खेलकुद

एस्टन भिल्लाका ज्याक ग्रेलिस प्रिमियर लिगकै महंगा खेलाडी बन्‍ने

इकागज |
साउन २०, २०७८ बुधबार १९:५२ बजे

काठमाडौँ- एस्टन भिल्लाका ज्याक ग्रेलिस म्यानचेस्टर सिटीसँग आबद्ध हुने भएका छन् । बेलायती फुटबल वेबसाइट दी एथ्लेटिकका अनुसार ग्रेलिसको स्थान्तरण इंग्लिस प्रिमियर लिगका सबैभन्दा मंहगो स्थान्तरण हुने भएको छ । किनभने उनका लागि सिटीले १० करोड पाउन्ड तिर्नेछ । यससँगै उनी सबैभन्दा महंगा बेलायती फुटबलर पनि बन्‍नेछन् । 

यसअघि सन् २०१६ मा पउल पोग्बाको म्यानचेस्टर युनाइटेडतर्फको स्थान्तरण प्रिमियर लिग इतिहासकै महंगो स्थान्तरण बनेको थियो । आफ्ना पूर्वखेलाडीलाई ओल्ड ट्राफोर्ड फर्काउन युनाइटेडले युभेन्टसलाई आठ करोड ९० लाख पाउन्ड तिरेको थियो । 


अनि सबैभन्दा महंगा बेलायती फुटबलर पनि युनाइटेडमै छन्, रक्षक ह्यारी मग्वायेर । मग्वायेरका लागि युनाइटेडले सन् २०१९ मा सात करोड ८० लाख स्थान्तरण रकम तिरेको थियो । सिटीसँगको अनुबन्ध घोषणा भएपछि भने ग्रेलिस मंहगा बेलायती खेलाडी भएको पुष्टि हुनेछ । 

दी एथ्लेटिकका अनुसार २५ वर्षीय मिडफिल्डरका विषयमा भिल्ला र सिटीबीच अन्तिम चरणको छलफल चलिरहेको छ । गोल डटकमका अनुसार शनिबार हुने सिटी र लेस्टर सिटीबीचको कम्युनिटी सिल्ड फाइनल अगाबै  ग्रेलिस इंग्लिस च्याम्पियनको खेलाडी बनिसक्नेछन् । 

बर्मिङहममा जन्मिएका ग्रेलिस ६ वर्षको उमेरबाट भिल्लामा छन् । गत सेप्टेम्बरमा मात्रै ग्रेलिसले भिल्लासँग नयाँ पाँच वर्षे सम्झौता गरेका थिए । उनलाई क्लबबाट सरुवा हुन नदिन गत युरो भन्दा अगाडि पनि भिल्लाले नयाँ सम्झौता प्रस्ताव गरेको थियो ।

तर ग्रेलिसले त्यसबारेमा युरो सकिएपछि मात्रै सोच्‍ने बताएका थिए । युरो पछि ग्रेलिसले भिल्लामै रहने प्रतिबद्धता जाहेर गर्न चाहेनन् । किनभने उनको इच्छा आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने थियो । जसलाई भिल्लाले सम्मान गरेको छ ।

सिटीले भने ग्रेलिस स्थान्तरणका विषयमा केही प्रतिक्रिया दिएको छैन । यदी ग्रेलिसको स्थान्तरण पक्का भए, उनी जारी सरुवा बजारमा सिटीले खरिद गरेको दोस्रो खेलाडी बन्नेछन् । यसअघि सिटीले गोलरक्षक स्कट कार्सनलाई अनुबन्ध गरिसकेको छ । 

ग्रेलिसको पोजिसन? 

भिल्लामा  ग्रेलिसलाई विङमा प्रयोग गरिँदै आइएको छ । गत सिजन पनि उनले १९ खेल लेफ्ट विङबाट खेलेका थिए । र, सात गोल गरेका थिए । सिटीमा भने उनले सेन्ट्रल मिडफिल्डबाट खेल्ने अपेक्षा गरिएको छ । आउँदो सिजन उनले र एल्काई गुन्डोगनसँग मिलेर सिटीका फरवार्डका लागि गोलका मौका सिर्जना गर्नेछन् । 

गत सिजन भिल्लामा उनले आफ्नो प्लेमेकिङ क्षमता नदेखाएका होइनन् । लिगमा उनले दोस्रो धेरै गोलका मौका सिर्जना गरेका थिए । उनको यो क्षमता पेप ग्वार्डिओलाको प्रशिक्षणमा थप निखारिने अनुमान गरिएको छ । फेरि बर्नादो सिल्भाले सिटी छाड्ने सम्भावना रहेकाले पनि ग्वार्डिओलाका लागि ग्रेलिस महत्वपूर्ण प्लेमेकर हुनसक्छन् । 

भिल्लामा ग्रेलिसको प्रदर्शन  

भिल्ला प्रिमियर लिगमा सन् २०१९ मा फर्किएदेखि नै ग्रेलिस टिमको मुख्य खेलाडी बनेका छन् । उनले निरन्तर एकैनासको खेल देखाएका छन् । गत सिजन १२ लिग खेला गुमाएका ग्रेलिसले सबैभन्दा बढी फाउल सहनु परेको थियो । भिल्लाका लागि १२ असिस्ट दर्ता गरेका ग्रेलिस मैदान बाहिर रहँदा भिल्लाको समग्र प्रदर्शन नै कमजोर बनेको थियो । 

सिजनको करिब अन्त्यमा मात्रै मैदान फर्किएका ग्रेलिसलाई युरोका लागि इंग्लिस टिममा पनि बोलाइयो । उनीबाट धेरै अपेक्षा गरिएको भए पनि एक खेलका लागि मात्रै पहिलो एघारमा पर्न सके । 
 

    


Author

थप समाचार
x