खेलकुद

इंग्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्टको नयाँ मिति चाँडै टुंगो लाग्‍ने

इकागज |
भदौ २५, २०७८ शुक्रबार १८:२१ बजे

काठमाडौँ- इंग्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्ट शुक्रबारबाट सुरु हुने तालिका थियो । तर म्यानचेस्टरमा हुने भनिएको टेस्ट स्थगित भयो । भारतीय टिमभित्र कोभिड–१९ संक्रमितको संख्या बढ्ने सम्भावना भएपछि खेल सुरु हुने निर्धारित समयभन्दा दुई घण्टाअघि स्थगन गरिएको जानकारी दिइयो । 

बिहीबार भारतीय टिमका फिजियोथेरापिस्ट योगेश पारर्मरलाई कोभिड पोजिटिभ देखिएको थियो । जसकारण भारतले पाँचौँ टेस्ट शुक्रबारबाट सुरु गर्नुभन्दा अर्को मितिका लागि सार्नुपर्ने धारणा राख्यो । 


यसैबीच भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)सँग छलफल गदैँ नयाँ मिति तय गर्ने बताएको छ । ‘बीसीसीआई र ईसीबीबीच कयौँ चरण छलफल भइसकेका छन् । हामीले नयाँ मितिमा स्थगित टेस्ट खेलौँ भनेर प्रस्ताव पनि राखेका छौँ । दुई बोर्ड नयाँ मितिमा सहमति गर्न लागिपरेका छौँ,’ बीसीआईले भनेको छ । 

इंग्ल्यान्डमा जारी श्रृंखलामा भारत २–१ ले अघि छ । नतिजा आफ्नो पक्षमा पारेको भएपनि मुख्य प्रशिक्षक रवी शास्त्रीसहित प्रशिक्षण टोलीका तीन जनामा कोभिड पोजिटिभ देखिएपछि भारतीय ड्रेसिङ रुममा निराशा छाएको छ । शास्त्रीबाहेक बलिङ प्रशिक्षक भरत अरुण र फिल्डिङ प्रशिक्षक आर श्रीधर पनि कोभिड संक्रमित बनेका छन् ।  


Author

थप समाचार
x