खेलकुद

फ्रेन्च लिग वानः मार्सेका खेलाडीकै कारण मैदानमा हानहान भएको निस अध्यक्षको आरोप

इकागज |
भदौ ७, २०७८ सोमबार १३:३५ बजे

काठमाडौँ- फ्रेन्च लिग वानमा आइतबार राति निस र मार्से भिडिरहेका थिए । आलियान्ज रिभेरामा भइरहेको खेलमा निस १–० ले अघि थियो । ७४ औँ मिनेटमा निसका समर्थकले अचानक मार्सेका खेलाडीमाथि पानीको बोतल प्रहार गरे । कर्नर प्रहार गर्न गइरहेका डिमित्रि पायेटमाथि दर्शकदिर्घाबाट बोतल हानिएको थियो । पायेटले त्यस बोतललाई निसका समर्थकतर्फ फर्काइदिए ।   

त्यसपछि निसका समर्थक मैदानमै झरे । जसकारण खेल अवरुद्ध भयो । मार्सेका खेलाडीहरू र निसका समर्थकहरूबीच मुक्का हानाहान पनि भयो । त्यसपछि केहीबेरका खेल रोकियो । खेल सुचारु गर्ने विषयमा मतभेद भयो । रंगशालामै उपस्थित मार्सेका अध्यक्ष पाब्लो लोनगोरियाले आफ्नो टिम मैदान फर्कन तयार नरहेको सन्देश दिए । 


फ्रेन्च लिग सञ्चालन गर्ने एलएफपीले खेल सुचारु गर्ने प्रयास गर्‍यो । घरेलु टिम निस पनि यसमा सहमत भयो । तर मार्से मैदान फर्कन तयार भएन । ‘रेफ्री खेल सुचारु नगर्ने पक्षमा थिए । किनभने सुरक्षाको सवाल थियो । उनले खेल हुन नसक्ने निर्णय गरे । तर एलएफपीले जबरजस्ती गर्‍यो । एलएफपीको रबैयासँग हामी सहमत हुन सकेनौँ,’ मार्से अध्यक्ष लोनगोरियाले भने । मार्से मैदानमा नफर्केपछि खेलमा निसलाई विजय घोषणा गरियो । फ्रेन्च नियम अनुसार मैदान छाड्ने टिम ३–० ले पराजित हुन्छ । 

अवे खेलमा मार्सेका खेलाडीमाथि आक्रमण भएको यो पहिलो पटक होइन । दुई साताअघि मोन्टेलियरसँगको खेल दौरान पनि मार्सेका खेलाडीमाथि दर्शकदिर्घाबाट प्रहार भएको थियो । जसकारण त्यो खेल केहीबेरका लागि स्थगित गरिएको थियो । 

उता निसका अध्यक्ष जिन पियर रिभेरले मैदानमा भएको झगडाको कारण मार्सेका खेलाडीहरू रहेको आरोप लगाएका छन् । मार्सेका खेलाडीहरूले मैदामा खराब प्रतिक्रिया दिएका कारण दर्शक थप आक्रोशित बनेको उनको दाबी थियो । रिभेरले मार्सेका समर्थकले निसका खेलाडीहरूलाई आक्रमण गरेको पनि आरोप लगाए ।  

‘हिजोको घटनाको सुरुवात मार्सेका खेलाडीहरूबाट भएको हो । मार्सेका अल्भारो गोन्जालेज र माटियो ग्वान्डेजीले हाम्रा समर्थक लक्षित गरेर खराब व्यवहार देखाइरहेका थिए । यो घटनाले मलाई अवश्य पनि दुखित तुल्याएको छ । तर मार्सेका सुरक्षा गार्डले समेत मैदान प्रवेश गरेर हाम्रा समर्थकहरुलाई हिर्काए । खेल सुचारु भएपछि पनि मार्से मैदान फर्किएन । त्यो उसको गल्ती थियो,’ रिभेरले भने ।   

फ्रेन्च सञ्चार माध्यम र सामाजिक सञ्जालमा देखिएका तस्बिरमा मार्सेका ग्वान्डेजी र लुआन पेरेसको घाँटीमा निलडाम देखिएको थियो । पायेटकै ढाँडमा पनि निलडाम छ देखिएको थियो । 


Author

थप समाचार
x