विचार

कडा अनुशासनभित्र ‘अराजक’ बनेर जे सिके

वसन्त लोहनी |
चैत १९, २०७८ ७:२४ बजे

त्यो राणाकालीन नेपाल अटाएको काठमाडौँ । पीपलबोटको गल्लीभित्रको पूर्व–पश्चिम लामो बार्दली भएको करिब सन् १८७६ तिरको त्यो घर । पद्मनाभ लोहनी र कल्प कुमारीले किनेर त्यसमा थपथाप गरी अलि ठूलो बनाएको त्यो घर । सहरबाट गाउँ आएजस्तो किलागलको आफ्नो बाबु पशुपति लोहनीको घर छोडेर त्यहाँ बस्न आएका यी थानसिङे लोहनी । 

डिल्लीबजार टोल सुरु गर्ने हातमा गन्‍न मिल्ने मध्येकै एक थिए पद्मनाभ । वेदप्रसाद मात्र होइन उनको बाबु रुद्रप्रसाद पनि यही जन्मेका । डिल्लीबजार र ज्ञानेश्वर जोड्ने गल्लीभित्रको यो घर दक्षिणतिर सल्यानी राजाको दरबार र उत्तरतर्फ जोशी अनि चौतरिया राजेन्द्रप्रसाद शाहको दरबार । पूर्व पीपलबोटबाट छिरेदेखि झन्डै ढुङ्गे धारासम्म पूर्वको भिरालोमा कसाईहरूको घरबस्ती र त्यसपछि तल धान खेत । पश्चिममा पाण्डेको घर । वेदप्रसादको चारकिल्ला यही नै हो हुर्किंदै गर्दा । खेल्ने र साथीहरूसँग र उछल्कुद गर्ने भनेको मूलतः यही लामो गल्ली हो ।


बच्चा हुर्किने भनेको घरभित्रको वातावरण, उसको सेरोफेरो, त्यसपछि स्कूलको सङ्गत र पठनपाठन हो त्यति बेलाको । कता कता यसरी त्यो समयमा ढालिँदै जान्छन् । सामानिक मन जसरी शासन अनुकूल गरिएको हुन्छ त्यस अनुरूप हुँदै जान्छ हुर्किंदै गरेको बच्चा पनि । समयको गुरुत्वाकर्षणले उठ्न दिँदैन त्यति बेला । फगत शासकको प्रयोग हुने वस्तु सरह बन्दै जानु नै जनजीविका थियो, एक किसिमको नियति । तर वेदप्रसाद सानैदेखि त्यति बेलाको इँट ढालिए जस्तो त्यो साँचोमा ढालिने स्वभावका थिएनन् । यस अर्थमा उनी विद्रोही थिए, जन्मजात अराजक । तर त्यत्तिकै संवेदनशील पनि थिए उनी ।

उनी गल्लीमा खेल्थे त्यही गल्लीभित्र घर भएका साथीहरूसँग । ती साथीहरू थिए अरू दुई कृष्णहरू, उनको घरको नाम कृष्ण जस्तै– रातो कृष्ण, जो पछि बैदार कृष्ण भनेर चिनिन्थे र कालो कृष्ण । एउटा काले कसाई पनि हुन्थ्यो । डिल्लीबजार मूल सडक र त्यस्तै ज्ञानेश्वरको जोड्ने यो गल्लीमा मान्छेको आवतजावत भने मूल सडकको जस्तो थियो जहाँ यी खेलिरहेका हुन्थे । त्यो गल्लीमा बाहिरियाले जोरजुलुम गर्यो भने कमिज खोलेर साथीहरूको तर्फबाट लड्न जाने उनी नै हुन्थे । । 

के कसरी हो बैदार कृष्ण र वेदप्रसाद एकले अर्कोलाई मिस्टर भन्‍ने गर्थे । उनको नाम हो, देविकानाथ जोशी । पछिसम्म पनि यी दुईको सम्बन्ध प्रगाढ रह्यो । पारिवारिक रह्यो । मेरै उमेरको उनको छोरा निरञ्जन मेरो साथी बने । हामी काका भन्थ्याँ उनलाई । उनी ज्ञानेश्वरमा घर बनाएर वटु टोलबाट २०१८ सालतिर नफर्किन्जेलसम्म ठूलो एकादशीको दिनमा पशुपतिबाट सीधा हाम्रो घरमा आउँथे र आरामी कुर्सीमा पल्टिन्थे । हाम्री आमाले उनको लागि व्रतमा खाने खाना– सक्खरखण्ड, पिँडालु, मखानाको खीर, आलुको रस, चम्सुरको तरकारी, फलफूल आदि बनाएर तयार पारेर राखेको म देख्थेँ । उनको त्यो घर वेदप्रसादको डिजाइन र सुपरीवेक्षणमा बनेको थियो । लरीमा इँट आयो भनेपछि म दौडँदै त्यो इँट गन्‍न जान्थे । त्यो बनाउँदै गरेको घरमा जाने बाटो त्यहाँको एक बासिन्दाले रोक्दा त्यहाँ पुगेर कडासँग प्रस्तुत भएर वेदप्रसादले नै खुलाएका थिए । 

सानैदेखि अन्याय सहनै नसक्ने र विद्रोही स्वभावका भए पनि उनको राजनीतिसँग भने कहिले पनि साइनो भएन । वास्तविक अर्थमा अराजक भएकै कारण कर्मकाण्डी शिक्षा भन्दा फराकिलो सोच र दूरदृष्टि थियो उनको । यति हुँदाहुँदै पनि राजनीतिबाट चाहिँ टाढा थिए । यो कुरा गङ्गालालसँगको उनको सम्बन्धले पनि देखाउँछ । त्यसलाई अलिकति हेरौँ । एउटै क्लासमा पढ्ने गङ्गालाल राम्रो मित्र भए पनि गङ्गालाल राजनीतिमा लागिसकेको भन्‍ने उनलाई थाहा थिएन । 

नेपालको पहिलो कोण सभाबारे बीस वर्ष अगाडि उनले मलाई सुनाएका थिए यसबारे । यो कथा मैले त्यति बेला काठमाडौँ पोस्टको साथै लेख्ने गरेको अर्को अङ्ग्रेजी दैनिक ‘स्पेस टाइम टुडे’को ‘स्ट्रेट फ्रम दि हार्ट’ नामको आफ्नो 
स्तम्भमा २०५८ सालको माघ १९ गते लेखेको थिए । त्यसको सानो अनूदित भाग हेरौँ, वेदप्रसादको अनुशासनभित्रको अराजकता जुन राजनीतिसँग मिसिएन ।

अमानवीयकरणको प्रतीक नै बनाइएको थियो त्यति बेलाको टुँडिखेल । कतै बार नलगाइएको रानीपोखरीदेखि दक्षिण फैलिएको बिना रोकटोकको त्यो एसियाकै ठूलो ‘परेड ग्राउन्ड’ मानिने टुँडिखेलभित्र जाडो महिनामा हुस्सु लागेको बेला छिरेपछि लाग्थ्यो त्यो कहिले पनि नसकिने खालको छ । करिब बिचमा खरीको बोट । त्यसैलाई घेरेर बनेको थियो सैनिक मञ्च जहाँबाट जनतालाई सूचना सुनाइन्थ्यो । ब्रिटिस शासक सरहको घोडचढी पोसाकमा सजिएर त्यहाँ घोडा चढेर आनन्द लिन आउँथे प्रत्येक दिन बिहान शासकहरू ।

त्यहाँ अर्को दृश्य पनि हुन्थ्यो । दर्शन गरी बिन्ती चढाउन पाए वैकुण्ठ पुगिने जस्तो मानसिकतामा कौतूहल र एकाग्रता बोकेका आँखाहरू बिछ्याएर उभिएका हुन्थे रैती बनेका नेपालीहरू । अमानवीयकरणको यस्तो अभिव्यञ्जना बोकेको टुँडिखेलमा सामाजिक मनलाई राज्य सञ्चालन अनुकूलित पारिएको हुन्थ्यो । टुँडिखेल शक्तिको प्रदर्शन गर्ने ठाउँ मात्र होइन स्वीकृति दिने थलो पनि थियो । यसको उदाहरण जङ्गबहादुरलाई लिन सकिन्छ । नेपालको राजा श्री ५ राजेन्द्रवीर विक्रम शाहलाई यही टुँडिखेलबाट घोषणा गरेर जङ्गबहादुरले हटाइदिएका थिए ।

यो टुँडिखेलबाट पश्चिम लागेपछि मात्र सहर सुरु हुन्थ्यो । यस अर्थमा रानीपोखरीको पश्चिमपट्टिको हाम्रो दरबार स्कूल सहरको मुखमा थियो । हाम्रो हेड मास्टर रुद्रराज पाण्डे थिए । भूगोल अमरबाबुले र इतिहास भट्टराईबाजेले पडाउँथे । फ्री खाजा पनि खान पाइन्थ्यो । पछि हाम्रो क्लास चाहिँ अहिलेको विश्व ज्योति सिनेमा हलको अगाडिको भवनमा हुन्थ्यो । त्यहाँ पछि स्रेस्ता पाठशाला थियो । अझ धेरै पछि मन्टेसरी स्कूल । र, सार्क सम्मेलनका लागि बाटो ठूलो पार्दा त्यो भवनको केही भाग काटियो ।

यही भवनमा क्लास सकेर निस्कँदा एक दिन वेदप्रसादले सोधे गङ्गालाललाई– ‘होइन तिमी आजकाल केमा छौ ?’ गङ्गालालले भने – यसको जबाफ तिमी मसँग हिँड अहिले अनि थाहा पाउने छौँ । यसरी गङ्गालालको पछि लागे वेदप्रसाद । यी दुवै कमलाक्षी हुँदै इन्द्रचोकतिर लागे । त्यहाँ बाटोको पश्चिमपट्टिको मन्दिरको डबलीमा मानिसहरू सधैँ भन्दा अलि बढी देखिन्थे ।

वेदप्रसाद हेर्दै थिए किन यत्तिका मान्छे भनेर । गङ्गालाल अल्पिए । जिल्ल परेका वेदप्रसाद यताउति हेर्छन् अनि देख्छन् आफ्नो साथी गङ्गालाल त बाघ उफ्रिएको जस्तो गरी डबलीमा उक्लिँदै गरेको । हेर्दाहेर्दै उनी भाषण गर्न थालिहाले एक तन्त्रीय राणा शासनविरुद्ध । पाँच मिनेट जति के बोलेका थिए पुलिसले लछार्दै लग्यो उनीलाई । वेदप्रसाद खतरामा परेको हरिण उफ्रिएर भागेजस्तो गरी भागे त्यहाँबाट वटु टोल हुँदै ।

यसै क्रममा उनले भने, ‘म पढाइमा राम्रो थिए, निडर र लडभिड पनि गर्न सक्ने स्वभावको । तर राजनीतिक चेतनामा गङ्गालाल कति माथि कति माथि जबकि हामी उस्तै थियौँ स्कूलमा । मैले पहिलो पटक अनुभव गरे त्यति बेला गङ्गालाल कति माथिल्लो चेतनाको रहेछ र म कति डरछेरुवा जब राजनीति संघर्षको कुरा आयो ।’ यो ज्ञान पनि उनको अराजकताबाट नै निःसृत भएको थियो । तर थानसिंङे लोहनीको यो परिवारमा राजनीतिक संघर्षको गर्नेहरू नभएको चाहिँ होइन । आठ दाजुभाइमध्ये छैटाँै वेदप्रसादको भाइ विष्णुप्रसाद लोहनी जो २०२८ सालमा मन्त्री पनि बने, उनले २००७ सालको क्रान्तिमा मुक्ति सेनाबाट राणाविरुद्ध महोत्तरीको एउटा मोर्चामा बन्दुक बोकेर नै लडेका थिए ।

बनारस हिन्दु विश्वविद्यालयमा राजनीतिशास्त्रमा एमए गर्दागर्दै पढाइ छोडेर उनी नेपाली काङ्ग्रेसको हेडक्वार्टर पटना गएर त्यहाँबाट बीपी र मातृकाप्रसाद कोइरालाले खटाए बमोजिम बन्दुक र बम बोकेर त्यो मोर्चामा लड्न गएका थिए । उनको टोलीमा अरू पाँचजना पनि थिए– गोपाल शर्मा जो पछि राजदूत बने, नारायण अर्जेल जो पछि सचिव र राजदूत बने, बनारसी महतो जो पछि वकिल बने, टेकचन्द्र पोखरेल जो पछि पर्यटन व्यवसायमा लागे र तोरेन्द्रमान प्रधान । यो टोलीको जयनगरमा लिइएको सामूहिक फोटो र धावा बोलेको न्युज पटनाबाट निस्किने ‘इन्डियन नेसन’ भन्‍ने अङ्ग्रेजी पत्रिकाको मुख पृष्ठमा सन् १९५० डिसेम्बरको ३० तारिखको अङ्कमा छापिएको थियो । वेदप्रसादको साइँलो भाइ वासुदेव लोहनी पनि राजनीतिमा रहे । वेदप्रसादको जेठो छोरो डा. प्रकाशचन्द्र लोहनी सक्रिय राजनीतिमा विगत ५० वर्षदेखि छन् र मुलुकको राष्ट्रिय स्तरको नेता हुन् । यसबारे राजनीतिको मूल सन्दर्भ आएको बेला पछि छलफल गरौँला ।

वेदप्रसाद लोहनीको बाबु रुद्रप्रसादको अनुशासन अत्यन्त कडा थियो । बाबुलाई अत्यन्त मान्थे । तर परसम्म हेर्ने स्वभावले गर्दा उनी अराजक बनेका थिए । यस अर्थमा उनी स्वप्नदर्शी थिए । अनुशासन कति कडा थियो भन्‍ने कुरा मेरी आमा नारायणी देवीले धेरैपछि सुनाएको यो घटनालाई हेरौँ । त्यति बेला छोरीहरू जन्मिसकेका थिए वेदप्रसादको । उनी धारामा नुहाउँदै थिए । बाथरुमको चलन त धेरै पछि मात्र आएको हो । घरको चोकमा धारा आइपुगेको नै धेरै ठूलो कुरा थियो । अझ अगाडि त सार्वजनिक वीर धाराबाट पानी बोकाएर खानुपर्थ्यो । नुहाइरहेका वेदप्रसादलाई बाबुले देखेछन् माथि कोठाबाट । उनी तल आएर आफूभन्दा अग्लो वेदप्रसादलाई पटापट थप्पड हिर्काउन थाले । उनी भन्दै थिए– ‘तेरो यत्रो हिम्मत बङ्गाली कट कपाल काट्ने । हाम्रो परम्परालाई छोड्नु हुन्छ यसरी ?’

यो कुरो मेरो ठाइँलो बुबा केशव लोहनी, जसलाई हामी कान्छो बुबा भन्थ्याँै, उनको छोरा डा. मोहनप्रसाद लोहनीबाट पनि हालै मात्र सुनेको हुँ, एक सन्दर्भमा । उनीले सुनेको चाहिँ हाम्रो बज्यै तोय कुमारी, जसलाई हामी आफूमुमा भन्थ्यौँ उहाँबाट रहेछ । मैले आफ्नै आँखाले देखेको सम्झँदा पनि म जिल्ल पर्दछु अहिले पनि । रुद्रप्रसाद वानप्रस्थ शैलीबाट बनारस गएका थिए काशी वासका लागि त्यो मृत्यु नगरीमा । ‘मृत्युको सहर’ यस अर्थमा कि त्यति बेला काठमाडौँबाट पनि जान्थे त्यहाँ मर्नका लागि । र, मृत्यु संस्कार होस् त्यहाँको मणिकर्णिका घाटमा होस् भनेर । अटल विश्वास जुन अहिले पनि छ, त्यो हो– काशीमा मर्यो भने मुक्ति पाइन्छ ।

यसै विश्वासअन्तर्गत १२ वर्षदेखि काशीमा थिए । तर एक पटक काठमाडौँ आउँथे मङ्सिर महिनामा कुल देवताको पूजा गर्न किनकि परिवारको मुली भएकाले त्यो पूजा गर्ने दायित्व उनको नै थियो । खुसी हुन्थ्यो घरमा र परिवारका सब जम्मा हुन्थे । यस्तै सब जम्मा भएको मौकामा त्यो कोठा जुन पछि कान्छो बुबाको पूजाकोठा बन्यो धेरै पछि, भरिभराउ थियो । मैले देखेँ उनी भन्दा पनि बूढो देखिने आफ्नो जेठो छोरो फणीन्द्रप्रसादलाई उनले गाला चड्काएको । कारण के थियो त्यो बुझ्न सक्ने उमेर मेरो थिएन । अब अनुमान गरौँ कति कडा थियो अनुशासन जब वेदप्रसाद हुर्किंदै थिए । त्यति नै अराजक थिए वेदप्रसाद हुर्किंदै जाँदा । 

वेदप्रसाद भन्दा ठीक एक वर्ष जेठो अत्यन्त सम्मानित, दूरदर्शी र नेपाललाई माया गर्ने नेता बीपी कोइराला भन्थे– ‘म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी हुँ ।’ वेदप्रसाद जीवन सिक्ने कुरामा अराजकतावादी थिए । उनको उमेरका केटाहरू आफ्नो टोल नकाट्ने बेलामा उनी बाजेको घोडा चढेर काठमाडौँको परपर डाँडाका फेदिसम्म जान्थे, जनजीविका देख्थे र मान्छेहरूसँग कुरा गर्थे । जीवनको केही पाठ सिकेर आउँथे । मसान भएको ठाउँमा यसै जानु हुँदैन भन्‍ने बेलामा बागमतीमा पौडी खेल्न जान्थे ।

र, राम्रो पौडीबाज यसै गरी आफैँले सिकेर बने । उनले मलाई भनेअनुसार म्याट्रिकुलेसन गर्न बनारसमा बस्दा गङ्गामा नियमित पौडी खेलेर वारपार गर्थे । करिब ९५ वर्ष अगाडि काठमाडौँमा साइकल चढ्ने भनेको ठूलो कुरा थियो । भर्खरजसो कमलाक्षीमा ‘पञ्चनारायण अष्टनारायण’ भन्‍ने पसल खुलेको थियो बेलायती हर्कुलस साइकल बेच्ने । वेदप्रसादले त्यो पनि कुदाए । अरूलाई चढ्न सिकाए पनि । जब दरबार स्कूलको कक्षाभित्र उनको फुक्ने स्वभावले गर्दा अटाउन सकेनन्, उनले पढ्नै छोडिदिए । र, भौँतारिन थाले । 

यति बेला हो उनी पाँचौ वडा गुरुज्यू तर्कराज पाँडेको ४२ रोपनीको त्यो दरबार शैलीको घर कम्पाउन्डभित्र घुम्न जान्थे । बाबुको मामाघर भएकोले उनीलाई रोकटोक थिएन । तर्कराजका माइलो नाति नयनराज, जसलाई माइलो राजा भन्थे, उनका दौँतरी थिए । पछिसम्म उनको मित्र रहेको कारण बुढेसकालमा हाम्रो घरमा बेलुकीतिर प्राय आइरहन्थे र वेदप्रसादको काखामा बसेकी नातिनीको नाक समातेर भनिहाल्थे, ‘म त हजुरको साथी ।’ उसले पनि साँच्चिकै आफ्नो साथी नै ठानेकी थिई । एक पटक वेदप्रसादसँग नयनराजको आमा, जसलाई दुलही गुरुमा भन्थे, उनलाई भेट्न जाँदा नयनराजलाई त्यहाँ देखेपछि भनिहाली छ– माइला राजा भनेको मेरो साथी त हो नि !’

छातेले ओढाएको छल्लरीवाल छाता ओढेर तर्कराज बगैँचामा घुमिरहेका थिए । पछि पछि थिए रुद्रप्रसाद । तर्कराजले भने, ‘भानिज, अब म करोड पति भए होइन ?’ रुद्रप्रसादले अदबसाथ भने– हो । वेदप्रसादले पहिलो पटक सुने करोडको सम्पत्तिको कुरो अलि परबाट । यसको कति पछि हजार रूपैयाँ झिक्न सक्ने हुँदा अहिलेका उद्योगपति राजेन्द्र गोपाल खेतानको बाजे ‘हजारिया साहु’ भनेर कहलिएका थिए । यो करोड शब्द भौँतारिएका वेदप्रसादको मनमा रह्यो । तर्कराज ठूलो रइस थिए त्यति बेला जसरी मुलुकको सम्पत्तिको बनावट थियो । तर यसबाहेक व्यापारिक सोच पनि थियो उनको । त्यसैको प्रतिफल उनले विराटनगरमा टिआर कोठी पनि खोले । त्यसले चर्को ब्याजमा ऋण दिन्थ्यो । वेदप्रसादलाई यसले पनि छोएको थियो । 

तर्कराज व्यक्ति थिएनन् । गुरुज्यू भएको कारणले संस्था थिए । त्यति बेला मठ–मन्दिरहरू र सोसँग सम्बन्धित जग्गा जमिनहरू र गुठी हेर्ने काम गुरुज्यूको हुन्थ्यो । त्यो भनेको उनको सहायक बनेका भानिज रुद्रप्रसादको । यसै विषयमा परामर्श गर्न होला हामी सानोमा देख्थ्यौँ बेलुकीपखतिर बारम्बार पशुपतिको मुलभट्ट डा. रामभद्र अडिगाको पिता हाम्रो ज्ञानेश्वरको घरमा आउन गरेको, बाजेलाई भेट्न ।

ओलिन्काठ चढेर आउँथे उनी । उनको सुरक्षाका लागि घण्टी झुन्ड्याइएको एउटा लामो भाला लिएको मानिस वलिन्काठको अगाडि हुन्थ्यो । अति नै शालीन अनुहार थियो उनको । हामी सब बाजेको कोठामा जम्मा हुन्थ्याँै । अनि मूलभट्टले चाँदीको त्यो जलदानबाट जल दिनुहुन्थ्यो र घ्याम्पे चन्दन निधारमा टाँसिदिएर आशीर्वाद दिनुहुन्थ्यो । त्यो स्वर्णिम क्षण हुन्थ्यो हाम्रो । 

अराजकताभित्र भौँतारिएको त्यो बेलामा वेदप्रसादले गुरुज्यूको घरभित्र डुल्दा केही काम लाग्ने कुरा सिके । त्यहाँ नाचघर, बिलियर्ड हलदेखि राणाजीको दरबारमा हुने सबै सुख सुविधा थियो, केटीहरू बस्ने लङ लगायत । जुद्ध शमशेर जस्तै तर्कराज पनि अनेकौँ भित्रिनीहरू राखेर बसेका थिए । एउटा यस्तै भित्रिनीपट्टिका छोरा पवनवीर वेदप्रसादको सानैदेखिको मिल्ने साथी थिए । साइत गरेर बाहिर जाँदा पवनवीरको डिल्लीबजार पूर्व ओरालोको घरमा बस्ने चलन थियो हाम्रो घरकाको । कालिकास्थानको मोडमा स्ट्यान्ड राखेका लक्ष्मण ड्राइभरको गाडीबाट गौचर विमानस्थल जान्थ्यौँ । हामी केटाकेटीका लागि पुर्याउन जाँदा मोटर चढ्न पाउँदाको त्यो अवर्णनीय आनन्द थियो ।

तर्कराजको घरमा अनेक खालको खाना पाकिरहेको देख्थे वेदप्रसाद । खासगरी ती मासुका परिकारहरू हुन्थे । त्यसले यस्ता परिकार बनाउन जान्‍नेहरूलाई कलकत्तादेखि ल्याइएको हुन्थ्यो । सन् १९११ सम्म ब्रिटिस इन्डियाको राजधानी रहेको कलकत्ता भनेको त्यति बेला लन्डनको दोस्रो रूप थियो । नेपालका रइसहरूले मोजमज्जा गर्ने, क्लब जाने, रेस खेल्ने र आनन्द लिने ठाउँ ।

त्यहाँबाट आएका यी पकाउनेहरू पारङ्गत हुन्थे । तर यी मुसलमान भएकाले केही पनि छुन पाउँदैनथे । पकाउने त कुरै परको । त्यसैले यिनीहरू निर्देशन दिन्थे टाढाबाट भान्सामा पकाउनेहरूलाई, सिनेमाको डाइरेक्टरले कलाकारलाई निर्देशन दिए जस्तो गरी । यसरी अनेकौँ परिकार पाक्थ्यो । अर्कोतर्फ नाचघरमा नाटकको तालिम गरिरहेका देख्थे । यस्तो नाटक हेर्न जुद्ध शमशेर पनि आउँथे । त्यतापट्टि उनको चासो गएन । हो, उनलाई आकर्षण गर्यो वस्तादहरूले गाएको शास्त्रीय सङ्गीत जुन त्यहाँ गाइन्थ्यो ।

यहाँनिर यति भनिहालौँ कि मान्छेले जब आफ्नो सृष्टिकर्तालाई खोज्न थाल्यो तब यो खोजका लागि सङ्गीतको सहारा लियो । उसले सृष्टिकर्ताको जति नजिक हुने प्रयास गर्यो आफूलाई प्रभुप्रति पूर्ण समर्पण गरेर त्यति धेरै सङ्गीत भरपर्दो सहारा बन्यो उसको । यसै क्रममा रागरागिनीहरू जन्मिए । सभ्यताहरूको जन्म–मरणको क्रममा सङ्गीत बाँच्यो । यसरी विकसित भएर रागहरू शासकहरूको दरबारमा गाइन थाले । यो व्यावसायिक पेसा नै बन्यो र घरानाहरू बने । यसरी नै नेपालमा पनि भित्रिएको हो शासकहरूको दरबारमा । र, हामीकहाँ चाहिँ श्रम विभाजन अन्तर्गत बाजा बजाउनेहरू परे ।

वस्तादहरूले गाएको यस्तो रागहरूले छोएको कारण उनीहरूको सङ्गतबाट सङ्गीत सिके वेदप्रसादले । पछि उनको राम्रो ज्ञान थियो । वस्ताद रामप्रसाद रायले निकै पछि हाम्रो घरमा पान खाएको मुख लिएर राग गाउँदा कहाँ बेसुरा भयो भनेर औँल्याउदा वस्तादले स्वीकारेको मैले आफैँले देखेको छु । यस्तै अरू वस्तादले गाउँदा पनि । सुर लागेको नलागेको खुब ख्याल गर्थे । अरूले गीत गाउनेबित्तिकै हार्मोनियम त्यो धुन तत्काल निकालिहाल्थे । सितार त सितार वादक गणेश भण्डारीसँगै बसेर घण्टौँ बजाउँथे ।

कलकत्तामा गएर आफैँले गाएको गीतको रेकर्ड पनि गरे । र, पछि राजा महेन्द्रका लागि २०१३ सालमा स्वागत गानमा आफैँले सङ्गीत भरेर आफ्नो छोरो प्रकाशलाई गाउन पनि लगाए ।
भौँतारिएर अराजक बनेको बेला ज्योतिषी पनि सिके वेदप्रसादले । परिवेश नै सायद ज्योतिषमय भएर होला । त्यो बेलामा मेरो दिनदशा कस्तो छ हँ भन्‍ने तर्कना ज्यादै नै हुन्थ्यो अलि जानेका भनाँै या टाठाबाठाका लागि । र, हरेक चाडबाडमा पनि ज्योतिष घडीपला हेर्ने मात्र नभएर गृहस्थीको अभिन्‍न अङ्ग नै हुन्थे । हाम्रो घरको ज्योतिष बाजे चाहिँ थिए नक्साल नाटेश्वर गल्लीका । आमाको साँचोको झुप्पो हराइ रहन्थ्यो । धुइँधुइँ खोजेर नपाएपछि आमाले मलाई लिएर साँचोका लागि जाने ठाउँ त्यही हुन्थ्यो । ज्योतिषी बाजेले कुरा बुझेर बडो यत्नसँग पाटीमा हिसाब गरी खोज्ने ठाउँ बताइदिन्थे।

फर्केर घरमा उनले भनेको ठाउँमा हर्नेबित्तिकै त्यो साँचोको झुप्पो पाइन्थ्यो । तर मलाई अहिले लाग्छ ज्योतिष विज्ञानभन्दा संयोग धेरै बढी थियो त्यो । फर्किनु अगाडि बूढो ज्योतिषी बाजेले आफ्नो दुःखको कुरा विधवा छोरीलाई देखाएर मेरी आमासँग भन्थे । पहिलो राष्ट्रिय गान सन् १९२४ मा लेख्ने कवि चक्रपाणि चालिसे, जसले नेपाली साहित्यमा दुइटा युग जोड्ने सेतुको काम गरे, उनको छोराु लक्ष्मीनन्दन चालिसेसँग विवाह भएको थियो ज्योतिष बाजेको छोरीको । राणा कालको बेइमानी अझ मूलतः नाट्यसम्राट बालकृष्ण शमशेरको कारण उनको मृत्यु भएको थियो ।

तर्कराजकहाँ ज्योतिषहरू चिना हेरेर ग्रहदशाको फल बत्ताउँथे । भित्र बस्ने सबै देखाउन चाहन्थे । चिकित्सकसँग दोस्रो राय लिएको जस्तो विभिन्‍न आउने ज्योतिषीहरूलाई देखाउँथे । र, ज्योतिषीले ग्रहदशाको फल बताउँदा संस्कृतका ऋचाहरूसहित व्याख्या गर्नुपर्थ्यो र गणनाको हिसाब पनि देखाउनु पर्थ्यो । ज्योतिष शास्त्र एउटा विज्ञान जुन वैदिक कालबाट सुरु भएको हो । सौर्यमण्डलमा ग्रहहरूको गतिशील उपस्थिति, तिनीहरूबीचको अन्तर सम्बन्धहरू र त्यसबाट उत्पन्‍न तरङ्गहरू हिसाब किताब गरेर मान्छेको ग्रहदशाको फल व्याख्या गरेर निकालिने हुँदा वेदप्रसादले यसमा चासो लिए ।

यसको वैज्ञानिक पक्षले उनलाई आकृष्ट गर्यो न कि भोलि के हुन्छ भनेर । त्यहाँ जे जाने त्योभन्दा बढी उनले स्वअध्ययन गरेर सिके । पछिसम्म पनि ज्योतिषीहरूसँग दोहोरो छलफल गर्दा रमाउँथे । जीवन सिक्ने कुरामा अराजकतावादी भएको कारणले नै वेदप्रसादमा त्यो आत्मविश्वास, आत्मसम्मान र अठोटको तागत सधैँ विद्यमान थियो । जसको प्रतिफल हो उनी अरू भन्दा फरक बन्‍न सकेको व्यावसायिक रूपबाट मात्र होइन जिउने कलामा पनि ।

वेदप्रसादबारे वसन्तका लेख



Author

थप समाचार
ad
x