वार्ता

म गणेशमान-मंगलादेवीको बुहारी र प्रकाशमानको श्रीमती त हुँ, तर सिर्जना सिंह पनि हुँ

अतिन आचार्य | बैशाख २०, २०७९

काठमाडौँ महानगरमा नेपाली कांग्रेसले सिर्जना सिंहलाई मेयरको उम्मदवार बनाएको छ । उनी कांग्रेसको मात्र नभइ सत्ता गठबन्धनकै साझा उम्मदवार हुन् । सिंह अहिले चुनावी प्रचारमा व्यस्त छिन् । यसअघि राम्ररी घर सम्हालेकोले अब महानगर सम्हाल्ने उनको अठेट छ । भन्छिन्, 'हामी राम्रोसँग घर चलाएर आएका महिला हौँ । पहिले त घर सफा राख्नुपर्छ । घर फोहर छ भने बाहिर ठूला कुरा गरेर केही हुँदैन । घर बनाइसकेपछि समाज बनाउने हो ।' प्रस्तुत छ सिंहसँग इकागजका अतिन आचार्यले गरेको चुनावी संवाद:

एक महिनाअघि र अहिलेको दैनिकी फेरिएको छ, कत्तिको फरक महसूस गर्नुभएको छ ?

एक महिनाको अगाडि र अहिलेको दैनिकी स्वभाविकरूपमा फरक छ । स्वभावैले फरक रहने कुरा हो । पार्टीले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार घोषणा गरिसकेपछि दैनिकी अवश्य फेरिन्छ ।

दैनिकी एक्कासि फेरिएको हो कि पूर्वतयारी थियो ? कतिपयले तपाईंले काठमाडौँको मेयरको टिकट पाएपछि विभिन्‍न तर्क-वितर्क पनि गरे ?

बाहिर जसरी घरबाट थपक्क मेयर बन्न आएको भन्ने तर्क गरिएको छ, त्यो सत्य होइन । म एक्कासि मेयर बन्न आइपुगेको होइन । मैले राजनीति छोडेको थिइनँ, पदमात्र नलिएको हो । म राजनीतिमै सक्रिय थिएँ । मैले राजनीति र घर सँगै अघि बढाउनु थियो । त्यसैले पद लिइनँ । नेपाली राजनीतिमा निरन्तर रहेर महिलाहरूका लागि सक्रिय भएर काम गरिरहेको थिएँ । किनभने म नेपाल महिला संघको प्रमुख सल्लाहकार थिए । महिला हक अधिकारका लागि निरन्तर लडिरहेको छु । महिला अधिकार र सशक्तिकरणका लागि लड्दै आइरहेको छु । महिला भएकै कारणले आफूलाई सधैँ व्यस्त राखेको थिएँ । म कहिल्यै कांग्रेस छोडेर बसेको थिइनँ । पदमा बसिनँ, एउटा कुरा हो । सबैले घरमा बसेको महिला ‘अन्डरस्टिमेट’ गरेर घरमा बसेको महिला भनेर फुत्त आएको भनिरहेका छन् त्यस्तो होइन ।

मानिसहरू विरासतकै कारण टिकट लिए आउनुभयो भन्ने आरोप लगाउँछन् नि ?

कोही मानिसहरू विरासतको कुरा गर्छन् । कोही नेताका श्रीमती भएकाले टिकट पायो पनि भन्छन् । डाक्टर, इन्जिनियरका श्रीमती उनीहरूकै पेशामा हुँदा मान्छेहरूले वा–वा गर्छन् । तर, नेताको श्रीमती जतिसुकै राजनीतिक पृष्ठभूमि भए पनि रुचाउँदैनन् । तर, सत्य त्यो होइन । महिला संघ काठमाडौँले तपाईँं आउनुपर्छ भन्यो । महिला घरमात्रै होइन महानगर चलाउन पनि सक्षम छन् । देश चलाउन पनि सक्षम छन् भन्ने देखाउनुपर्छ भन्नुभयो । म आएँ । हामी घर राम्रोसँग चलाएर आएका महिला हौँ । पहिले त घर सफा राख्नुपर्छ । घर फोहर छ भने बाहिर ठूला कुरा गरेर केही हुँदैन ।

तपाईं घरमा हुँदा पनि राजनीतिक गतिविधिबाट अलग त रहनु भएन । घरबाहिर निस्कदा फरक–फरक विचार र प्रकृतिका मानिसहरू भेटिन्छन् होला । केही फरक पाउनुभयो ?

म राजनीतिक पृष्ठभूमिबाट आएको हो । जुन घरमा गणेशमान र मंगलादेवी सिंह हुनुहुन्थ्यो । श्रीमान् नेपाली कांग्रेसको केन्द्रीय तहमै हुनुहुन्छ । पीएएल दाइ हुनुहुन्छ । राजनीतिक माहौलबाट आएकाले यस्तो अन्तर्क्रिया मेरो लागि नयाँ होइन ।

केही फरक पाउनुभएन ?

पद नलिएकाले घर सम्हालेर बसेको थिएँ । घरमा पनि राजनीतिबाट टाढा थिइनँ । भेटघाट र अन्तक्रियामा सहभागी हुन्थे । घर नसम्हालेको भए पो गाह्रो हुन्थ्यो । म आफ्नै किसिमले समाजमा भिजिरहेको थिएँ । पार्टीको काम पनि गरिरहेको थिएँ । सबै मानिससँग निरन्तर सम्पर्कमा रहेर अन्तक्रिया गरिरहेको थिएँ । त्यसकारण मलाई खास फरक लागेको छैन ।

आममतदाताको चाहाना आफूले चुन्ने प्रतिनिधि घरदैलोमै आऊन् अपेक्षा गर्छन् । तपाईं घरदैलोमा कतिको पुगिरहनु भएको छ ?

महानगरमा ३२ वडा छन् । मैले सकेसम्म सबै वडामा पुग्ने प्रयास गरिरहेको छु । पार्टीको वडा समितिसँग समन्वय गरेर पुग्ने कोसिस गरिरहेको छु । सकेसम्म सबैको घरदैलोमा पुग्ने गरिरहेको छु । कसैकोमा बाँकी राखेको छैन ।

चुनाव प्रचारका क्रममा घरघरमा पुग्दा मतदाताले के भन्छन् ?

महानगरबासी मप्रति एकदमै खुसी रहेको पाएको छु । राम्रो राजनीतिक घर परिवारको महिला उम्मेदवार पायौँ भन्छन् । म आफैँ राजनीतिक पृष्ठभूमिको र सामाजिक अभियन्ता पनि हुँ । अब महिलाको नेतृत्त्वमा काठमाडौँ गएपछि मुहार फेरिन्छ भनिरहेका छन् । उहाँहरू हर्षित र खुसी देखिनु भएको छ । मेरो र उहाँहरूको अनुभव मिलिरहेको छ । सबैजना खुसी छन् ।

उनीहरूको अपेक्षा कस्तो पाउनु भयो

महानगरबासीले सफा काठमाडौँको अपेक्षा राखेका छन् । वर्षौदेखि अस्तव्यस्त काठमाडौँ व्यवस्थित होस् भन्ने उहाँहरूको अपेक्षा छ । धारामा पानी आवस्, र फोहोर कहिले देख्न नपाइयोस भन्ने छ । सभ्यता, संस्कृति, बाजागाजा र गुठीको संरक्षण होस भन्ने छ । महानगरबासीले ठूल्–ठूला अपेक्षा राखेका छैनन् । मात्र सफा काठमाडौँ चाहेका छन् । सफा काठमाडौँ होस्, सभ्यता  र सम्पदा बचाइयोस् भन्ने चाहना छ ।

मतदाताका अपेक्षा कसरी सम्बोधन गर्नुहुन्छ, योजनाहरू के–के छन् ?

योजनाहरू सार्वजनिक भइसकेका छन् । सात ‘स’ भनेर प्रतिबद्धता पत्र सार्वजनिक भएको छ । पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । महिला र युवालाई केन्द्रित गरिसकेको छु । यहाँको चित्रकला, वास्तुकला र नदेखिएका कलालाई संरक्षण गर्नु छ । कतिपय कला संस्कृतिहरू लोप हुन लागेकाले त्यसलाई संरक्षण गर्नु मूल दायित्त्व रहेको छ । युवाहरूलाई खेलकुदप्रति आकर्षित गरी कबर्ड हल, क्रिकेट मैदान र खेलकुद मैदान बनाउने योजना छ । यहाँका युवाहरूले घाँस दाउरा गर्नुपर्दैन । खेल मैदान नभएर उनीहरू कुलतमा लागिरहेका छन् । उनीहरूलाई व्यस्त राख्न पनि विभिन्न गतिविधिमा सक्रिय गराउनु छ । आमा पनि भएकाले मैले आमाहरूको पीडा देखेको र भोगेको छु । युवाहरूलाई खेलकुदमा परिचालन गर्नु छ । काठमाडौँ महानगरको मात्र नभइ देशको नाम राख्ने युवाहरू उत्पादन गर्नु छ ।

तपाईंले संकल्प पत्रमा उल्लेख गरेका सात ‘स’ मा सैद्धान्तिक विषय बढी छन् । तिनलाई कार्यान्वयन गर्ने कार्ययोजना के छन् ?

काठमाडौँ महानगरपालिकामा सुशासन पहिलो आवश्यकता हो । घर फोहर भएपछि बाहिर सफा गरेर हुँदैन । महानगरलाई बेथितिमुक्त बनाउनुपर्छ । भ्रष्टाचारमुक्त गरेर सेवा–सुविधालाई चुस्त–दुरुस्त बनाउनुपर्ने छ । महानगरबासीलाई डिजिटलमाध्यमबाट सुविधा प्रदान गर्ने योजना छ । कतिपय सेवा सुविधा प्रविधिमार्फत घरबाटै लिने व्यवस्था गर्छु । महिला दिदी–बहिनीहरूको बेरोजगारको अवस्था गर्ने योजना छ । महिला दिदीबहिनीहरूको सुरक्षा गर्न सहरमा सिसिटीभीको व्यवस्था हुन्छ । महिलाका सुरक्षाका निम्ति सडकका गल्ली–गल्लीमा बिजुलीबत्तीको व्यवस्था गरिने छ । महिला मात्र नभइ पुरुष पनि असुरक्षित छन् । नेपाल प्रहरीसँग समन्वय गरेर सुरक्षा प्रदान गरिन्छ । महिलाहरूका लागि सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनु छ । महिलाले उत्पादन गरेका वस्तुहरू कोसेली घरमा लगेर काठमाडौँ महानगरलाई जिम्मा लिनेछ । राम्रो वस्तुलाई अन्तर्राष्ट्रियकरण गरिनेछ । यहाँका स्थानीय र गरिबीको रेखामुनि रहेका महिलालाई आर्थिक अवस्था सुधार्न विभिन्न कार्यक्रम ल्याइनेछ । श्रमिक महिलाको निम्ति सामाजिक भत्ता पनि ल्याउन चाहन्छु ।

चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

शत–प्रतिशत विश्वस्त छु । चुनावी मैदानमा आइसकेपछि थप उत्साह बढेको छ । म उम्मेदवार बनेपछि महानगरबासीहरू खुसी हुनुहुन्छ । उहाँहरूको खुसी नै मेरो विजयको बलियो आधार हो ।

तपाईंका प्रतिष्पर्धीलाई कसरी हेर्नुभएको छ ?

मलाई अरुकाबारे कुरा गर्नु छैन । कसैको कुरा गर्न मन पनि छैन । मेरो आफ्नै प्रकृतिको स्वभाव पनि छैन । जुन संकल्प लिएर आएको छु त्यसको आधारमा विजयी हुन्छु । संकल्प अनुसार प्रतिबद्धता पूरा गर्नेछु । कसैले विरासत र नेताको श्रीमती भन्छन् । गणेशमान र मंगलादेवी सिंह दुवैजनाको बुहारी हुँ र साथै प्रकाशमानजीको श्रीमती पनि । म गणेशमान-मंगलादेवीको बुहारी र प्रकाशमानको श्रीमती त हुँ तर कांग्रेसमा योगदान गरेकी सिर्जना सिंह पनि हुँ । यो कसैले लुकाएर लुक्ने कुरा पनि होइन । म राजनीतिकर्मी र सामाजिक अभियन्ता भएकाले सिर्जना सिंह बनी काठमाडौँ महानगरलाई काठमाडौँ जस्तो बनाउने छु । 

तपाईं उम्मेदवार बनेपछि तपाईंका प्रतिस्पर्धीहरू त अब जित्न सजिलो हुने भयो भने हौसिएका छन् नि ?

त्यो त मत परिणामले देखाउँछ । म अहिले केही बोल्दिनँ । मेरो यति भोट आउँछ भनेर तोकेर हिँड्नेहरू पनि छन् । म केही पनि बोल्दिनँ । कसैलाई आरोप लगाउनु पनि छैन । यो देशमा यसरी उठ्न र बोल्न म लडेर आएको हुँ । सबैलाई बोल्ने र उठ्ने अधिकार छ । अरुका लागि युवास्थासम्म लडेर हिँडेको मानिस हो म । प्रजातन्त्रका लागि लडेर आएको महिला भएकाले अरुको विषयमा टिप्पणी गर्दिनँ ।

जनताको दैलोमा पुगेर सेवा दिएको थिएँ, यसपालि नजित्‍ने त कुरै छैन (अन्तर्वार्ता)

इकागज | बैशाख १९, २०७९

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेबाट चरिबहादुर तामाङ व...

पोखरामा एमालेलाई १५ देखि १८ हजार मतान्तरले हराउँछौँ (अन्तर्वार्ता)

कमल विष्ट | बैशाख १९, २०७९

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)बाट&nb...

'काठमाडौँका कुनै डाँडामा विश्वकै ठूलो गणेश मूर्ति राखेर ध्यानकेन्द्र बनाउँछु भनेपछि ओलीले टिकट दिनुभयो'

पुष्पराज आचार्य | बैशाख १८, २०७९

काठमाडौँ महानगरमा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित काठमाडौँलाई विश्वको ध्यानकेन्द्र बनाउने ...

मेयर भनेको सीईओ पद जस्तो हो, राजनीति र व्यवस्थापकीय ज्ञान भएको व्यक्ति चाहिन्छ

कमल धिताल | बैशाख १८, २०७९

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा पेसाले इन्जिनियर हुन् । उनीसँग झन्डै दुई दशक सहरी...

मतदाताले दलको हैन राष्ट्रको झण्डा बोक्नेलाई चुन्‍ने बेला आएको छ

अतिन आचार्य | बैशाख १६, २०७९

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका लागि स्वतन्त्र रुपमा मेयरको उम्मेदवार...

जनताले विश्वास गरेको मान्छे हुँ, पाँच हजार मतान्तरले चुनाव जित्छु (अन्तर्वार्ता)

विनोद देवकोटा | बैशाख १५, २०७९

बागलुङ ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट चन्द्रलाल अर्याल चुनावी मैदानमा छन् । २०३० स...

पार्टीलाई असहयोग गर्ने जगन्नाथजीको कुनै नियत छैन

इकागज | बैशाख १५, २०७९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ अहिले गृहमन्त्री बालकृष्ण खाँडसहित भरतपुरमा...

राजकुमार पौडेललाई प्रश्न : तपाईंलाई नै भोटेकोशीका जनताले किन भोट दिने ?

जीवन कुँवर | बैशाख १४, २०७९

राजकुमार पौडेल सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका मतदाताका निम्ति कुनै नौलो नाम होइन । स्थानीय सरक...