स्थानीय सरकार संवाद शृंखला- १२
धनकुटा नगरबासीलाई सन्तुष्ट बनाएको छु
स्थानीय सरकार, जो भुइँतहका मानिसलाई प्रत्यक्ष सेवा पुर्याउने संस्था हो । स्थानीय स्तरमा विकास कति चाहिन्छ ? त्यसको प्रत्यक्ष अनुभूत गर्न तल बसेका जनताले मात्र पाउँछन् । अझ भन्नुपर्दा नागरिकलाई सेवा दिन सिंहदरबार गाउँ-गाउँमा स्थापित भएका छन् । विकासको मूल गाउँबाट फुट्नुपर्छ भन्ने चाहनाअनुरूप विकासका लागि शासन विकेन्द्रीकरण भएको हो । प्रदेश-१ को धनकुटा नगरपालिकाले पञ्चायत, प्रजातन्त्र र लोकतन्त्र त्रिपक्षीय शासन भोगिरहेको छ । नगरपालिकाले विकासको कस्तो-कस्तो आयामसँग साक्षात्कार गर्न पाए यहीँ सिलसिलामा नगरप्रमुख चिन्तन तामाङसँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानी :
तपाईंहरूको समयभरि मुलुकले संघीयता थेग्न सक्दैन भन्ने आवाज उठ्यो, स्थानीय तहको संस्थापक नेतृत्व भएका हिसाबले तपाईं के भन्नुहुन्छ ?
संविधानद्वारा सिर्जित व्यवस्थालाई हामीले मान्न हँुदैन भनी भन्न सक्दैनौँ । तर, हामीले काम गर्दै जाँदाको अनुभवमा संघीय सरकारले एउटा निश्चित मापदण्ड बनाएर अघि बढ्नुपर्ने हुन्छ । स्थानीय तहको पाँच लाखको काम पनि संघले गर्न खोज्ने प्रवृत्तिका कारण समस्या छन् । समस्या कहाँ-कहाँ छ र त्यसको अनुगमन र अध्ययन हुनुपर्छ । लोकतन्त्रमा संघीयताको महत्व राख्छ । नयाँ-नयाँ भएर गति लिन नसकेको पनि जस्तो देखिन्छ । सुरुमा नयाँ जुत्ता लगाउँदा अप्ठयारो हुन्छ । पुरानो हुँदै गएपछि सहज हुन्छ भने जस्तै होला । सहज र असहज दुवै रह्यो ।
तपाईंको कार्यकालमा जनताले खोजेको जस्तो स्थानीय तहको अनुभव गर्न पाए कि पाएनन् ?
विकासको सीमितता हुँदैन । तर, आवश्यक पनि छ । त्यसका आधारभूत आवश्यकता पूरा गर्नतिर लाग्नुपर्छ । गर्दै जाँदा कतिसम्म गर्न सकिन्छ । विकास क्रमैसँग हुँदै जाने हो । नागरिकका आकांक्षा भनेको सबैतिर सधैँभरि राम्रो होस् भन्ने हो । खाना, नाना र छाना होस् भन्ने चाहन्छन् । तर, कति गर्न सक्यो भन्ने कुरा हो । नगर प्रमुखको नाताले भन्दा जनताको भावनालाई बुझ्ने गरी काम भएको छ । समाजवाद र लोककल्याणकारी राज्यको कुरा गर्ने गरिए पनि त्यसअनुसार हुन सकेको छैन । जहाँसम्म जनप्रतिनिधि भएकाले काम गर्नुपर्छ भन्ने चाहिँ जानिएको छ । नगरबासीको समस्या हुँदा जनप्रतिनिधि भएको आभास दिलाउन सकेको छु ।
पहिलो कार्यकाल सकिँदै गर्दा धनकुटा नगरपालिकालाई वास्तविक ‘नगरपालिका’ जस्तो बनाउन के गर्नुभयो ?
नगरपालिकाले मुख्यतया योजना बनाएर काम गर्न सिकेको छ । जादुको छडी शैलीमा विकास हुन सक्दैन । १० वर्षमा जनप्रतिनिधिले आफ्नो क्षेत्रमा काम गरिरहेमा केही न केही परिवर्तन गर्न सक्छन् भन्ने नगरबासीलाई आभास दिलाएको छु । तर, विकास गर्न उपयुक्त वातावरण बन्नुपर्छ । यदि त्यस्तो भएमा हेर्न र बस्न लायकको हुनेछ । सुरुवात धनकुटा नगरपालिकाबाट भएको छ । नीति र लक्ष्य बनाएर काम अघि बढाएका छौं । शिक्षा, स्वास्थ्य र पर्यटनका काममा सफल भएका छौँ । धेरै आलोचित हुने गरी काम भएको छैन । यो भन्दा अगाडि केही विकास भएको थिएन । चार दशकमा पनि नगरपालिकाले फड्को मार्न सकेको रहेनछ । देख्न र भन्न लायकको केही भएको रहेनछ ।
पञ्चायतकालमा धनकुटाको जुन विरासत थियो, त्यो विरासत बचाउन कत्तिको सकेको जस्तो लाग्छ ?
उद्योग धन्दा नभएको र सुख्खा डाँडो भएको ठाउँमा जनप्रतिनिधिले केही बस्नयोग्य बनाएका छन् । कर्मचारीले कब्जा गरेको ठाउँलाई नगरबासीले अपनत्व महसुस गर्न पाएका छन् । राणाकालदेखि पञ्चायतसम्म यसले आफ्नै छुट्टै पहिचान बोकेको छ । यसलाई ऐतिहासिक सहर मानिन्छ । साँघुरो बाटोमा बनेको सानो बजारलाई बस्नयोग्य बनाएका छाँै । आधुनिकताको परिकल्पना गरेकाले यसलाई निरन्तर गुल्जार बनाउन लागिरहेका छौँ । तराईसँग जोडिएको जिल्ला भएकाले पर्यटन विकासमा ध्यान दिएका छौँ । अर्कातर्फ बसाइँसराइ गर्नेको संख्या बढ्ने चिन्ता छ । किनभने प्रत्येक वर्ष मानिस बसाइँसराइमै छन् ।
नगरबासीको अपेक्षानुसार कति काम गर्नुभयो त ?
नगरबासीलाई सन्तुष्ट बनाएको छु । मेरो कार्यकालमा नगरबासीलाई निराश बनाउने काम भएको छैन । मेरो कामबाट आशावादी बनेका छन् । निराश हुने गरी केही काम गरेको छैन । काम गर्दा मानिसहरूको मुहारमा खुसी छाउँछ भन्ने प्रमाणित भएको छ । जनप्रतिनिधिको कारण केही हुन्छ र विकास हुन्छ भनेर भरोसा बढेको छ । पाँच वर्षमा अनेकन् कोणबाट काम गरिरहेका छौँ । नगरपालिकाको सेवाप्रवाहमा कुनै कमी हुन दिएको छैन ।
धनकुटाको भौगोलिक संरचना मिलेको छैन । पहाडी जिल्ला हो, नगरबासीलाई खानेपानीको व्यवस्था कसरी गर्नुभएको छ ?
नगरबासीलाई पानीको अभाव नहोस् भनी आठ वटा पानीको बोरिङ बनाएका छौँ । जनप्रतिनिधि आएपछि खानेपानी पानीको समस्या समाधान गरेका छौँ ।
चुनावी घोषणापत्रमा उल्लेख भएका तपाईंका पाँच प्रमुख प्राथमिकता के-के थिए ?
नगरको चुनावी घोषणापत्रमा धेरै वाचा गरिएका थिए । जसमध्ये नगरलाई खरको छानोमुक्त बनाउँछु भनेको थिएँ । दुई हजार घरलाई जस्ता बाँडेर खरको छानोमुक्त बनाए । देशभरका अन्य जनप्रतिनिधि भन्दा अगावै खरको छानोमुक्त बनाउँछु भन्ने जनप्रतिनिधि म थिए । सरकारले पछि यसलाई अँगालेको थियो । बाटो नपुगेको ठाउँमा बाटो पुर्याएका छौँ । नेताले भनेका कुरालाई नपत्याउने जनताले अब हाम्रो कारणले पत्याउने छन् । हाम्रो व्यवहारले जनताले भोटका लागि पत्याउँदैन थिए ।
आफ्नै कार्यकालमा नगर प्रमुख भएर गर्न नसकेका कामहरू के-के हुन् ?
पाँच वर्षको अवधिमा ८० करोड रुपैयाँले कति विकास भयो होला र ? सरकारको बजेट नगर विकासका लागि अपर्याप्त छ । विकास गर्न त धेरै मन छ । पुँजीगत खर्च जम्मा १६ देखि १७ करोड मात्र आउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थासँग सहकार्य गरेर विकास कार्यलाई अगाडि बढाएका छौँ । विभिन्न सामाजिक कार्यका लागि एकमुष्ट रकम आउने हो । ज्येष्ठ नागरिकका लागि भत्तासमेत त्यही बजेटबाट बाँड्नुपर्छ । विद्यालयका शिक्षकलाई समेत यहीँ बजेटबाट बाँडिरहेका छौँ । तर, नगरबासीहरू यसबाट निराश भने छैनन् ।
संघीय सरकार वा अन्य त्यस्तो केही शक्तिबाट काम गर्न अवरोध भयो कि भएन ?
काम गर्दा सरकार वा अन्य कुनै पनि निकाय वा कहीँ कतैबाट अवरोध आएन । कोभिड-१९ महामारीको समयमा संक्रमितको उपचार र उद्धार गर्ने कार्यमा धेरै खटेका थियौँ । यो वा त्यो गर भन्दा अलिअलि दबाब तथा केही अवरोध महसुस भएको आभास गरेका थियौँ ।
स्थानीय सरकार आफैँमा एउटा बलियो सरकार हो । काम गर्न अन्य निकायलाई सोध्न पर्दैन ।
जनताको काम गर्ने मानिस हामी नै हौँ भनेर गरिरह्यौँ । किनभने काम गर्ने मानिस पनि हामी थियौँ । केन्द्र सरकारबाट त्यस्तो अवरोध हो भनेर कहिले महसुस गरेनौं । केही कानुन स्थानीय तहलाई ‘मिनिमाइज’ गर्ने खालका अवश्य छन् ।
काम गर्दै-गर्दाको समयमा संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के-कस्ता आइपरे ?
मुलुकमा विभिन्न निकायले काम गरिरहेको आफ्नै ढंगले काम गरिरहेका हुन्छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका छन् । हामीलाई अप्ठ्यारो परेको भनेको व्यवस्थापिकाबाट हो, तर काम गर्न अप्ठ्यारो भएमा आफैँले कानुन बनाएर काम गर्छौँ ।
आर्थिक, कानुनी र प्रशासनिक कार्यप्रणाली कतिको झन्झटिलो रहेछ, समस्या के के पाउनुभयो ?
व्यवहारगत काम गर्न केही समस्या भएन । स्थानीय तहको आफ्नै आर्थिक व्यवस्था सञ्चालन गर्ने आफ्नै नियम छ । काम सकाउन आफैँले बनाएको नियममा रहेर काम गरिरहेका छौँ । बाँकी काम सक्न जनताले चाहेअनुसार योजना बनाएर काम पूर्ण गर्छौँ । आफैँले नियम बनाएर पनि काम गर्न सक्छौँ । भन्नलाई र बाहिर सुनाउन केही पनि समस्या भएन ।
प्रदेश र संघीय कुन सरकारबाट सहयोग या असहयोग के बढी पाउनुभयो ?
स्थानीय सरकार आफैँमा एउटा बलियो सरकार हो । काम गर्न अन्य निकायलाई सोध्न पर्दैन । कार्यकारी अधिकृत पठाउने ठाउँमा केही समस्या रह्यो । स्वायत्त ढंगले काम गर्न पाएकाले आफैँ काम गरेका छौँ । आफैँ सरकार भएकाले धेरै गर्यौँ । कसैले सकेनन् । त्यो उनीहरूको समस्या बन्यो । तर, धनकुटामा भने केही पनि समस्या बनेन ।
पदावधि सकिन केही समय मात्र छ, आगामी नेतृत्वका लागि के-कस्तो सुझाव दिनुहुन्छ वा तपाईं पुन: दोहोरिनुहुन्छ ?
यो नगरको अभिभावक भएर काम गरेकाले पुन: नगरप्रमुखको उम्मेदवार बन्ने योजना छ । जनताले हाम्रो माग गरिरहेका छन् ।
नागरिक भएर प्रश्न गर्न र सोच्न सजिलो थियो, आफैँ जिम्मेवारी तहमा पुग्नुभएको छ । तपाईंको अनुभव कस्तो भइरहेको छ ?
नागरिक हुनुमा र जिम्मेवारी पुग्नुमा धेरै फरक रहेछ । हामी पनि आमनागरिक हो । काम गर्ने ठाउँमा पुगेपछि बोले जस्तो अलिक सजिलो हुँदैन रहेछ । निश्चित जिम्मेवारीसहित बसिएको छ । जिम्मेवारीलाई सफलताका साथ वहन गर्नुपर्ने भएकाले केही कठिन अवश्य होला । यो अस्थायी हो र म सेवक हो भन्ने भावना जागृत हुँदोरहेछ । पाँच वर्ष जनताको सेवा गर्न पठाइएको भावना आफैँ आउँदो रहेछ ।
नगर प्रमुख भएको हैसियतले आफ्नो कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
आफ्नो कामप्रति सन्तुष्ट छु । आफूले गरेको कामका आधारमा १० मा ८ अंक दिन्छु । किनभने आर्थिक र कृषि क्षेत्रमा प्रशस्तै काम गरेको छु । जनताले मेरो कामलाई लिएर राहतको अनुभूति गरेका छन् । जनता निराश छैनन् । सबैभन्दा बढी उठेको आवाज हामीजस्तो जनप्रतिनिधि चाहिन्छ भन्ने हो ।