वार्ता

इकागज संवार्ता

राज्य संयन्त्र भ्रष्टाचारमैत्री भयाे, लोकतन्त्रलाई अब 'भ्रष्टतन्त्र' भन्दा हुन्छ

डा. प्रकाशचन्द्र लोहनी नेपाली राजनीतिमा पुराना, स्थापित र अनुभवी नेता हुन् । अर्थमन्त्री हुँदा नेपालमा उदारीकरणको आंशिक सुरुवात गरेका लोहनीको समयमा विदेशी संयुक्त लगानीका बैंकहरू नेपाल आएका थिए । डा. लोहनीले संसदीय समितिका प्रमुखको भूमिकामा रहेर पनि काम गरे । फुलब्राइट कार्यक्रम अन्तर्गत अमेरिकाको इन्डियाना विश्वविद्यालयबाट एमबीए र युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जलसबाट विद्यावारिधि गरेका डा. लोहनीले केही समय अमेरिकी विश्वविद्यालयमा अध्यापन पनि गरे । डा. लोहनीसँग पुष्पराज आचार्यको अर्थ–राजनीतिक संवादः 

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनपछि राजनीतिबाट थकाई मार्न लाग्नुभएको हो ? 

नयाँ नेतृत्व आएको छ । त्यसपछि त स्वभाविक रूपमा हाम्रो सक्रियता कम हुने भैहाल्यो नि !

त्यसोभए अब स्टेट्सम्यानसीपमा रहने ? 

‘स्टेट्सम्यानसीप’को लागि त पहिले ‘स्टेस्ट्सम्यान’ (राजनेता) हुनपर्‍यो । म आफूलाई ‘स्टेस्ट्सम्यान’ भन्दिनँ ।

अहिले सरकार, सदन, न्यायलय तीनै अंगमा अकर्मण्यताको स्थिति देखिन्छ । यो अवस्थाले मुलुकलाई कहाँ पुर्‍याउँछ ? 

हाम्रो मुलुक त दिनप्रतिदिन ओरालो लागिरहेको छ । देशमा शासन–प्रशासन चलाउने मान्छेहरू देश र जनताको स्वार्थ नहेरेर जनताले दिएको वैधानिकता र अधिकार आफ्नो र आफ्ना वरिपरीका झुण्डहरूको स्वार्थका लागि प्रयोग गर्छन् भने त्यो बेलामा राष्ट्रिय स्वार्थ ओझेलमा पर्छ । राष्ट्रिय संस्थाहरूको कार्यक्षमता ह्रास भएर जान्छ र तिनीहरू बेकाम भएर जान्छन् । 

यसको समाधान के होला ? 

यसको समाधान सजिलो हुन्छ । जसले देश चलाउने जिम्मा लिएको छ, तिनको नियत सफा हुनुपर्‍यो । उनीहरूको नियतमा आफ्नोमात्र होइन नेपाली जनताको हित, देशको स्थायित्व हुनुपर्‍यो । तर उनीहरू देशमा स्थायित्वभन्दा पनि आफ्नो सत्ताको स्थायित्व खोजिरहेका छन् । यिनीहरूको नियतमा सुधार आउला जस्तो देखिदैंन । अब यो अवस्था झन्–झन् बिग्रेर जान्छ । त्यसकारण कि त जनताले नै दबाब दिएर, विद्रोहमा उत्रेर यिनलाई तर्साएर ठीक ठाउँमा राख्नुपर्‍यो । होइन भने ढिलो–चाँडो देश अराजकतातिर जान्छ । 

अहिलेकोभन्दा अझै अराजकता ? 

अराजकता गहिरिदैं जान्छ । मुलुकमा शासनको लागि जारी गरिएको संविधान र संविधान अन्तर्गत खडा भएका संस्था/इकाइ निष्क्रिय र विकलांग भएर जान्छन् भने अराजकता र क्षति तीव्र भएर जान्छ भन्न खोजेको हुँ । 

स्थानीय तहकै निर्वाचन गर्ने सम्बन्धमा पनि सरकारमा रहेका दलहरू अस्पष्ट कुरा गर्छन् । लोकतान्त्रिक व्यवस्थामा समयमा निर्वाचन नचाहानु भनेको त घातक कुरा भएन ? 
सरकारको तदारूकता देखिएको छैन । सरकार त आफू र आफ्ना झुण्डलाई कति फाइदा हुन्छ कि हुँदैन भनेर हिसाब–किताब गरेर बसेको छ । यस्तो अवस्थामा संवैधानिक प्रावधान पनि लागू हुन्छन् कि हुँदैनन् भन्ने आशंका हुने नै भयो । 

यहाँकै दलमा नयाँ नेतृत्व आएको छ । नेपाली कांग्रेसमा पनि केही पदाधिकारीमा युवा र नयाँ अनुहारहरू आएका छन् । के उनीहरूले राजनीतिलाई ठीक बाटोबाट डोर्‍याउन भूमिका खेल्न सक्लान् ? 
उनीहरूको आवाज बुलन्द हुनुपर्छ । परिवर्तन भनेर मात्र हुँदैन । जुन संस्थागत संरचनामा उनीहरू आएका छन्, त्यसले प्रदान गरेको शक्ति र आफूले प्राप्त गरेको वैधानिकतालाई प्रयोग गरेर जनता र देशको पक्षबाट बोल्नुपर्छ । जनताको तर्फबाट दबाब सिर्जना गर्न मद्दत गर्नुपर्छ । 

यहाँले हाम्रो अर्थतन्त्र संकटतर्फ अग्रसर भनेर भन्दै आउनुभएको छ । शोधनान्तर घाटा डरलाग्दो गरी बढेको छ, मुलुकमा उत्पादन र रोजगारी छैन । रेमिट्यान्स घटिरहेको छ । जनताले आर्थिक संकटकै कारण विद्रोह गर्ने स्थिति आउँछ कि के हो ? 

राजनीतिक संकटको प्रभाव ढिलो–चाँडो आर्थिक क्षेत्रमा पर्छ र अहिले त्यो प्रभाव देखिन थालेको छ । केही सरकारहरूबाट नेपालको अर्थतन्त्र विस्तार, जनताको रोजगारी र उत्पादन तथा उत्पादकत्वको प्रश्नलाई जसरी गौण बनाइएको थियो; त्यसले गर्दा देश त खोक्रो बाँसजस्तो भएको छ । बाहिरबाट हेर्दा ठीकै छ जस्तो लागेपनि भित्र बल केही भएको खोक्रो बाँस हुन्छ नि, हाम्रो अर्थतन्त्र त्यस्तै छ । त्यसको एउटा परिणामस्वरूप शोधनान्तर घाटा उच्च भएर गएको छ । यस्तो संकट आउनसक्छ त्यसकारण निर्यात बढाउनुपर्‍यो, निर्यात बढाउन सरकारले लगानी बढाउने, विदेशी तथा निजी लगानी आकर्षित गर्न वातावरण बनाउनुपर्‍यो, पूर्वाधारमार्फत् आधारशीला निर्माण र ताकेता गर्न सक्नुपर्‍यो, लगानीमैत्री नीति र कानुन चाहिन्छ भनेर बारम्बार भन्दै आएका छौं । तर सरकार लगानीमैत्रीको सट्टा भ्रष्टाचारमैत्री मात्र भयो । राज्य संयन्त्रहरू सबै भ्रष्टाचारमैत्री भए ।

सत्तामा बस्नेले कूत खान पनि त लगानी हुनुपर्‍यो, उत्पादन हुनुपर्‍यो । यिनको भ्रष्टाचारको 'विजनेस' पनि त धरापमा पर्ला नि यही ढङ्गले मुलुकलाई खाेक्राे बनाउँदै गएपछि ? 

यिनलाई त के छ र सत्तामा बसुन्जेल तर मार्ने हो भन्ने छ । जति सकिन्छ गर्दै जाने, मुलुकलाई भ्रष्टाचारको रोगले समात्यो भनेर यिनीहरू कोही रोग निको पार्न लाग्नेवाला छैनन् । रोगी भएरपनि जतिदिन मुलुक बाँच्छ, त्यति दिन चुसिरहने भन्ने सत्ताधारीको नियत छ । रोगी शरीरले त धेरै समय काम गर्न सक्दैन, एक दिन त ढल्छ । अब हामी त ढल्ने स्थितितिर पो जान लागेको हो कि जस्तो देखिन्छ । अहिले जुन किसिमले विदेशी मुद्रा सञ्चितिको क्षय भएर गएको छ, अर्को एक–दुई महिना यस्तै स्थिति रहीरह्यो भने मुलुक तपाईं–हामीले कल्पनै नगरेको संकटमा पर्नेछ । त्यसपछि नेपालको अर्थमन्त्री र नेपालको शासन अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को हातमा जान्छ । त्यो क्रममा नेपालमा कति अशान्ति होला भन्न गाह्रो छ । 

नेपाली जनता पटक–पटक व्यवस्था परिवर्तनको आन्दोलनमा सहभागी भए । दलहरूकै बेइमानीका कारण हो कि जनतामा पनि पुरानै व्यवस्थातर्फ पो आकर्षण देखिन थालेको छ । वास्तवमा उन्नत व्यवस्था त लोकतन्त्र नै हो नि ? 

लोकतन्त्र त सत्ताधारी दलहरूले भ्रष्टतन्त्रमा परिणत गरे । संविधान भनेको त जनताले इच्छाएको एउटा दस्तावेज न हो । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि आवश्यक सफा नियत, अनुशासन, विधिविधानप्रतिको प्रतिवद्धता त देखिएन । यस्तो अवस्थामा त संविधान केवल कागजको खोस्टोमात्र हुन्छ । अहिले भएको पनि त्यही हो । संविधानमा धेरै राम्रा व्यवस्थाहरू छन्, तर त्यसलाई कार्यान्वयन गर्ने सरकार, संवैधानिक अंगहरू (संसद् लगायत)ले न हो । ती संस्थाहरूलाई नै सम्बन्धित संस्था मास्ने काममा लगाइएको छ । जस्तै सर्वोच्च अदालतलाई नै लिउँ । जुनसुकै राजनीतिक व्यवस्थामा पनि सर्वोच्च अदालत जनताका लागि आस्था र विश्वासको केन्द्र थियो । अहिले त अदालतमै खुलेआम प्रधानन्यायाधीशका सहयोगीहरूले उहाँलाई ‘भ्रष्ट’ भनिरहेका छन् । प्रधानन्यायाधीशसँग काम गर्दैनन् । त्यो अराजकता तीन–चार महिनादेखि लम्बिरहेको छ, कसैलाई मतलब छैन । के यस्तो अवस्थामा राजनीतिज्ञहरूलाई चासो हुनुपर्ने होइन ? समाधानका लागि पहल हुनुपर्ने होइन ? त्यसतर्फ केही भएको देखिदैंन । संसद् हेर्ने हो भने तीन महिनादेखि संसदले आफ्नो काग गरेको छैन, अवरुद्ध भएर बसिरहेको छ । सरकारले जनतालाई सेवा दिन सकिरहेको छैन । एउटा परिचयपत्र बनाउन यस्तो जाडो महिनामा बिहानपख तीन बजेदेखि लाइन बस्नुपर्छ । जनतामा चरम निराशा र आक्रोश छ ।  लोकतान्त्रिक गणतन्त्र भएपछि नेपाल रातारात परिवर्तन हुन्छ भनेको होइन ? त्यो त होइन रहेछ भन्ने सबैले बुझिसके । लोकतन्त्र अन्तर्गत खडा भएका संस्थाले काम गर्न सकेनन् । संसद् निरन्तर अवरुद्ध छ, अदालतमा अकर्मण्यताको स्थिति छ, सरकारमा चरम बेथिति छ । व्यवस्था असफल हुन यो भन्दा बढी के हुनुपर्‍यो र ! 

प्रश्न गर्ने मान्छेलाई समाधान पनि खोज भन्‍नु भयंकर ठूलो षड्यन्त्र हो

राजनीतिक-सामाजिक विषयमा लेख लेखिरहेका सञ्जीव पोखरेलको पुस्तक ‘एक अनि शून्य’ हालै सार्वजनि...

मार्क्सको शिक्षाअनुसार नै ३० वर्षअघि कम्युनिजम छाडेको हुँ

नीलाम्बर आचार्य आजभन्दा ६१ वर्ष पहिले बीपी सरकारका बेला पढ्न रुस पुगे । इन्जिनियरिङ पढ्न गएका उनी बिदामा...

एमसीसी सम्झौताबारे सरकारले तत्काल श्वेतपत्र जारी गर्नु राम्रो हुन्छ

पुष्पराज आचार्य | पुस १८, २०७८

अमेरिकी सहायता निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतालाई अध्ययन गर्न सरकारले पूर्वप्रध...

न्यायापालिका भ्रष्टाचारमुक्त नरहेसम्म राज्यका अरू अंगले लोकतन्त्रको रक्षा गर्न सक्दैनन्

इकागज | पुस ७, २०७८

न्यायापालिकामा सुधारका लागि नेपाल बार एसोसिएसन कात्तिकदेखि चरणबद्ध आन्दोलनमा छ । प्रधानन्यायाधीश चोलेन्द्...

घरभित्र व्यवहार नबदलेसम्म लैंगिक समानता र महिला सशक्तीकरणका प्रवचन खोक्रा लाग्छन्

इकागज | पुस ५, २०७८

सुनिल नन्दा, इण्डिया स्कील्सका पूर्व सीईओ हुन् । उनी अहिले सामाजिक अभियन्ताका रूपमा कार्यरत छन् । उनीहरूले...

अब पार्टीमा बाहुबली, धनबली, सत्ताको रवाफ चल्दैन, चल्न दिइँदैन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको स्पर्धामा डा. शेखर कोइरालाको हार भए पनि उनको सवाल भ...