यू-१९ विश्वकपः सुपर सिक्समा पहिलो खेल नेपालले बंगलादेशविरुद्ध खेल्ने
काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत 'सुपर सिक्स' मा नेपालले पहिलो खेल बंगलादेशविरुद्ध खेल्ने भएको छ ।
साविक विजेता भारत समूह 'ए' को विजेताको रुपमा सुपर सिक्समा पुगेपछि नेपालले पहिलो खेल बंगलादेशविरुद्ध खेल्ने भएको हो ।
सुपर सिक्सअन्तर्गत नेपाल र बंगलादेशबीचको खेल बुधबार हुने भएको हो । बंगलादेश समूह 'ए' को उपविजेता टोली हो ।
नेपाल भने समूह 'डी' मा तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको थियो ।
सुपर सिक्सकै दोस्रो खेलमा भने नेपालले भारतको सामना गर्ने छ । नेपाल र भारतबीचको खेल फेब्रुअरी २ तारिखमा हुने तालिका रहेको छ ।