विचार

पुटिनको नियत के ?

सोमबहादुर थापा |
कात्तिक २, २०७९ बुधबार ७:३६ बजे

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा २४ फेबु्रअरी, सन् २०२२ को बिहानैदेखि युुक्रेनमाथि विशेष सैनिक अपरेसन सुरु गरियो । यो युद्ध अहिलेसम्म पनि जारी नै छ । यो युद्ध नयाँ नयाँ रूप लिँदै गएकाले कहिलेसम्म अन्त्य होला भनेर भन्‍न सकिने अवस्था छैन ।

रसियाले युक्रेन माथि गरेको यो दोस्रो युद्ध हो । यसभन्दा अगाडि सन् २०१४ मा पनि रसिया र रसिया समर्थक विद्रोहीहरूले युक्रेनमाथि हमला गरेका थिए र त्यति बेला रसिया र युक्रेनबीच आठ वर्षसम्म अर्थात् सन् २०२२ सम्म युद्ध चलेको थियो र त्यति बेला रसियाले युक्रेनका धेरै भागमा आफ्नो नियन्त्रण काम गर्दै गएको थियो । उसको क्रियाकलापबाट पश्चिमा राष्ट्रहरू पनि क्रुध्द भएर रसियामाथि अनेक प्रतिबन्ध लगाएका थिए ।


युक्रेनमा राष्ट्रपति पुटिनले आफ्ना समर्थकलाई सत्तामा पुर्याए पनि टिकाइराख्न भने सकेनन् । सन् २०१४ र सन् २०२२ मा रसियाले युक्रेन माथि युद्ध गर्नुको मूल कारण रसियाले युरोपतर्फ पठाउने ग्यास पाइपको ट्रान्जिट लाइन क्रिमियामा रहनु हो । यसबापत क्रिमियाले वार्षिक तीन अर्बभन्दा बढीको राजस्व उठाउँछ । राष्ट्रपति पुटिन यो  व्यवस्थालाई ध्वस्त पार्न खोजिरहेका छन् ।

रसिया र युक्रेन दुवै विघटित सोभियत संघका सदस्य राष्ट्रहरू हुन । यिनीहरू मिल्दा दुवैलाई राम्रो हुन्छ र युक्रेनको सम्बन्ध युरोपसँग बाँड्दै गएकाले नाटोको सदस्य बन्छ कि भन्‍ने डर राष्ट्रपति पुटिनलाई छ । रसियाले क्रिमया र डोनवास तथा अन्य क्षेत्रमा बराबर युद्ध गरेको कारणले युक्रेनलाई पनि युरोपसँग नजिक हुने बाध्यता परेको छ ।   

राष्ट्रपति पुटिनको जिध्दिका कारण सन् २०१४ र सन् २०२२ को दुवै युद्धमा रसियाले ठूलो सैन्य क्षतिका साथै आर्थिक नाकाबन्दी व्यहोर्न परिरहेको अवस्था छ । राष्ट्रपति पुटिनको युद्धसम्बन्धी नीति र कारबाहीबाट रसियन जनता पनि सन्तुष्ट नभएको समाचार सम्प्रेषण भइरहका छन् । अहिले युक्रेनबाट मात्रै नभएर रसियाबाट पनि मानिसहरू विदेशतिर जाने क्रम वढेको देखिन्छ । अर्को कुरा यस युद्धको कारण रसियाभित्र पुटिनको चर्को विरोध पनि हुन थालेको देखिन्छ । 

सन् २०१४ र सन् २०२२ मा रसियाले युक्रेन माथि आक्रमण गर्नुको मुख्य उद्देश्य युक्रेनलाई ध्वस्त पार्ने नै हो । अहिले युद्ध सुरु गरेको नौ महिना पछि रसियाले युक्रेन माथि रासायनिक हातहतियार प्रयोग गर्ने धम्की दिइरहेको छ । यसको सिधा अर्थ के लाग्छ भने यस युद्धमा रसिया दिन दिनै हारिरहेको छ । जित्ने अवस्थामा भएको भए त रासायनिक हात हतियार प्रयोग गर्नुपर्ने स्थिति आउने थिएन भन्‍ने कुरा सबैले बुझेकै विषय हो ।

सैन्य बल प्रयोग गरेर नपुगेर पुटिनले मिसाइल आक्रमण गरी युक्रेनलाई ध्वस्त पार्न खोजे । तर सकेनन् । एक पटक रसियाले कब्जा गरेका क्षेत्र युक्रेनले पुनः फिर्ता लिए पछि क्रुध्द बनेका राष्ट्रपति पुटिनले रासायनिक हात हतियार पनि प्रयोग हुन सक्ने धम्की दिइरहेका छन् । उनले रासायनिक हतियार प्रयोग नगर्लान् भनी सोच्ने अवस्था पनि छैन । यस युद्धमा रासायनिक हात हतियार प्रयोग गर्ने पुटिनको धम्कीले साह्रा विश्व अहिले त्रस्त बन्‍न गएको छ ।

अहिलेको युद्धले दिनदिनै नयाँ रूप लिएको देखिन्छ । अर्को डरलाग्दो लाग्दो कुरा के देखिएको छ भने रसिया र युक्रेनबीच मात्रै यो युद्ध चलिरहेको अवस्था छैन । यो युद्धमा युरोपियन राष्ट्र र संयुक्त राज्य अमेरिका पनि सहभागी भइसकेको अवस्था छ । 

ब्रुसेल्समा बसेको गत हप्ताको सोमवार बसेको नेटोका पचास राष्ट्रहरूका बैठकले रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रनमा उन्‍नत हवाई रक्षा हतियार पठाउने र युक्रेनमा हवाई रक्षा प्रणाली स्थापनामा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । बेलायत, क्यानडा, नेदरल्यान्डले युक्रेनमा पठाउने भनी प्रतिज्ञा गरेका हतियारमा मिसाइल र राडारहरू पनि समावेश छन् । अमेरिकाले पनि यस्तै वाचा गरेको थियो र उसले पनि पनि आफ्नो वाचा पूरा गर्नेछ । फ्रान्सका राष्ट्रपति इमायल म्याक्रोनले युक्रेनमा हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने बताएका छन् । यसले उस्तै परे यसले तेस्रो विश्व युद्धको रूप लिन पनि बेर लाग्दैन । 

युद्ध चलिरहेको बेलामा राष्ट्रपति पुटिनले युक्रेनका चार भागमा तथाकथित जनमत संग्रह गरी रसियामा गाभिएको घोषणा गरे । यो घोषणालाई अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रको महासभाले पनि मान्यता नदिने भनेर विरोध गरिसकेका छ । संयुक्त राष्ट्र संघको महासभाले १३ अक्टोबर, सन् २०२२ मा रसियाले युक्रेनका चार क्षेत्रलाई आफूमा गाभ्ने भनी गरेका तथाकथित जनमत संग्रहलाई अस्वीकार गरिदियो ।

युक्रेन माथि युद्ध गरेर स्वयं राष्ट्रपति पुटिनले रसिया र रसियन जनतामाथि पनि अन्याय गरेका छन् । यो युद्धले उनलाई पतनको बाटामा लगिरहेको विश्लेषण गर्न थालिएको छ ।

रसियाको यो कदमका विरुध्द नेपाल लगायत विश्वका एक्सय त्रिचालीस राष्ट्रले युक्रेनको स्वतन्त्रता र सार्वभौमिकताको पक्षमा मतदान गरे भने पाँच देशले प्रस्तावको विरोध गरेका थिए । चीन, भारत लगायत अड्तिस देश मतदानमा अनुपस्थित रहेका छन् । साथै युक्रेनबाट तत्कालै सेना फिर्ता गर्ने कुरा पनि पारित भएको छ । यस निर्णयबाट पनि राष्ट्रपति पुटिन थप दबाबमा पर्न गएका छन् ।

रसियाले युक्रेन माथि गरेको नौ महिना अघि देखिको युद्धको असर र प्रभाव संसारका विभिन्‍न देशमा पर्न गएको छ । यो युद्ध खासगरी संसारका मानिसमा मानसिक तनाव ल्याएको छ, युरोपमा शरणार्थीहरू भिड वढाएको छ, युक्रेनको दैनिक जीवनमा मिसाइलको आक्रमणका कारण दैनिक मर्नेहरूको संख्या बाँड्दै गएको छ, इन्धन, ऊर्जा र खाद्यान्‍नको भाउ अत्यधिक मात्रामा बढेर गएको छ । 

विभिन्‍न राष्ट्र मिलेर बनेको सोभियत संघ सन् १९९१ मा पुनः विभिन्‍न राज्यमा टुक्रिन पुग्यो । समय र इतिहास कहिल्यै एउटै हुँदैन । परिवर्तनको नियम प्रकृतिदेखि हरप्राणीलाई एकै नाशले लाग्छ । यस क्रममा कहिले को बलियो बन्छ त कहिले को वलियो बन्छ ।

बेलायत लगायत पश्चिमा देशहरूले विश्वका धेरै भागलाई आफूअन्तर्गत राख्न सफल भएका थिए । तर ती भाग बिस्तारै स्वतन्त्र हुँदै गए । यसलाई बाध्य भएर बेलायत लगायतका पश्चिमा देशहरूले स्वीकारे । तर रसिया यस्तो जनचाहना र परिवर्तनलाई आत्मसात् गर्न सकिरहेको देखिँदैन । अनेक हत्कण्डा र तिक्डम गरेर युक्रेन माथि आक्रमण गर्नुका अर्को उध्देश्य रसियाले विश्व घटना र परिवर्तनलाई आत्मसात् गर्न नसक्नु हो । 

रसिया अहिलेको अवस्थामा पनि विश्वको एउटा शक्तिशाली राष्ट्रभित्रै पर्छ । अर्को विडम्बनाको कुरो के देखिन्छ भने रसिया लगायत विश्वका प्रजातान्त्रिक वा कम्युनिष्ट वा तानाशाही सवै शक्तिशाली राष्ट्रहरूले छिमेकका ससाना राष्ट्रहरूलाई सकेसम्म आफूभित्रै विलय गराउने र सो गर्न नसके ती देशमा अनेक तिक्डम र षड्यन्त्र गरेर आन्तरिक द्वन्द्व चलाई अस्थिर बनाउने र आफ्नो पिछलग्गु बनाउने उद्देश्य राख्दै आएको पाइन्छ । नेपाल पनि यसको शिकार बनिरहेको छ ।

साना र स्वतन्त्र राष्ट्रहरूले शक्ति राष्ट्रको अत्याचारका विरुध्दमा बोल्न र लेख्न पनि नहुने सोच शक्तिशाली राष्ट्रहरूले राखेका हुन्छन् । शक्तिहाली राष्ट्रहरूको विरुध्द बोले वा लेखे वा अरु कुनै काम गरे साना राष्ट्र माथि घोषित, अघोषित नाकाबन्दी गर्ने, अनावश्यक दुःख र पीडा दिने, व्यापारमा अनेक किसिमका बाधा अवरोध ल्याउने, र यतिले नपुगे आक्रमण नै गर्ने नीति शक्तिशाली राष्ट्रहरूले लिएको देखिन्छ । अहिले रसियाले युक्रेन माथि गरेको आक्रमणको उध्देश्य पनि यही हो । 

युक्रेनको केसमा बाहेक अरु केसमा शक्तिशाली राष्ट्रले साना राष्ट्र माथि गरेको अन्यायपूर्ण व्यवहार र सैनिक आक्रमणको विश्वका अरु शक्तिशाली राष्ट्रहरूले खासै विरोध गरेको पाइँदैन । विरोध गरे पनि वक्तव्यमै सीमित हुने चलन छ । यो भनेको अन्याय र अत्याचार आक्रमणको साक्षी बस्ने काम हो । यस हिसाबले हेर्ने हो भने साना र स्वाभिमानी राष्ट्रहरूलाई आफ्नो सार्वभौमिकता र अस्तित्व जोगाउन धेरै कठिन भइरहेको छ । कहिलेकाहीँ त साना र स्वाभिमानी राष्ट्रहरूको पक्षमा संयुक्त राष्ट्र संघ पनि केही बोलिदिँदैन । यो विडम्बना विश्वका साना र इमान्दार राष्ट्रहरूले वर्षेनि व्यहोर्ने पीडा र व्यथा हो ।

भारत विश्वको एउटा ठूलो प्रजातान्त्रिक देश हो । तर यसले अप्रत्यक्ष रूपमा रसियाको समर्थन गरिरहेको देखिन्छ । रसियाको समर्थन गरेबापत भारतलाई केही लाभ भउको होला । तर यसले अन्तर्राष्ट्रिय मञ्चमा भारतको इमेज घटाउने काम गरेको छ । भारतले यो कुरो अझै बुझ्न भने सकिरहेको छैन । यस मुद्दामा भारत, चीन, उत्तर कोरिया र पाकिस्तान एउटै लाइनमा उभिनु भारतका लागि पनि हितकर देखिँदैन । 

युक्रेन माथि युद्ध गरेर स्वयं राष्ट्रपति पुटिनले रसिया र रसियन जनतामाथि पनि अन्याय गरेका छन् । यो युद्धले उनलाई पतनको बाटामा लगिरहेको विश्लेषण गर्न थालिएको छ । यस्तो आत्मघाती काम राष्ट्रपति पुटिनले किन गरिरहेका छन् भन्‍ने कुरा बुझी नसक्नुको छ । अर्को विचारणीय कुरा के हो भने अहिले युद्धलाई भन्दा शान्ति र मेलमिलापलाई जोड दिनुपर्छ । त्यसैमा सबै राष्ट्रको हित हुने देखिन्छ । 

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच शान्ति, सद्भाव र भ्रातृत्व स्थापित गर्दै शीतयुद्ध अन्त्य गर्ने नीतिमा विवाद र द्वन्द्व देखिन्छ । मिखाइल गोर्भाचेभ विश्व शान्ति, सद्भाव, मेलमिलाप तथा निःशस्त्रीकरणको पक्षमा थिए भने रसियाका राष्ट्रपति पुटिले अशान्ति, लडाइँ, र विश्वयुद्धको पक्षमा छन । राष्ट्रपति पुटिन ढिलो चाँडो गोर्भाचेभको शान्ति अभियानमा नआई सुखै छैन । हेर्दै जाऊँ, उनी शान्ति अभियानमा कहिले र कसरी आउने हुन् ।

[email protected]

थापाका लेखहरू


Author

सोमबहादुर थापा

लेखक थापा संसद् सचिवालयका पूर्वसचिव हुन् ।


थप समाचार
x