भाइरस खतरनाक त हो तर, आधारभूत सेवाको प्रबन्ध नगर्दा मृत्यु बढ्यो
कोभिड-१९ बाट संक्रमित हुने र मृत्यु हुनेको संख्या कम भइरहेको छैन । उपचारका लागि अक्सिजन र बेडसमेत अभाव छ । भर्खरै नेपालमा थप दुई नयाँ भाइरस पुष्टि भइसकेको छ । यसले नेपालमा त्रास पैदा भएको र सरकारलाई संक्रमितको उपचार व्यवस्थापनमा चुनौती थपिएको छ । महामारीमा जोखिममा रहेका ज्येष्ठ नागरिक खोपबाट वञ्चित भइसकेका छन् । अमेरिकामा भने कोभिडविरुद्धको दुवै डोजको मात्रा लगाएकालाई मास्क नलगाउनलाई सीडीसीले अनुरोध गरिसकेको छ । यसै सन्दर्भमा अमेरिकामा रहेका इबोलाविरुद्ध एन्टी बडी औषधि बनाउने तथा मेयो क्लिनिकमा कार्यरत भाइरोलोजिस्ट डा. सुदीप खड्कासँग इकागजकर्मी अतिन आचार्यले गरेको संवाद :
नेपालमा कोभिड-१९ को दोस्रो लहर चलेको छ । यही समयमा थप दुई भाइरस देखिएको छ, यो भाइरस कस्तो खालको हो ?
नेपालमा अहिले देखिएको र भारतमा फैलिएको उस्तै पाइएको छ । सुरुवाती चरणमा देखिएको भाइरसभन्दा थोरै केही परिवर्तन भएको छ । जुन परिवर्तित सुरुमा भारतमा पत्ता लागेको थियो । नेपालमा पनि त्यही परिवर्तित स्वरूप भएको भाइरस फेला परेको हो । यो नौलो विषय होइन, भाइरस स्वभावैले परिवर्तनशील हुन्छन् ।भारतमा मात्र होइन, संसारका अन्य मुलुकमा समेत फरक-फरक स्वरुप भएका भाइरस फैलिएका छन् ।
समग्रमा अहिले नेपालमा फैलिएको भाइरस पनि त्यही नियमित प्रक्रियाबाटै परिवर्तन भएको भाइरस हो । प्रारम्भिक अनुसन्धानबाट यो भाइरस पुरानोभन्दा थोरै बढी संक्रामक छ । यसको विस्तारलाई नियन्त्रण गर्न मेहनत गरिरहनु परेको हो । विश्व स्वास्थ्य संगठनले पनि यो परिवर्तित भाइरसलाई मिहिनपूर्वक अध्ययन गरिरहेको छ ।
भर्खरै अनुसन्धान गरी शोधपत्र पनि निकाल्नुभएको छ । अहिले देखिएको भाइरसको अनुसन्धान गर्न यसले कसरी सहयोग गर्छ ?
हामीले फरक प्रजातिको आरएन भाइरसको अनुसन्धान गरेका थियौँ जसमा एउटा औषधिले भाइरसमा के कसरी काम गर्छ भनेर खोज गरेका थियौँ । त्यही अनुसन्धानका क्रममा हामीले कम डोजको औषधि प्रयोग गरेर औषधि प्रतिरोधी भाइरस पनि ल्याबमा सिर्जना गरेका थियौँ । त्यो पूर्ण सुरक्षित प्रयोगशाला को परिवेशमा अध्ययन गरिएको हो । हाम्रो अनुसन्धानले भाइरसमा आएको सानो परिवर्तनले पनि औषधिले काम नगर्ने हुन सक्छ भन्ने देखाएको छ ।
यस्ता अनुसन्धानका सूत्रहरू कोभिडलगायत अन्य भाइरसको अध्ययन गर्न सहज हुन्छ । मूलतः कोभिडको नयाँ-नयाँ भेरियन्ट देखिँदै गएको परिप्रेक्ष्यमा त्यस्ता भेरियन्ट कसरी बन्छन्, औषधि र उपचार पद्धतिको गलत प्रयोगले झन् खतरनाक भाइरस कसरी उत्पन्न हुन्छन् । नयाँ भेरियन्ट पत्ता लगाउन कसरी सम्भव छ भन्ने जस्ता अनुसन्धान गर्न हाम्रो अनुसन्धानले थप सहयोग गर्नेछ ।
सिक्वेन्सिङ गरेर कोरोनाको नयाँ भेरियन्टको पहिचान भएको छ । जसमाथि औषधिको कत्तिको प्रभाव हुन्छ ?
कोभिडविरुद्ध काम गर्ने गतिलो औषधि नभएको अहिलेको अवस्थामा अहिलेका भेरियन्टमा औषधिहरूको प्रभाव के कस्तो होला भन्न कठिन छ । तर हामीसँग अहिले विभिन्न खोप भने उपलब्ध भइसकेका छन् जसको भने केही विश्लेषण गर्न सकिन्छ । नेपालमा देखिएको भेरियन्टमा भएका केही परिवर्तनहरू भाइरसको स्पाइक प्रोटिनमा देखिएका छन् ।
अहिले प्रयोगमा आएका थुप्रै खोप पनि त्यही प्रोटिनविरुद्ध ’एन्टीबडी’ उत्पादन गर्ने गरी तयार गरिएका छन् । स्पाइक प्रोटिनमा कुनै पनि परिवर्तन आउनासाथ खोप प्रभावकारी नहुने सम्भावना रहन्छ । प्रारम्भिक अनुसन्धानले नयाँ भेरियन्टविरुद्ध खोपले काम गर्दै नगर्ने भन्ने होइन ।
दिनप्रतिदिन मृत्युदर बढिरहेको छ । नेपालमा देखिएको नयाँ भाइरस पत्ता लगाउन ढिलो भएको होइन र ?
नयाँ भेरियन्ट पत्ता लाग्न ढिलाइ भएकै हो । तर नयाँ भेरियन्ट पत्ता लगाउन प्रयोग हुने सेक्वेन्सिङ प्रविधि नेपालमा सुलभ छैन । नेपालको आफ्नै सेक्यून्सिङ सम्बन्धी नीति नियम पनि विदेशमा नमुना पठाएर पत्ता लगाउन सहयोगी हुने खालका छैनन् । त्यसैले नयाँ भेरियन्ट पत्ता लगाउन तत्काल सम्भव थिएन र आगामी दिनमा पनि सहज छैन ।
संक्रमित पत्ता लगाउन गारो भने थिएन । अहिलेको आँकडा जस्तो दुई हप्तामा हजारौँ संक्रमित एक्कासि भएको होइन । भित्रभित्रै फैलिएको थियो तर सरकारको शैली सकेसम्म कम संख्यामा संक्रमित पत्ता लगाउनु थियो । सुरुवाती चरणमा यो संक्रमितको संख्या थोरै हुँदा हामीले थाहा पाउन सकेनौँ । सुरुमा रोक्न सकेको भए अहिलेको जस्तो अवस्था आउने थिएन ।
अहिले बढेको मृत्युदर पनि भाइरस आफैँ खतरनाक भएको भन्दा पनि स्वास्थ्य सेवामा आधारभूत आवश्यकताको पूर्ति नहुँदा भएको हो । धेरै संक्रमितको बाँच्ने आधार हुँदाहुँदै अक्सिजन लगायतका आधारभूत आवश्यकता पूर्ति हुन नसक्दा वा उचित स्वास्थ्य केन्द्रसम्म पहुँच नपुग्दा ज्यान गुमिरहेको छ ।
नेपालमा दुई वटा कम्पनीको खोप लगाइएको छ । दोस्रो चरणमा देखिएको भाइरसलाई यसले नियन्त्रण गर्न सक्छ वा देख्दैन ?
अहिलेको खोप संसारमा देखिएका सबै भेरियन्टविरुद्ध उचित मानिन्छ । केही तलमाथि होला तर सबै ठीक छन् । खोपले मात्र यो चरणको संक्रमण नियन्त्रण गर्दैन । खोपले काम नगर्ने भएर होइन खोपले काम गर्दागर्दै पनि यसका केही सीमितता छन् । पहिलो त पूर्ण रूपमा काम गर्न खोपको दुई मात्रा भएको हुनुपर्छ । दोस्रो खोपको पूर्ण असर खोप लगाएको दुई तीन हप्तापछि देखा पर्छन् । तेस्रो सामान्य अवस्थामा समेत खोप खरिद, वितरण र अभिलेखीकरण इत्यादि चुनौतीपूर्ण छन् । यसमा केही समय लाग्छ अहिले खोप खरिद गर्न पनि नपाउने अवस्था छ । महामारीको बीचमा खोप अभियान सञ्चालन गर्न पनि गाह्रो छ । खोप लगाउँदा लगाउँदै संक्रमण नफैलियोस् भन्नका लागि व्यवस्थापन चुनौतीपूर्ण छ ।
सरकारले फेरि पहिलो डोज खोप लगाको १६ हप्तामा लगाउँदा हुन्छ भनेको छ । यसको प्रभावकारिता कत्तिको रहला ?
अहिले विभिन्न खोप प्रयोगमा छन् र खोपको प्रकार हेरी तीनदेखि चार हप्ताको अन्तरालमा दिने भनिएको छ । यो अन्तराल सम्बन्धित खोप जुन अन्तरालमा परीक्षण गरी प्रमाणित गरिएको थियो, त्यही समयलाई आधार मानी सुरुवाती चरणमा खोपको तालिका निर्धारण गरिएको थियो । अहिले आएर दुई खोपको अन्तराल अझै फराकिलो पार्दा पनि हुने आधार भेटिएका छन् ।
खोपको पर्याप्त उपलब्धता नभएको अवस्थामा धेरैभन्दा धेरै संख्यामा खोप पुर्याउन पनि दुई खोपको अंतराल केही बढाउँदा सहज हुन्छ । तर पूर्ण खोप लगाएका व्यक्तिभन्दा एउटा मात्र खोप लगाएका व्यक्ति अलिकति कम सुरक्षित हुन्छन् । तसर्थ खोपको मात्रा पुर्याउनु आवश्यक छ । एक खोपभन्दा पूर्ण खोप लगाएका सुरक्षित मानिएको छ ।
खोप सम्बन्धी पनि अमेरिकाको सीडीसीलेले खोपको दुई डोज लगाएपछि मास्क नलगाउनुपर्ने भनिसकेको छ । यसको प्रभावकारिता बढेकै हो त ?
पूर्ण खोप लगाएका व्यक्ति आफैँ पनि संक्रमित हुने सम्भावना न्यून हुन्छ । संक्रमित भएको खण्डमा गम्भीर लक्षण देखिने गरी अर्थात् भाइरसको लोड उच्च हुने गरी बिरामी हुने सम्भावना न्यून हुन्छ । तसर्थ खोप लगाएका व्यक्तिका माध्यमबाट संक्रमण सर्ने सम्भावना थोरै हुन्छ । मुख्य कुरा खोप लगाउने र नलगाउनेको बिचमा हो । संक्रमण हुनै सक्दैन वा सर्नै सक्दैन भन्ने होइन ।
खोप लगाएका व्यक्तिबाट खोप नलगाएकामा सर्ने सम्भवना बढेर जान्छ । तर दुवै परिस्थितिमा खोप नलगाएकाबाट संक्रमण सर्न सक्ने सम्भावनाभन्दा निकै कमी हुन्छ । पूर्ण खोप लगाएका व्यक्तिहरू भेट्दा मास्क नलगाउँदा पनि हुन्छ भनिएको हो । वैज्ञानिक रूपमा अनुसन्धान गर्दा खोप लगाएका व्यक्तिबाट अर्को खोप लगाएका व्यक्तिमा सर्ने सम्भावना नगण्य हुन्छ । सीडीसीले यस्तो व्यवस्था गरेको हो ।
अहिले देखिएका भाइरसका लागि नयाँ खोपको निर्माण गर्नुपर्छ वा बनिसकेको खोपले काम गर्छ ?
हालसम्म त पुरानै खोपले काम गर्ने देखिएको छ । तर भविष्यमा नयाँ-नयाँ भेरियन्टको विकास हुँदै जाँदा नयाँ केही परिमार्जित खोप लगाउनुपर्ने हुनसक्छ । भोलि गएर यही खोपले काम गर्ने अवस्थामा पनि हाम्रो प्रतिरोध क्षमतालाई चुस्त राख्न समय समयमा बुस्टर खेप लगाउनुपर्ने हुन सक्छ । सबै अनुसन्धानकै पाटोमा छन् ।
अहिले देखिएको भाइरसलाई प्लाज्मा थेरापी र रेम्डिसिभिर पनि काम नगर्ने भनेको छ नि, किन यसको प्रभावकारिता कम भएर गएकै हो ?
प्लाज्मा थेरापी र रेम्डिसिभरको अत्यन्तै सीमित उपादेयता छन् । रेमडेसीभर जस्ता औषधिले अस्पताल बसाइको समय घटाएको र मृत्युदर पनि घटाएको भने पाइएको छैन । समग्रमा भन्नुपर्दा गम्भीर संक्रमण हुँदाहुँदै पनि यदि कोही निको हुने खालको बिरामी छन् भने त्यस्तालाई केही चाँडो निको गराउँछ तर मृत्यु हुने खालका बिरामीलाई भने बचाउन सकेको छैन ।
प्लाज्मा थेरापीको झन् सीमित उपयोग छ । प्लाज्मा थेरापी गर्दा प्लाज्मामा कोभिड विरुद्धका किफायती एन्टी बडीको मात्रा उच्च हुन आवश्यक छ । हाम्रोमा केही विज्ञहरूले समेत लहलहैमा विदेशमा आपतकालीन प्रयोगको स्वीकृति छ भनेको पाइयो । तर आपतकालीन अवस्थाको प्रयोग पनि केवल उच्च मात्रामा कोरोना निस्तेज पार्ने एन्टीबडी भएको प्लाज्मालाई मात्र हो । त्यसैले कोरोना प्रतिरोधी एन्टीबडीको गुण र मात्रा निर्क्योल नगरी गर्ने उपचारको कुनै अर्थ छैन यसको थप कठिनाइ उत्पन्न हुन सक्छन् ।
दोस्रो कुरा प्लाज्मा थेरापी केवल उच्च जोखिममा रहेका बिरामीलाई संक्रमण सुरु हुनासाथ दिँदा मात्र काम गर्छ । यसको कुनै पनि ट्रायलमा काम गरेको पाइएको छैन । जथाभावी प्रयोगले उल्टो झन् खतरनाक भेरियन्टको विकास हुन मद्दत पुर्याउँछ । त्यसैले रेमडेसिभर र प्लाज्मा थेरापीले सीमित अवस्थामा बाहेक अन्य बिरामीमा कहिल्यै पनि काम गरेको छैन । केवल अहिलेको भेरियन्टको मात्र कुरा होइन ।
अमेरिकामा बसेर नेपालको कोभिड संक्रमित र मृत्युदरलाई हेरिरहनु भएको छ । नेपालमा कोभिड नियन्त्रणबाहिर गएकै हो त ?
नियन्त्रणका दुई पाटा हुन्छन् । एउटा संक्रमणको नियन्त्रण, अर्को संक्रमितको व्यवस्थापन । संक्रमित र सम्भवतः मृतकको संख्या पनि देखिएभन्दा धेरै हुने आधार भेटिन्छ । यस अर्थमा हेर्दा संक्रमणलाई नजरअन्दाज गर्दा स्थिति चुनौतीपूर्ण बनेकै हो । स्वास्थ्य सेवाको हिसाबले पनि बेड, आइसीयूदेखि आधारभूत आवश्यकताको समेत तयारी नभएकै हो ।
मित्र राष्ट्रहरू हुँदाहुँदै पनि थप खोपको जोहो नगर्नु र तदनुरूप व्यवस्थापनमा नलाग्नु ठूलो कमजोरी हो । हामीले संक्रमणको अनुगमन गरेनौँ, संक्रमितको व्यवस्थापनमा तयारी गरेनौँ र संक्रमण रोक्ने आधारभूत तयारी भविष्यको लागि पनि गर्न सकेनौँ । सबै संक्रमण आउने र जाने त्यसको व्यवस्थापनमा चुकेकै हौँ ।
संसारभरका राष्ट्रलाई हेर्दा प्रत्येक लहर सँगै संक्रमितको संख्या बढ्दा मृत्युदर घट्दै आएको छ । तर नेपालमा नयाँ लहरसँगै संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दै गएको छ । यो सबै उपचारको कमीले गर्दा भएको हो ।
नियन्त्रणका थप उपाय के के हुन सक्छन् ?
तत्कालका लागि संक्रमणको चक्र तोड्नु आवश्यक छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुन नदिन व्यक्तिगत रूपमा सबैले सामाजिक दूरी, सरसफाइमा ध्यान दिनुपर्छ । सामाजिक रूपमा अधिकांश जिल्ला निषेधाज्ञामा छन् । जुन अति नै पीडादायी तर प्रभावकारी अस्त्र हो । अवस्था हेरेर अझै केही समय यो बढाउनुपर्ने हुन सक्छ तर यो दीर्घकालीन समाधान होइन । अझै पनि संक्रमितले परीक्षण गर्न नपाउने वा कैयौँ दिन कुर्नुपर्ने अवस्था छ ।
सर्वप्रथम परीक्षण बढाएर सकेसम्म धेरै संक्रमितको पहिचान गरी अरुमा सर्न दिनु हुँदैन । संक्रमणदरको अवस्था विस्तारै खोल्दै जानुपर्छ । दीर्घकालीन रूपमा खोपको सुनिश्चितता गर्नुपर्छ, वितरण प्रणाली चुस्त बनाउनुपर्छ । नयाँ भेरियन्ट आउँदै गर्दा पटक-पटक संक्रमणको लहर आउने सम्भावना पनि उत्तिकै छ । तसर्थ त्यो अवस्था मध्यनजर गर्दै कुना-कुनामा स्वास्थ्य सेवा चुस्त राखेर व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।