खेलकुद

बर्खामा राष्ट्रिय खेलकुद, तर चिप्लिने डर छैन

राष्ट्रिय खेलकुदका लागि चुनौतीका चाङ

सञ्जीव शाह |
बैशाख १०, २०७९ शनिबार १६:२ बजे

काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुँदैछ । ३६ खेल तथा दुई प्रर्दशनी खेल समावेश गरिने निर्णय भइसकेको छ । राष्ट्रिय खेलकुदका अधिकांश खेलहरु पोखरामा हुने निश्चित छ ।

राष्ट्रिय खेलकुद बर्खा याममा हुँदैछ । त्यतिमाथि पोखरामा त्यसै पनि अन्यत्र भन्दा बढी वर्षा हुने गरेको छ । यस्तो अवस्थामा आउटडोर गेम प्रभावित हुने सम्भावना अत्याधिक हुन्छ । राष्ट्रिय खेलकुदमा समावेश भएका आउटडोरमा खेलाइने खेलहरु जस्तै  क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, फुटबलजस्ता खेलहरु वर्षा भएको खण्डमा प्रभावित हुने सम्भावना बढी हुन्छ ।


तर राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ भने वर्षाका कारण ती खेलहरु प्रभावित नहुने दावी गर्छन् ।

'त्यस्तो अवस्था आए खेलको मिति परिवर्तन गर्न सकिने छ,' एक पत्रकार सम्मेलनका क्रममा घिसिङले बताए ।

त्यो त भयो बर्खा अर्थात मौसमको कुरा ।

अर्को चुनौती भनेको राष्ट्रिय खेलकुद भन्दा २२ दिन अघि अर्थात वैशाख ३० मा स्थानिय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा विभागीय टिमका खेलाडी पनि निर्वाचनमा खटिने गरेको पाइएको छ । यसले विभागीय टिमका खेलाडीको तयारी र प्रदर्शनलाई प्रभावित गर्ने सम्भावना बलियो छ ।

तर राखेपका सदस्य सचिव टंकलाल घिसिङ भने खेलाडीका लागि निर्वाचन भन्दा पनि राष्ट्रिय खेलकुद महत्वपूर्ण हुने तथा उनीहरुले सोही अनुसार तयारी गर्ने विश्वास व्यक्त गरे । उनले स्थानिय तहको निर्वाचनले खेलकुदलाई प्रभावित नपार्ने बताए ।

निर्वाचनकै प्रक्रिया चलिरहदाँ सातवटै प्रदेश, तीन विभागीय टोली तथा एनआरएनलाई खेलाडी छनोटको चटारो हुनेछ । किनभने राखेपले सातवटै प्रदेश, तीन विभागीय टोली तथा एनआरएनलाई जेठ १० भित्र खेलाडी तथा पदाधिकारीको दर्ताको समय दिएको छ । अर्थात सोही समयभित्र खेलाडी छनोटका प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । उनीहरुसँग करिब एक महिनाको समय हुनेछ । त्यसपछि यात्राको समय हटाउने हो भने तयारी र बन्द प्रशिक्षणाका लागि केवल एक हप्ताको समय हुन्छ । एक हप्ताको तयारीले कस्तो नतिजा आउने हो त्यो भने खेलपछि नै थाहा हुनेछ ।

अर्कोतर्फ चीनमा हुने १९ औँ एसियन गेम्सका लागि वैशाख २४ सम्म नेपालल सहभागिता जनाउने २३ खेलका खेलाडीको प्रारम्भिक (लङ लिस्ट) दर्ता गर्नुपर्ने छ । यसका लागि पनि व्यक्तिगत विधाका लागि कम्तिमा चार खेलाडीको नाम पठाउनुपर्ने छ । यसको छनोट पनि संघहरुले गर्नुपर्ने छ । अर्थात एसियन गेम्स र राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोटको तालमेल पनि मिलाउनु पर्नेछ ।

तर सदस्य सचिव घिसिङ भने यस्ता चूनौतीले भने असर नगर्नेमा भने विश्वस्त छन् । एक अर्को अर्थमा सदस्य सचिव घिसिङ नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भव्यताका साथ सम्पन्न हुनेमा विश्वस्त छन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x