालामा भिड्दैछन् । संयोगवस यही रंगशालामा बेल्जियमले विश्वकपको तेस्रो स्थानमा इंगल्यान्डको सामना गरेको थियो । उसो त बेल्जियम र रुस सेन्ट पिटर्सबर्गको रंगशालामा पहिले पनि भिडिसकेका छन् । युरो छनौट दौरान । त्यसबखत बेल्जियमले घरेलु टिम रुसलाई ४-१ ले हराएको थियो । 


बेल्जियम हाल बलियो लयमा छ । पछिल्ला ३० खेलमा जम्मा दुई पराजय भोगेको छ । उता रुस भने कमजोर देखिएको छ । पछिल्ला ११ खेलमा रुसले मात्र तीन जित दर्ता गरेको छ । त्यसकारण के्रस्टोभस्की रंगशालामा उत्रदा बेल्जियम उत्साहित हुनसक्छ । यद्यपि बेल्जियमको टिममा मुख्य खेलाडी केभिन डे ब्रुएना हुने छैनन् । च्याम्पियन्स लिगको फाइनल दौरान घाइते भएका डे ब्रुएना मैदान फर्कन तयार भइसकेका छैनन् । तर बेल्जियमको दोस्रो खेलमा भने डे ब्रुएनाको उपस्थित हुनसक्ने अनुमान गरिएको छ । 

उता एडेन हाजार्ड पनि घाइते भएकाले बेल्जियमको अग्रपंक्ति सम्हाल्ने जिम्मेवारी ड्राइस मार्टिन्स र रोमेलु लुकाकुमाथि हुनेछ । यी दुई खेलाडीलाई मौका सिर्जना गर्न तयार थोर्गन हाजार्ड तयार रहनेछन् । 

बेल्जियमका मुख्य अस्त्र उपस्थित नहुने भएपनि रुसलाई भने उसका मुख्य खेलाडी आर्टियोम ज्युबाको साथ रहनेछ । उनी रुसका कप्तान त हुँदै हुन, साथै प्रमुख रोजाइका स्ट्राइकर पनि हुन् । ज्युबाले गत सिजन रसियन प्रिमियर लिगमा २७ खेलमा २० गोल गरेका थिए । रुसी टिममा ज्युबालाई डेनिस चेरसेभ, एन्टोन जाबोलोट्नी र अलेकजान्डर सोबोलेभको साथ रहनेछ ।

यद्यपि रुसी टिममा उसका भरपर्दा गोलरक्षक इगोर अकिनफिभ हुने छैनन् । उनले घरमै भएको विश्वकप पछि सन्यास लिएका थिए । रुसी प्रशिक्षक स्टानिसलाभ चेरचेसोभले यस युरोका लागि टिममा फिर्ता हुन आग्रह नगरेका होइनन् । तर ३५ वर्षिय गोलरक्षक अकिनफिभले इन्कार गरे । 


Author

थप समाचार
x