क्रिकेट

भारत भर्सेज इंग्ल्यान्ड

वर्षाले प्रभावित दोस्रो टेस्ट पानी परेपछि रोकियो

इकागज | साउन २८, २०७८

काठमाडौँ : वर्षाले प्रभावित भारत र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट क्रिकेट पानी परेपछि रोकिएको छ । लर्ड्समा इंग्ल्यान्डले टस जितेर बलिङ रोजेपछि भारतले पहिला ब्याटिङ थालेको थियो ।

१८ ओभर ४ बलको खेल चलिरहदा पानी परेपछि खेल रोकिएको हो । भारतले कुनै विकेट नगुमाई ४६ रन बनाएको छ । उसका लागि रोहित शर्माले ३५ र लोकेश राहुलले १० रन बनाएका छन् ।

वर्षाका कारण टस समेत ढिला भएको थियो । यसअघि वर्षाकै कारण अन्तिम दिनको खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिएको थियो । 

दोस्रो टेस्टमा इंग्ल्यान्डले तीन जना खेलाडी परिवर्तन गरेको छ । जसमा अलराउन्डर मोइन अली, ब्याट्सम्यान हसिब हमिद र बलर मार्क वुडलाई खेलाइएको छ । पहिलो टेस्टमा खराब प्रदर्शन गरेका स्टुआर्ट ब्रोड, ज्याक क्रुली र ड्यान लरेन्सलाई बेन्चमा राखिएको छ ।

भारतीय टिममा भने शार्दुल ठाकुरको ठाउँमा इशान्त शर्मालाई राखिएको छ । ठाकुर पहिलो टेस्टमा घाइते भएपछि उनको ठाउँमा इशान्तलाई मौका दिइएको हो ।