संस्मरण र अनुभूति
शासक, शासकीय र शासनको स्वरूप
‘ती नचिनिनेहरू जसले यो मुलुकलाई अत्यन्त माया गरे । श्वास–प्रश्वासमा माया गरे । माटोसँग लटपटिएर माया गरे । अनि यसको ताल सुरमा लयबद्ध भएर माया गरे । तिनीहरू कसरी हाँसे, कसरी खेले अनि बाँच्नको लागि कस्तो सङ्घर्ष गरे ? र, आवाजविहीन भएर कैयन् पटक कसरी रोए ? वास्तविक अर्थमा यो मुलुकको निर्माण गर्ने तिनीहरू हुन् । यो मुलुक बाँचेको तिनीहरूले गर्दा हो । त्यसैले मुलुकको इतिहास भनेको तिनीहरूको यो समग्रता हो, नकि शासकहरूको जन्म मरणको समय तालिका जसलाई इतिहास भनेर हामीलाई पढाइन्छ ।’
माथिको उद्धरण आजभन्दा १९ वर्ष अगाडि २००३ जनवरी ३ मा ‘स्पेस टाइम टुडे’ भन्ने अङ्ग्रेजी पत्रिकामा छापिएको ‘माई फादर’ नामको एउटा लेखबाट अनूदित गरेर लिइएको हो । त्यति बेला ८७ वर्ष काटेका एक वृद्ध त्रिपुरेश्वरको ह्याम्स अस्पतालको आइसियुमा मृत्युसँगको सहयात्रामा थिए । त्यसको तीन महिना पछि अप्रिलको ८ को हिजोको दिन राति उनले यस धरतीमा भएको आफ्नो भ्रमणबाट बिदा लिएका थिए ।
ब्रह्माण्डमा उनको भ्रमण अहिले जहाँ रहेको भए पनि मेरो हृदयले उनको स्पन्दन महसुस गरिरहेको छ । उनी हुन्– वेदप्रसाद लोहनी, नेपाललाई सिमेन्ट ढलान युगमा लैजाने पहिलो नेपाली । शृङ्खलाबद्ध रूपमा नवौँ पटक लेखिसकेपछि आज यसबारे अझ केही कुरा अर्थ्याउनु वाञ्छनीय ठहर्याएको हुँदा त्यस बारे केही कुरा गरौँ ।
जे लेखिँदै गएको छ त्यसको उद्देश्य हिजोको परिवेशलाई ठम्याउने जमर्को हो । त्यो परिवेश आजको हाम्रो वास्तविकतासँग निश्चित रूपमा जोडिएको छ । त्यति मात्र होइन यो मुलुक बाँचेको त्यो हिजोको परिवेश हो, जहाँ अरू कुरा जे सुकै किन नहोस् तर एउटा कुरा अत्यन्त बलियो थियो । त्यो थियो मुलुकको माया ।
त्यसको प्रतिफल हो आज हामी बाँचेका छौँ । त्यसको निरन्तरताको प्रतिफल आज हामी आफ्नो धरामा उभिएका छौँ । यो निरन्तरताभित्र धेरै कुरा अटाएका छन् । तर आजको वास्तविकता कहालीलाग्दो भएको कुरा जगजाहेर छ । हामी देखिरहेका छौँ र हामी भोगिरहेका छौँ यो सब एउटा कहिले नटुङ्गिने अगण्य रोदन लिएर ।
त्यसैले यो वास्तविकताको परिणति र यसमा के छ भन्ने भन्दा धेरै बढी हिजोको परिवेश कस्तो थियो भन्नेमा केन्द्रित भएर यो शृङ्खलाबद्ध अभिव्यक्ति क्रमशः बन्दै गएको छ । जलकणहरू जोडिँदै गएपछि प्रवाह निस्किन्छ गन्तव्यको खोजीमा । करिब त्यस्तै नै हो यी शृङ्खला जोडिँदै गएपछि निस्किने समय प्रवाहको । जे लेखिँदै गएको छ त्यसको लक्ष्य चिन्तन त्यो समय प्रवाहको मर्म गहिरोसँग महसुस गर्नु हो ।
त्यो संवेदनशीलतालाई त्यसरी नै टिप्नु हो जसरी गोताखोरले लहराउँदो समुद्रमा जोखिम लिएर डुबुल्की मार्छ मोती टिप्नका लागि । असल उद्देश्यका लागि सफा नियत लिएर गरिँदै आएको एउटा प्रयास मात्र हो यो ।
त्यो समय प्रवाहलाई कसरी बुझ्ने, अर्थात् त्यसमा अन्तर्निहित मर्मलाई । प्रवाह जसरी बहेको सतहमा देखिन्छ त्यो महत्त्वपूर्ण हुन्छ । तर त्योभन्दा धेरै महत्त्वपूर्ण त्यो प्रवाहलाई हाँक्ने अन्डर करेन्ट अर्थात् मुनिको प्रवाह कस्तो छ भन्नेमा हुन्छ । यो मुनिको प्रवाहमा धेरै कुराहरू मिसिएका हुन्छन् । के के मिसिएका छन्, कसरी मिसिएका छन्, कुन अनुपातमा मिसिएका छन्, कसको तागत कति छ, अनि रोक्ने तागत कति छ र फुक्ने तागत कति छ आदि केलाएर हेर्न र व्याख्या गर्न खोजेमा त्यो बढी प्राज्ञिक बन्छ ।
हाम्रो उद्देश्य मर्मको प्रत्याभूति गर्नु हो । यसै क्रममा निस्किने लेखनीहरूबाट कल्पनाको सेरोफेरो र पात्रहरू सम्मिलन गराएर उपन्यासहरू अनवरत जन्मिरहेका छन् । अमेरिकाको न्युयोर्क सहरमा मात्र हरेक दिन करिब ४ सय यस्ता किताब जन्मिन्छन् र धेरैजसो छोटो समयमा नै मर्दछन् पनि ।
यहाँनिर अलिकति अब इतिहासको कुरा गरौँ । जहाँ इतिहास व्यक्तिको लेखिन्छ त्यो बाँचेको इतिहास हो । जहाँ शासकको मात्र लेखिन्छ, त्यसभित्र फेरि धेरै कुरा पर्दछन् । कुन समयमा, कसले र कस्ता आधारहरूमा लेखिएका छन् त्यसले परिभाषित गर्छन् ती लेखनहरूलाई । बुद्धिवादबाट नै विरोधाभासको जन्म भएको ठोकुवा गरिन्छ ।
भनिन्छ अनुभूतिमूलक ज्ञान नै निर्णायक हो– अर्थात् संस्कृतमा भने जस्तै हो – प्रत्यक्षं किम् प्रमाणं । यस अर्थबाट हेर्दा भनिन्छ सबभन्दा प्रामाणिक इतिहास भनेको चीनको हो । कारण हो चीनको परम्परा । त्यो भनेको पारिवारिक विवरण या गाथा राख्ने जुन चलन छ चिनियाँहरूको त्यो जीवन पद्धति नै बनेको छ । यसै धारणाबाट भन्छन्– भारतको इतिहास नै छैन । नेपालको इतिहासको कुरा गर्नेबित्तिकै ह्यामिल्टन र कर्कप्याट्रिकबाट सुर गर्नुपर्ने हुन्छ ।
त्यसैले जे लेखिँदै गएको छ, शृङ्खलाबद्ध रूपमा त्यो नेपालको इतिहासको अनुभूतिमूलक प्रवाहको एउटा सानो पाटो हुन सक्छ । यस प्रयोजनको लागि मैले वेदप्रसादलाई लिएको हुँ । आफ्नो पिताको जीवन– वृत्तान्त या जीवन चरित्र लेख्नका लागि होइन । हो, हरेक सानो बच्चाले हुर्किने क्रममा आफ्नो पिता भन्दा ठूलो कोही देखेको हुँदैन । पछि मात्र उसले आफ्नो पिताको तागत र कमजोरी र समाजसँगको सम्बन्ध बुझ्दै जान्छ । उसले ठीक धारणा पनि बनाउँछ । तर पिताप्रतिको उसको सम्मान सधैँ अटल रहन्छ । कतिले अभिव्यक्त गर्छन्, कतिले गर्दैनन् । त्यो बेग्लै कुरा हो ।
मैले भनेको कुराको मर्म अर्थ्याउन महाभारतको एउटा दृष्टान्त लिन चाहन्छु । महर्षि वेदव्यास महाभारतको रचयिता मात्र होइनन् त्यसको प्रत्यक्षदर्शी पनि हुन् । उनले धृतराष्ट्रको मन्त्री सञ्जयलाई दिव्य दृष्टि दिएका थिए । यो दिव्य दृष्टिले गर्दा राजासँग हस्तिनापुरको दरबारमै बसेर सञ्जयले सारा युद्धभूमिको हरेक गतिविधि देखिरहेका थिए ।
यसैको सहारा लिएर सञ्जयले अन्धो राजा धृतराष्ट्रलाई कुरुक्षेत्रमा आफूले देखेको विवरण एक एक गरेर सुनाइरहेका थिए । धृतराष्ट्र आँखाको अन्धो मात्र होइन, पुत्रमोहको पनि अन्धो थिए । त्यसैले सञ्जयको विवरणबाट दुर्योधनको पल्ला भारी भएको बेलामा उनी पुलकित हुन्थे भने पाण्डवको भएको बेला विचलित हुन्थे । यो आवेगको पिङ खेल्नु नै उनको नियति बनेको थियो ।
भगवान् कृष्णले त्यो धर्म युद्धमा अर्जुनको सहायता खोजिरहेका प्रसङ्गबाट नै श्रीमद्भागवत गीता बनेको छ । चाहे विश्वरूप देखाएको कुरा होस् या मैले सबैलाई मारिसकेको छु भन्ने या तिमी त निमित्त मात्र बन्ने हो भन्ने कुरा होस् । समग्रमा उनी अर्जुनसँग युद्ध लड्न याचना गरिरहेका छन् । मलाई लाग्छ यसबाट के स्थापित हुन्छ भने हामीलाई मात्र भगवान् चाहिने होइन, भगवान्लाई पनि हामी चाहिन्छ । यस सम्बन्धमा आफ्नै पुरानो एउटा कविताका यी
दुई हरफ :
‘मैले हाँस्दा देवता दङ्ग परेको देखेको छु
अनि मलाई दुख्दा देवता रोएको पनि सुनेको छु’
यो विषय कहिले नसकिने खालको छ । त्यतापट्टि अहिले जाने हाम्रो अभिप्राय होइन । तत्काल लिन खोजिएको प्रयोजन हो त्यो दृष्टि । म बाचेको भन्दा अगाडिको समयको प्रवाह जहाँ मेरो दृष्टि पुग्न सक्तैन त्यो परिवेशलाई मैले मेरो पिता वेदप्रसादको अनुभूतिमूलक ज्ञानले हेर्ने खोजेको हो । अर्थात् निश्चित प्रवाहको पाटो या कालखण्ड देखेका आँखाहरूका सहाराले ठम्याउने प्रयास गर्दा वेदप्रसाद एउटा पात्र बनेका छन् । मैले बोलाउने पात्र होइनन् उनी । देखेको, भोगेको अनुभव गरेको आधारमा उनले जे मलाई बताए त्यो समयको सेरोफेरो या परिवेशको, त्यसको आधारमा बिर्को उघारेर हेर्ने जमर्को हो यो ।
प्रश्न उठ्न सक्छ– किन वेदप्रसाद नै चाहिएको ? यसको जबाफमा मैले दुइटा कुरा भन्नु पर्दछ । पहिलो हो उनको कुरामा मलाई पूरा विश्वास भएकाले । दोस्रो हो उनीसँग मैले आफू जन्मेदेखि उनलाई आर्यघाट लैजाने सम्मको ५३ वर्ष सँगै बिताउने सौभाग्य पाएको कारणले । हामी बुटवलमा उद्योग सञ्चालन गर्दा अफिसमा सँगै काम पनि गर्यौ । घरमा एउटै कोठामा सुत्यौँ ।
बुढेसकालमा मान्छेलाई आफ्नो कुरा भन्न मन लाग्छ । तर ऊ एक्लो हुँदै गइरहेको हुन्छ । कोही सुनिदिने मान्छे चाहिन्छ । आफू ११ वर्ष हुँदा १० वर्षकी केटीसँग विवाह गरिदिएको र उसैसँग खेल्दै र हुर्किंदै ६८ वर्ष सँगै बिताउँदै आएका वेदप्रसादको अर्धाङ्गिनी नारायणीदेवीको मृत्यु २०५१ माघ १८ गते भएपछि उनी एक्लो भएका थिए ।
म र मेरी श्रीमती उषा सँगै रह्यौ उनीसँग भगवान्को असीम अनुकम्पाले गर्दा । तर त्यो रिक्तता हामीले लाख प्रयास गरे पनि भर्न सक्ने कुरा थिएन । अध्ययनशील थिए उनी धार्मिक ग्रन्थहरू पढ्नमा । त्यस्तै क्रियाशील थिए उनी भवन निर्माणगर्ने काममा । समग्रमा कर्मवीर थिए । क्यान्सरले उठ्न नसक्ने नपारुन्जेल उनी नियमितरूपमा निर्माण स्थल जान्थे रेखदेख गर्न ।
अर्थात्, मृत्यु हुने ६ महिना अगाडिसम्म पनि उनी घर बनाइरहेका थिए । तर पनि त्यो एक्लोपनाको रिक्तता भरिन सक्ने कुरा थिएन । उषा व्यस्त थिइन् प्राध्यापन र गृहस्थीमा । म लेखपढमा । घरमा चाडबाड भई नै रहन्थे जसको व्यवस्था मिलाउने हाम्रो दायित्व थियो । नाति उत्सव र सँगै पशुपति जाने नातिनी अनु, जो उनको साथी जस्तै बनेकी थिई, उनीहरू पनि पढ्नको लागि विदेश गएपछिको अवस्थामा अझ एक्लो भए उनी ।
त्यति बेला हो उनी मलाई देख्नेबित्तिकै भन्थे– बस्न, कुरा गर्नु छ तँसँग । र, त्यति बेला नै हो उनले आफूले देखेको र भोगेको जीवन एउटा फराकिलो सामाजिक परिवेशको क्यान्भासमा मलाई छर्लङ्ग देखाएको । अर्थात्, त्यो कथाको सिलसिला भन्दै गएको । उनले ८० वर्ष काटी सकेपछि, अझ मूलतः ८५ वर्षपछिका कथनहरू हुन् यी ।
यसरी उनको हर शब्द, लय, भाव भङ्गी महसुस गर्ने मौका मैले पाएको थिएँ । मेरो यो सार्वजनिक लेखनी हो । मेरो इमानदारीले न उनको बढाइँचढाइ गर्न सक्छ, न उनको देवत्वकरण । तर यसको बाबजुद यति भन्नै पर्दछ उनी मामुली पात्र चाहिँ थिएनन् । एउटा भिजनरी अर्थात् परसम्म हेर्न सक्ने दृष्टि भएका व्यक्ति थिए । त्यो दृष्टि कसरी आयो उनमा भन्ने कुरा छलफलको अर्को पाटो बन्न सक्छ ।
यति भनेपछि स्वरूपको कुरो आउँछ । त्यो भनेको त्यो परिवेश समात्ने र त्यसको तस्बिर चित्रण उनले बताएको आधारमा गर्दा, परिवेशसँग आबद्ध अन्य पात्रहरूमा परिवारका सदस्यहरूको बाहुल्य हुन सक्छ । यसको मिश्रण गर्दा अर्थात् परिवार र त्यो परिवेशको अनुपात मिलाउँदा कहिलेकाहीँ त्यो सन्तुलन नमिल्न पनि सक्छ ।
वेदप्रसादसँग आबद्ध र उनलाई स्पर्श गरेको सेरोफेरोबाट प्रवाहित यो समय भएको हुनाले वेदप्रसादको कुरा निश्चितरूपमा बढी आउने छन् । तर यो पारम्परिक जीवन–वृत्तान्त होइन । उनको अनुभूतिमूलक जीवनीबाट उद्गम भएको परिवेशसँग मिश्रण गरिएको कथा चाहिँ पक्कै हो । मैले अघिल्लो शृङ्खला ‘टालिएका झ्यालहरू’मा लेखिसकेको हुँ– ‘यस्ता कथाहरूलाई विलुप्त हुनबाट जोगाउन सक्नु नै वास्तवमा लेखक तथा इतिहासकारका लागि ठूलो चुनौती हो ।’ निश्चितरूपमा यो शृङ्खलाबद्ध लेखनको उद्देश्य त्यस्ता कथाहरूलाई विलुप्त हुनबाट सकेसम्म जोगाउनु हो ।
यो आधारमा नै मैले लेख्दै आएको छु । त्यसै आधारभित्र बसेर अब १०६ वर्ष अगाडि हेरौं । वेदप्रसाद जन्मेको सन् १९१५ सेप्टेम्बर २ बिहीबारको दिन अर्थात् कृष्णाष्टमीको भोलिपल्टको काठमाडौँ पुगौँ । र, अलिकति विश्व सेरोफेरो र विद्यमान धारणा पनि । चन्द्र शमशेरको आधिपत्यको समय । ‘सन्तानले डाँडा काँडा ढाकोस्’ भन्ने बेला । अहिले ३ करोडको हाराहारीमा भएको नेपालको जनसङ्ख्या त्यति बेला करिब ५६ लाख मात्र थियो ।
काठमाडौँको त करिब ५५ हजार । परिवार नियोजनको न चेत थियो, न सुनेका थिए, न साधन नै । विश्वमा नै यो चेत त्यसको १५ वर्षपछि सन् १९३० मा मात्र आएको हो । त्यति बेला काम गर्ने मान्छेहरू अर्थात् श्रमिकहरूको आवश्यकता बढी थियो । खेती गर्न मान्छे चाहिने । वस्तु उत्पादन गर्न पनि मान्छे । बस्ती बसाउन मान्छे । मान्छेले गर्ने काम प्रतिस्थापन गर्ने त्यति यन्त्रहरू आइसकेका थिएनन् । मान्छे नै सस्तो थिए । युद्ध लड्न मान्छे चाहिने । प्रथम विश्व सुरु भएको एक वर्ष भइसकेको थियो । मान्छेको माग झन् बढी थियो ।
तर कोलोनी बनाएर शोषण गर्न खप्पिस युरोपेली देशहरूले यस क्षेत्रका मान्छेलाई मान्छे नै देख्दैनथे । वेदप्रसाद जन्मेको भन्दा २८ वर्षपछिको दोस्रो विश्वयुद्धताका ब्रिटिस इन्डियाको बङ्गालमा सन् १९४३ मा भएको ठूलो भोकमरीको बेला बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले दिल्लीमा भाइसरायलाई पठाएको आदेशले यो मानसिकता छर्लङ्ग देखाउँछ ।
भोकमरी भन्दा मान्छेको आपूर्ति घट्ला भन्ने चिन्ता उनको थियो । त्यसैले उनको निर्देशन थियो, ‘भारतीयहरूको सुँगुर ब्याएको जस्तो ब्याउने क्रममा कमी आउनु हुँदैन । त्यतापट्टि धान दिनु ।’ ती त उपनिवेशवादी शोषक भए । जनताका लागि शासन गर्ने हाम्रो आफ्नै शासकको शोषणमा पनि मान्छे भनेको उनीहरूको आमोदप्रमोदको वस्तु सरह नै थिए ।
वेदप्रसाद जन्मेको बेलाको त्यो युद्ध पनि मूलतः बेलायत र जर्मनीको बीच थियो– सेन्ट्रल पावर र एलाइज् भनेर । चन्द्र शमशेरले एक लाख नेपाली सेना दिएका थिए बेलायतलाई लड्न । नाम कमाए हाम्रा नेपालीहरूले पूर्ण निष्ठा र इमानको साथ ब्रिटिसले खटाएको ठाउँमा लडेर– इजिप्टमा होस् कि मेसोपोटामियामा । दुई हजार वीर पदकसहित बहादुरीको शिखर मानिने दुइटा भिक्टोरिया क्रस नै जिते ।
त्यसको आफ्नै कथा छ । तर चन्द्र शमशेरले एक किसिमले भनौँ भने गरिब नेपाली तन्नेरीको सेवा बेचेका थिए यस अर्थमा कि त्यसबापत जे रकम नेपाललाई आयो त्यो उनले आफैँ खाए । चानचुन रकम थिएन त्यो । थियो– ४ करोड १० लास ब्रिटिस पाउन्ड । दस वर्ष अगाडिको मूल्यमा ४ खर्ब ५० अर्ब नेपाली रुपैयाँ । अहिले मूल्यमा त झन् बढी ।
धर्मभीरू समय थियो वेदप्रसाद जन्मिँदाको समय नै । अर्थात्, पाप र धर्मको डर थियो आम मानिसमा । त्यति बेला कानुनले भन्दा धेरै बढी यसले नै सामाजिक सन्तुलन कायम गरेको थियो । यो संस्कारगत रूपबाट नै आएको हुन्थ्यो । आमाको गर्भमा बच्चा हुनेबित्तिकै आमालाई धार्मिक कथा सुनाउने गरिन्थ्यो । यसको मूल उद्देश्य जन्मिने बच्चाको संस्कार राम्रो होस् भनेर नै हो ।
महाभारत युगका सुकदेवमुनिले जस्तो आमाकै गर्भमा ज्ञान प्राप्त गरेको कुरा पछिको युगमा अतिरञ्जना भए पनि आमाको गर्भमा भएको बच्चाले ध्वनि संवेदना ग्रहण गर्न सक्ने कुरा अहिलेको विज्ञानले पुष्टि गरेको छ । बच्चा जन्मेपछि विद्या ग्रहण गर्न थालिसकेको हुन्छ । त्यो भनेको बाबु आमाले सिकाउने कुराहरू । यही कुरा भन्थे वेदप्रसाद– ‘मेरो बाल्यावस्था एकदम रमाइलो थियो । आमा–बाबुले राम्रा कुरा सिकाउँथे, संस्कृतको श्लोक वाचन गरेर ।’
पहिलो विश्वयुद्ध सकिएको एक वर्ष भएको थियो । युद्धबाट फर्केर आउनेको केही चहलपहल पनि । वेदप्रसादले चार वर्ष सकेर पाँच टेके । ‘प्राप्ते तु पञ्चमे वर्षे’ भन्ने वैदिक मान्यताअनुसार उनको अक्षरारम्भ भयो । यो क्रम वेदप्रसादले आफ्ना नाति–नातिनीहरूकोमा पनि कायम राखे । तर मैले राख्न सकिनँ किनकि मेरा नाति–नातिनी विदेशमा जन्मे ।
अक्षर आरम्भलाई ठूलो संस्कारका रूपमा लिइन्छ र यो गराउने मान्छे सत्पात्र हुनु अनिवार्य हुन्छ । वेदप्रसाद भन्थे, ‘मेरो पिता, जसलाई हामी सबै ‘बाउ’ भन्थ्यौँ, उहाँले कुल पुरोहित अम्बर राज तिवारीबाट गराउनु भएको थियो ।’
विद्याका लागि गणेश, शिक्षाको लागि सरस्वती, माध्यम बनेको लेखनी र सो दिने गुरु भएकाले यी चारको पूजा गरिन्छ । विद्या भनेकै विवेक हो जसको आधारमा मान्छे फरक हुने हो । शिक्षाले काम गर्ने सीप दिने हो जीवनमा । यस अर्थमा विश्वको सर्वोत्कृष्ट विश्वविद्यालयमा पढेर शिक्षित हुँदैमा त्यो मान्छे विद्यावान् अर्थात् विवेकी हुन्छ भन्ने छैन ।
यी सब कुरा अर्थ्याउँदै उनले पञ्चतन्त्रको मूर्ख पण्डितको कुरा पनि बताएका थिए । ठूलो पण्डित बनेर घर फर्कंदा बाटोमा पर्ने नदी तर्न लाग्दा अचानक बाढी आउँछ । पौडी खेल्न नजान्ने साथी डुब्न लाग्यो । आफूले पढेको सूत्रअनुसार आधा बचाउन उसले आफ्नै साथीको टाउको काटेर नदी तरेको थियो । सूत्र थियो वेदप्रसादले मलाई सुनाएको यो श्लोकमा– सर्वनाशे समुत्पन्ने ह्यर्धं त्यजति पण्डितः ।
‘अष्टवर्षा भवेद्गौरी नववर्षा च रोहिणी’ भन्ने मान्यता थियो त्यति बेला । वेदप्रसाद भन्थे– ‘मरो सातै दिदी बहिनीहरूको विवाह नौ वर्ष नकाट्दै भएको थियो ।’ व्रतबन्ध चाहिँ सात वर्ष लागेपछि गर्ने चलन थियो । ६ वर्षको हुँदा लक्ष्मीनाथ भन्ने ब्राह्मणको हातमा वेदप्रसादलाई सुम्पे उनको पिताले यो भनेर– ‘१३ अध्याय चण्डी एक वर्षभित्र यसलाई कण्ठ भएन भने म निको मान्ने छैन ।’
त्यसै गरी वेदप्रसादलाई पनि भने– ‘म तँलाई पनि छोड्ने छैन ।’ यसरी एक वर्ष भित्र १३ अध्याय चण्डी मात्र कण्ठ पारेनन् उनले केही रुद्री पनि कण्ठ पारे । यसपछि बल्ल उनले द्विजत्व प्राप्त गरे । दशैको नवरात्रीमा उनी चण्डी मुखाग्र पाठ गर्थे । घरमा पूजाआजा गराउन पुरोहित नआएको वेला उनी आफै गराउँथे । कर्मकाण्ड जानेका थिए ।
त्यति वेला संस्कृतको खुब माहात्म्य थियो । देव वाणी मानिने संस्कृतको शिक्षा आम धर्मभीरू आफ्ना सन्तानलाई पढाउन चाहन्थे । त्यसै गरी शासक रोजाइ पनि । यसको पढाइ धर्माधिकार र शासक एकले अर्कालाई ठूलो बनाएर राज्यगर्ने वैधानिकतालाई मजबुतगर्ने काममा उपयोगी ठहरिन्थ्यो । अङ्ग्रेजी भन्दा बरु धर्मसँग मिसिएको संस्कृत शिक्षा तुलनात्मक रूपमा कम खतरनाक ठान्थे राणा शासकहरू ।
त्यसैले काठमाडौँ बाहिर भोजपुरमा पहिलो संस्कृत पाठशाला खुलेको थियो । त्यसको दुई वर्षपछि मात्र रानीपोखरीमा संस्कृत पाठशाला सन् १८७७ मा खुलेको हो । बस्न र खाने सुविधा पनि दिइएको थियो छात्रवृत्ति दिएर ।
पहाडका विभिन्न भागका ब्राह्मण केटाहरू आएर पढ्थे । यी बटुकहरू जेहनदार हुन्थे । काठमाडौँ छिर्ने यो माध्यम पनि बनेको थियो । यसरी नै आएकाहरू पछि वरिष्ठ व्यक्तित्व पनि बन्न सफल भए । जस्तो माधव प्रसाद घिमिरे, यदुनाथ खनाल आदि । तर शासकहरूले सोचे जस्तो संस्कृत पाठशाला सुरक्षित भने रहेन उनीहरूको लागि ।
जयतु संस्कृतम् अभियानकै रूपमा चलाए विद्यार्थीहरूले सन् १९४७ देखि नेपालको इतिहासमा पहिलो विद्यार्थी आन्दोलनको रूपमा प्रजातान्त्रिक हक अधिकारको लागि । नेताहरू थिए– श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, कमलराज रेग्मी आदि ।
वेदप्रसादलाई उनको पिताले छोरो तेज देखेर संस्कृत पढाउन लागेका थिए । तर उनको दाजु फणीन्द्रप्रसाद, जसलाई सुरुबाट नै अङ्ग्रेजी पढाइएको थियो, उनीले अनुनय गरे पितासँग भाइलाई अङ्ग्रेजी पढाउन । रुद्र प्रसादले भने– लौ, तैँले भनेको मान्छु कृष्णको हकमा, अङ्ग्रेजी पढाँ भाइलाई । त्यसोभए वासुलाई संस्कृत पडाउँछु ।
वासु भनेको उनको साहिँलो छोरो वासुदेव । उनले संस्कृत पढे शास्त्रीसम्म । दाजुले त्यति नगरेको भए वेदप्रसादले संस्कृत पढेको हुन्थे । कति अटाउँथे त्यसमा त्यो बेग्लै कुरो हो । यदि संस्कृत पढेको भए सिमेन्ट ढलान युगमा नेपाल पछि मात्र पुग्थ्यो । प्रविधि त आउँथ्यो नै । कसैले त ल्याउँथ्यो । प्रश्न कति पछि भन्ने हो ।
यसरी वेदप्रसाद दरबार स्कूलमा पुगे । जङ्गबहादुरको बेलायत भ्रमणको प्रतिफल बनेर खुलेको दरबार स्कूल राणा बाहेक अरूलाई पनि पढ्न खुला भइसकेको थियो । अरूलाई खुलाउनु आवश्यक यस कारण पर्यो कि हुकुमी शासन चलाउन पनि केही अर्धदक्ष मानिसहरूको आवश्यकता बढ्दै गएको थियो । यो आवश्यकताले गर्दा सन् १९०५ मा स्रेस्ता पाठशाला पनि खुलिसकेको थियो ।
निजामती कर्मचारी हुन यहाँबाट पासगर्नु पर्थ्यो । जति पास बढी भयो त्यति जान्ने मानिन्थ्यो । दुई पास, चार पास, छ पास र आठ पासको क्रममा । धेरै प्रचलनमा ‘चार पास’ अर्थात् हिसाव, स्रेस्ता अरू दुई विषय पास गरेकाको माग थियो । यो पास गर्नेहरूलाई ‘चार पासे’ भनिन्थ्यो । यिनले नौसिन्दा वा सो सरहको जागीर पाउँथे श्री ३ को हुकुम भएर दाम राख्न पाएपछि ।
दरबार स्कूलबाट पढाइ सकी म्याट्रिक पास गरेकाले कलेजमा पढ्ने अवसर सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापनाले जुराइसकेको थियो । तर दरबार स्कूलको कक्षामा समेत नअटाएका वेदप्रसाद त्रिचन्द्र कलेजको कक्षाभित्र पुग्ने कुरै भएन । त्रिचन्द्र कलेजको स्थापना शासक चन्द्र शमशेरको चाहनाले नभएर समयको चापबाट भएको थियो ।
यो कुरो चन्द्र शमशेर आफैँले भनेका छन् । राणा शासनको निरन्तरताका लागि जनचेतना घातक हुने कुरो शासकहरूले बुझेको कारण सकेसम्म जनतामा चेतना आउन सक्ने सबै झ्याल ढोकाहरू बन्द गर्ने नै ध्येय थियो । यहाँनिर यति भनिहालौँ कि यस्तो विरोधाभास प्रस्टसँग देखिन्थ्यो प्रजातान्त्रिक नेपालमा शासकहरूमा पनि ।
वास्तवमा अझ प्रस्टसँग । त्यति बेला शासकीय स्वरूप कमजोर होला कि भन्ने डर थियो शासकहरूमा । अहिले भने बदलिएको स्वरूपको विरोधाभासहरू पुरै उदाङ्ग नै भएका छन् । हिजो शासकीय स्वरूप गुम्ने डर थियो भने आज आधा दर्जन शासकलाई शासनको स्वरूप गुम्ला भन्ने डरले गर्दा जनजीविका नै ध्वस्त भएको छ ।
क्रमशः
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया