विचार

समुन्‍नत नेपाल

नेपालको खाद्य सुरक्षा कति सुरक्षित ?

डा. खेमराज शर्मा आचार्य |
असार २६, २०७९ आइतबार ७:४१ बजे

चलिरहेको पन्ध्रौं योजनाअनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान रहेको छ भने ६० प्रतिशत जनसंख्या यसमा लागेका छन् । अझै पनि मुलुकका ग्रामीण भेगका जनताको मुख्य पेशा कृषि नै रहेको छ । प्राचीनकालदेखि देशमा जरा गाडेको गरिबी र कुपोषणसँगै २०७२ सालको भूकम्प र विश्वव्यापी कोभिड माहामारीको कारण गरिबीको रेखाभित्रको जनसंख्या थप बढेको छ । यो समस्या समाधान गर्न एवं मुलुकमा आर्थिक समृद्धि ल्याउन पनि कृषि क्षेत्रमा व्यापक सुधारको खाँचो छ । मुलुकमा भएको खेतीयोग्य जमिनको अधिकतम उपयोग गर्दै जानुपर्ने अहिलेको ट्डकारो खाँचो हो । यसै अनुरुप उत्पादन बढाउन र पूर्वाधार निर्माणलाई आर्थिक वृद्धिको आधारका रूपमा लिई आगामी आर्थिक वर्ष २०७९ र ८० को संघीय सरकारको बजेटमा कृषि प्राथमिकतामा परेको छ । प्रान्तीय सरकारले समेत हाल प्रस्तुत गरेका बजेटमा कृषिको विविधीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमा विशेष जोड दिएका छन् । निर्दिष्ट कार्यक्रम कार्यान्वयनमा विशेष चनाखो हुनुपर्ने कुरामा सतर्कता अपनाउन जरुरी छ । 

सप्प्रने सम्भावना 
नेपालमा भूमि वितरण तथा खण्डीकरणको समस्या दिनहुँ बल्झँदो छ । कृषक परिवारको नाममा सालाखाला आधा हेक्टरको छेउछाउ खेतीयोग्य जमिन रहेको र त्यो पनि विभिन्न ठाउँमा छरिएर रहेकोले सघन खेतीको सम्भावना कम छ । यसैकारणले बहुसंख्यक नेपालीहरू कृषिमा निर्भर रहेको भन्नु यो पेशा बढी हात–मुख जोड्ने मात्र हुनु हो । विगतमा धान निर्यातकर्ता भएको हाम्रो मुलुक अहिले ठूलो मात्रामा कृषिजन्य वस्तु पैठारी गर्ने स्थितिमा पुगेको छ । केही वर्ष अघिसम्म दक्षिण एसियाली मुलुकहरूमा सबभन्दा बढी जमिनको उत्पादकत्व रहेको नेपाल अहिले सार्क मुलुकहरू मध्ये सबभन्दा थोरै उत्पादकत्व रहेको मुलुक भएको छ । कृषियोग्य जमिनको सक्दो र अनुकुल चक्लाबन्दी नगरेसम्म सिँचाइ पानीको दक्षता बढाएर कृषिको उत्पादकत्व बढाउन कठिन हुन्छ । देशका खासगरी ग्रामीण भेगबाट ठूलो संख्यामा युवा शक्ति विदेशीने र उनीहरूले पठाएको पैसाबाट विदेशी मुद्रा कमाउने हालको स्थितिले गाउँबस्ती विरानो र एकलास भएका छन् । यसले गर्दा जग्गा बाँझो हुने अवस्था बढेको छ । कृषि यान्त्रिकीकरणले यो समस्या समाधान गर्न सघाउ पुग्नेछ । 


कृषि उत्पादन र उत्पादकत्व सपार्न मौसमले मुख्य भूमिका खेल्ने भएकोले हावापानी मापन केन्द्रहरूको विकास र मौसम भविष्यवाणीसँगै सही कृषि सूचना कृषक कहाँ समयमै पुर्याउने संयन्त्रको विकास गर्न  सरकारसँगै उनीहरूको निजी र गैरसरकारी संघसंस्थाको साझा प्रयासमा हुनुपर्ने हुन्छ । यसले किसानको मनोबल बढ्नुसँगै उनीहरूको जीवनस्तर सपार्न सहयोग पुग्नेछ । उनीहरूको उत्पादनले उचित मोल पाउन कृषि वस्तुको तस्करी र अनियन्त्रित पैठारीलाई नियमन गर्न जरुरी छ । नेपालमा उपलब्ध औषधिजन्य जडीबुटीसँगै आयुर्वेदिक औषधिको उत्पादन तथा बाहिरी मुलुकहरूमा तिनको निर्यातको सम्भावना प्रशस्तै छ । यस्तै मसलाजन्य उत्पादन र तिनको निर्यातको प्रशस्त अवसरहरू छन् । तेलबाली एवं दाल दलहनको उत्पादन र उत्पादकत्वमा सुधारको पनि प्रचुर सम्भावना रहेको छ । यी सबै कृषि वस्तुको अन्तर्राष्ट्रिय स्तरमा राम्रो मूल्य पाउन सकिन्छ ।  

सिँचाइ विकास र कृषि उत्पादन
कृषियोग्य जमिनमा सिँचाइ सुविधा भएमा बाली सघनता तथा बाली विविधीकरण गरेर कृषि उत्पादन एवं रोजगारी बढ्छ यसरी गरिबी घटाउन मद्धत पुग्छ पनि । आम्दानी बढाएर कृषकका जीवनस्तर सपार्न सिँचाइ योग्य जमिनमा सिँचाइ प्रणालीहरूको विकास र उचित मर्मतसम्भार तथा उपयोग गर्नेतिर ध्यान दिनु जरुरी छ । नेपालका धेरै खोलाहरूको मुख्य स्रोत वर्षाबाट पर्ने पानी नै हो । देशमा सरदर एक वर्षमा १५०० मिलिमिटर वर्षा हुन्छ । यसको ८० प्रतिशत मध्य जेठदेखि मध्य असोजको चार महिनामा पर्छ । हिमाली भेगबाट उत्पत्ति हुने नदीहरू जस्तै कोशी, नारायणी, कर्णाली, महाकालीमा वर्षै भरी पानी हुन्छ भने महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति हुने नदीमा सुख्खायाममा थोरै पानी बग्छ भने चुरे पहाडबाट उत्पत्ति हुने नदीहरू सुख्खा याममा सुक्छन् । सोही मुताबिक ती नदीहरूबाट पाइने पानीको मौसमी मात्रालाई विचार गरेर बनेका सिँचाइ प्रणालीमा पानी कति हुने/नहुने हिसाब हुन्छ ।

यसरी वर्षायाममा बढी पानी पर्छ भने सोको कारण ठूला पहिरोको प्रकोपबाट वर्षेनी ठूलो धनजनको खति हुने गरेको छ भने तराईमा बाढीबाट ढुवानको कारणले क्षति हुन्छ । यसलाई रोकथाम गर्न नदीहरूको जलाधार क्षेत्र संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । यस्तै वर्षाको मौसममा नेपालका नदीहरूमा पानीसँगै ठूलो परिमाणमा बालुवा, गेग्रान, मलिलो माटो पनि बग्दछन्न् । विकासको क्रममा अनियन्त्रित तवरले बनाइएका ग्रामीण सडक आदि पनि मलिलो माटो विनास गर्ने कारण भएका छन् । यसलाई जोगाउन बहुउद्देशीय आयोजना (सिँचाइ, विद्युत उत्पादन आदि) गर्न बाँध निर्माण भए कम लागतमा बढी फाइदा लिन सकिन्छ । 

यसरी निर्माण गरिएका जलाशयबाट वर्षातमा  पानी जम्मा गर्न सकिन्छ र जम्मा गरेको पानी सुख्खा मौसममा चाहिनेगरी उपयोग गर्न पनि सकिन्छ । देशमा रासायनिक मल कारखानाको स्थापना अझै हुन नसकेको र बाह्य मुलुकबाट समयमा रासायनिक मल आपूर्ति गर्ने जवाफदेही कसैको नभए जस्तो देखिएकाले पनि कृषकहरू निरन्तर मर्कामा परेका छन । विगतमा रासायनिक मल र प्राङ्गारिक मलको उपयोग चाहिँदो सन्तुलन कायम गर्न नसकेकोले माटोको उत्पादकत्वमा उल्टो प्रभाव परेको भनिन्छ । समस्या समाधान गर्न दीर्घकालीन रूपमा देशमा नै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने छ र हाललाई मुलुकको कृषि सामग्री आपूर्ति गर्ने संस्थालाई जवाफदेही बनाउँदै यसको कार्यक्षमतामा अभिवृद्धि गरी समयमै आवश्यक मात्रामा रासायनिक मल आपूर्ति गर्ने सरकार, राजनीतिक दल र कृषक संगठन पनि समयमै इमान्दार हुनुपर्छ । साथै माटोको संरक्षणका साथै प्राङ्गारिक मल उचित मात्रामा प्रयोग गर्ने तर्फ सचेत हुनु जरुरी हुन्छ । 

अहिलेको कुल कृषियोग्य जमिन २६ लाख ४१ हजार हेक्टरमध्ये २२ लाख ६५ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउन सकिनेमा हालसम्म १५ लाख हेक्टर जतिमा कुनै न कुनै रूपमा सिँचाइको पूर्वाधार विकास भएको तथ्यांकले देखाउँछ । यसबाट बाँकी सिँचाइ योग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्नुपर्ने र अरु तीन लाख ८६ हजार हेक्टर खेतीयोग्य जमिनमा पूर्णतया आकाशे पानीमा भर पर्नु पर्ने हुँदा सोको लागि खेतिपाती तहमै पानीपोखरी निर्माण गरी वर्षाको पानी जोगाएर बर्षमा आधारित कृषकहरूलाई सहयोग गर्नु पर्ने हुन्छ । 

कृषि परिप्रेक्ष्य योजना (सन् १९९५–२०१५) र हालको कृषि विकास रणनीति (सन् २०१५–२०३५) सम्मले अंगीकार गरेको सोचअनुसार तराईमा भूमिगत स्यालो ट्युबवेल र गहिरो ट्युबवेलको विकास अपेक्षित रुपमा हुनसकेको छैन । साथै हाल निर्माण भएका ठूला सिँचाइले भन्दा यस्ता स्थानीय साना सिँचाइ प्रणालीबाट खासगरी बहुसंख्यक साना तथा गरिब किसानलाई बढी फाइदा कुरा अनुभवबाट देखिन्छ । ठूला सिँचाइ आयोजनाहरूबाट साधारणतया वर्षैभरी भरपर्दोसँग पानी नपाइने भएकोले भूमिगत सिँचाइ र ठूला सिँचाइलाई जोडेर एकीकृतरूपमा वर्षैभरी सिँचाइ सुविधा पाउन सकिन्छ । 

हाल नेपालका सिँचाइ प्रणालीको दक्षता (वाटर युउज इफिसेन्सी)  सालाखाला ३० प्रतिशत छ । यसको अर्थ ७० प्रतिशत नहरको पानी खेतमा पुग्नुभन्दा अघि नै खेर जान्छ । यस्तो स्थिति सपार्न सिँचाइ प्रणालीको आधुनिकीकरण गर्दै कृषक समुदायलाई संस्थागत र नीति निर्माणमा सहभागी बनाउने उचित सम्भावना छन् । सिँचाई पानी पाउँदा दिउँसोको सट्टा रातिमा गरिने हो भने पनि सिँचाइबाट ठाउँ र परिस्थिति हेरी सिँचाइ प्रणालीको दक्षता बढ्न सक्छ । धान खेती गर्दा धेरै पानी नोक्सान भई जाने र उपयोग भएको मलखाद पनि बगाएर लैजाने समस्या हुन्छ । यस्तो अवस्थामा जमिनसम्म बनाएर गरामा आली लगाउनु ठीक हुन्छ । यो प्रविधि नेपाली किसानले परापूर्वकालदेखि अवलम्बन गर्दै आइरहेकै छन् पनि यस्ता परम्परागत वातावरणीय प्रविधिबाट हाम्रा प्राविधिकहरूले राम्रो पाठ लिनु पर्छ पनि । 

कृषि विकासको क्रममा उन्नत प्रविधिको ठूलो आवश्यकता हुन्छ नै । नयाँ प्रविधि उपयोग गर्दा उत्पादन लागत नबढोस् भन्नेतिर विशेष ख्याल राख्नुपर्ने हुन्छ । यसैले खाद्य सुरक्षा एवं निर्यातको दृष्टिकोणले धान, मकै र गहुँ जस्ता परम्परागत बालीको संरक्षण एवं विकास गर्दै व्यवसायिक खेती प्रवर्द्धन गर्न वातावरण मैत्री प्रविधि उपयोग र प्रवर्द्धन गर्दै हावापानी मौसम सुहाउँदो फलफूल खेती र विभिन्न जातका तरकारी बालीको विकासमा विशेष जोड दिनु पर्नेहुन्छ । अधिकांश कृषकहरू साना किसान भएकाले उनीहरूको संगठनात्मक क्षमता कम हुन्छ र सहकारी अवधारणा नेपालमै फस्टाउन नसकिराखेको वर्तमान अवस्था सपार्न कृषक, सरकारी, निजी, गैरसरकारी क्षेत्र र सफल सहकारी अभ्यासहरूबीचको एकीकृत कार्यगत सहकार्यले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसबाट दुर्गम जिल्लाको कृषि उपजको पहुँच बजारसम्म सहज तुल्याउन र सबैलाई पायक पर्ने स्थानमा संकलन र वितरण गर्ने व्यवस्था मिलाउन सके कृषक समुदायलाई ठूलो सुविस्ता पुग्ने देखिन्छ । 

समग्रमा भन्नुपर्दा नेपालमा कृषि विकास गर्ने प्रचुर सम्भावनाहरू छन् र यस दिशामा पाइला चाल्नसके देशको आर्थिक विकासमा टेवा पुग्नुसँगै किसानको जीवनस्तर पनि सुध्रिने एवं मुलुकको बढ्दो व्यापार घाटा घटाउन सघाउ पुग्ने देखिन्छ । देशको खाद्य–सुरक्षालाई नै पहिले सुरक्षित गर्नु पर्ने अवस्था सृजना गर्न निरन्तरका छलफल र नीति र योजनाहरूको इमान्दार कार्यान्वयन पूर्व शर्तझैँ भएका छन् ।   

*समुन्‍नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ । 

प्रतिक्रियाको लागि [email protected]

समुन्‍नत नेपालका यसअघि प्रकाशित लेखहरू 

- न्यायालयमा अधिकार दुरुपयोग र अशुद्धिकरणको प्रसंग
- कुलतग्रस्त खुला सीमा

- पश्चिम सेती जलस्रोत परियोजना : लाभ–हानि र जोखिम

-  वातावरणीय निकायहरूबीच निष्क्रिय समन्वय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : किन र केका लागि ?

भ्रष्ट र कुशासनलाई बढार्न राजनीतिको मूलधारमा सुशासनका एजेन्डा

- के नेपाल जलस्रोतमा विश्वकै धनी हो ?

-  नेपालमा एकीकृत जलस्रोत व्यवस्थापन : सन्दर्भ र चुनौती

हामी कोही सुरक्षित छैनौँ

‘भन्न नहुने कुरा, गाउन नहुने गीत’को गतिमा उद्योग

- जलवायु परिवर्तन र नेपालको अस्तित्वको सवाल

हुलाक टिकटमा नेपालको इतिहास : जिउँदा सत्यमोहनदेखि दिवंगत राजा वीरेन्द्रसम्म

प्रधानमन्त्री देउवाको भारत भ्रमण : धरमराइरहेका आधारभूत पक्ष

मन्त्रीजीको भ्रष्टाचार चर्तिकला !

संविधानमा रहेका आयोगहरूको उपयोग र औचित्य


Author

डा. खेमराज शर्मा आचार्य

शर्मा नेपाल सरकारका पूर्व सहसचिव (प्राविधिक) हुन् ।


थप समाचार
x