खेलकुद

अमेरिकाका लागि मोनांकको शतक, नेपाललाई २३१ रनको लक्ष्य

इकागज |
भदौ २८, २०७८ सोमबार १९:५२ बजे

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमनमा सुरु भएको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकाबाट २३१ रनको लक्ष्य पाएको छ । मोनांक पटेलले शतक प्रहार गरेपछि अमेरिकाले २३१ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

ओमानी राजधानी मस्कटस्थित अल एमेरत क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जित्दै ब्याटिङ रोज्यो । मोनाकले ११३ बलमा १०० रन बनाएपछि अमेरिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३० रनको योगफल तयार पार्‍यो । 


तेस्रो नम्बरमा ब्याटिङ गरेका मोनांकले ११४ बलको सामना गर्दै एक छक्का र नौ चौका प्रहार गरे । त्यसअघि अमेरिकी टिमले मध्यम सुरुवात लिएको थियो । ओपनरद्वय स्टिभन टेयलर र सुशान्त मोदानी क्रमशः १४ र १६ रन बनाउँदै पभेलियन फर्किएका थिए ।  

माथिल्लो क्रमका अन्य अमेरिकी ब्याट्सम्यानले पनि उल्लेख्य रन जोड्न सकेनन् । जसकरन मल्होत्रा ११ रन र सन्जय कृष्णमुर्ती १३ रन बनाएर सुशनको बलमा आउट भए । त्यसअघि निसार्ग पटेलले २१ रन बनाएका थिए । अमेरिकी टिमका लागि करिमा गोरे र अभिषेक पाराडकरले क्रमशः १६ र १३ रनको योगदान गरे ।  

नेपालका लागि सन्दिप लामिछाने, सुशन भारी र विक्रम सोबले दुई-दुई विकेट लिए । त्यसैगरी कुशल मल्लले एक विकेट थपे । 
 


Author

थप समाचार
x