खेलकुद

ईपीएलः उद्घाटन खेलको मुख्य आर्कषण नै अफ्रिदी

इकागज |
असोज ९, २०७८ शनिबार ९:५९ बजे

काठमाडौँ - एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को पहिलो खेलमा शनिबार दिउँसो डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्स र काठमाडौँ किंग्स इलेभेनबीच प्रतिष्‍पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा चौथो संस्करणको ईपीएल सुरु हुँदै गर्दा पाकिस्तानका शाहिद अफ्रिदी मुख्य आर्कषण बनेका छन् । 

यद्यपि पाकिस्तानका भेट्रान अलराउन्डर अफ्रिदीले काठमाडौँका लागि दुई खेल मात्रै खेल्नेछन् । उनले सोमबार विराटनगर वारियर्सविरुद्धको खेल खेलेर ईपीएल यात्रालाई बिट मार्नेछन् । 


शनिबारको खेलमा दुई टिमको कप्तानी नेपाली युवा खेलाडीहरूले गर्नेछन् । काठमाडौँको कप्तानका रूपमा सन्दिप लामिछाने छन् भने ललितपुरको नेतृत्व कुशल भुर्तेलले गर्नेछन् । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने घोषणा गरेपछि ललितपुरको जिम्मेवारी कुशलको काँधमा आइपुगेको हो । 

काठमाडौँको टिममा सुवास खकुरेल, राजु रिजाल, अमित श्रेष्ठ, सिद्धान्त लोहनी जस्ता खेलाडी छन् । ओमान भ्रमण दौरान राष्ट्रिय टिमका लागि डेब्यु गरेका गुल्शन झा पनि काठमाडौँकै टिम सदस्य हुन् । यसैगरी, जिम्बावेका रायन बु्रल, अफगानिस्तानका रहमनुल्लाह गुर्बाज र सिंगापुरका जन प्रकाशले पनि काठमाडौँलाई साथ दिने छन् । 

उता ललितपुरको टिममा सन्दिप जोरा, शंकर राना, पवन शरार्फ, ललित राजवंशीलगायतका युवा खेलाडी छन् । ललितपुरलाई केही विदेशी खेलाडीको साथ रहनेछ । श्रीलंकाका आसादा फर्नान्डो र सान्दुन विराकोड्डीबाहेक अफगानिस्तानका आजमातुल्लाह आमोरजाई, भुटानका रानजुङ मिक्यो दोर्जी ललितपुरे टोलीमा छन् ।  

यसअघि तीन पटक आपसमा प्रतिस्पर्धा गरेका ललितपुर र काठमाडौँमध्ये हेड टु हेडमा डिफेन्डिङ च्याम्पियन नै बलियो देखिएको छ । उसले तीनै खेलमा काठमाडौँलाई हराएको थियो । यसकारण, ललितपुर छिमेकी सहरको टिममाथि विजय हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।
 


Author

थप समाचार
x