वार्ता

अन्तर्वार्ता

म रामचन्द्र पाैडेलकै मान्छे हाे : मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल

अनिष भट्टराई | मंसिर २४, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि लड्दै छन् । पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पोखरेल अहिलेको नेतृत्वले पार्टीलाई बढाउन नसकेको बताउँदै नयाँ नेतृत्व आउनुपर्ने बताउँछन् । पोखरेलसँग इकागजका अनिष भट्टराईले महाधिवेशनको सेरोफेरोमा रहेर कुराकानी गरेका छन् । प्रस्तुत छ पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश :

सहमहामन्त्रीमा तपाईंको पनि चर्चा थियो, केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरिसक्नु भएको छ । केन्द्रीय सदस्य जितेर पार्टीलाई नयाँ के दिन सक्छु जस्तो लाग्छ ?
मैले सहमहामन्त्रीमा उठ्छु भनेर घोषणा गरेको थिइनँ । तर मिडियामा आइदियो । मिडियाले नै यससम्बन्धी मेरो चर्चा गरिदिए । युवा पुस्ता जो आइरहनु भएको छ, उहाँहरूलाई पार्टीमा भित्र्याउनुपर्छ भन्‍ने सोच बनाएँ । म पदाधिकारीमा अटाउनु योग्य मान्छे त हुँ, तर युवाहरूलाई अब पार्टीमा ल्याउनु जसरी सहमहामन्त्री पद थपिएको छ, त्यसमा म आउन चाहिन । फेरि कार्यसमिति बाहिर बसेर राजनीति पनि हुँदैन । यसअर्थमा नयाँ पुस्ता आउन्, विगतको कमीकमजोरी हटाएर कांग्रेसलाई सबैको पार्टी बनाउनुपर्छ भनेर हेरें । यसका लागि मैले केन्द्रीय सदस्य नै सहज पोजिसन भएकाले रोजें । 

वडा, पालिका, प्रादेशिक अधिवेशन सम्पन्‍न भइसकेका छन् । महाधिवेशन पनि आजबाट सुरु हुँदैछ । कत्तिको उत्साहित हुनुहुन्छ ? 
यो लोकतान्त्रिक प्रक्रियाको अभ्यास हो । महाधिवेशनले कार्यकर्ताहरूमा उत्साह छाएको छ । किनभने प्रत्येक चार वर्षमा हुनुपर्थ्यो । तर अहिले ६ वर्षमा हुन लागेको छ । कार्यकर्ताहरूलाई स्वभावले नै महाधिवेशन चाँडै होस् भन्‍ने थियो ।

पार्टीमा नयाँ पुस्ताको प्रवेश भएको छ । विधानले समुहहरू बनाएर सबै समुहलाई अटाउने बनाएको छ । यी सबै कुराले महाधिवेशनलाई पार्टीको भन्दा पनि देशकै उत्सव जस्तो बनाएको छ । म पार्टीको असल कार्यकर्ता भएको नाताले अधिवेशन मेरा लागि पनि उत्सुकताको विषय हो । जसरी जिल्ला-जिल्लाबाट साथीहरू यहाँ आउनु भएको छ । यसले मलाई अझै उत्साहित बनाएको छ । १४ औँ महाधिवेशनलाई सफल बनाउन उहाँहरू आउनु भएको छ भन्‍ने महसुस गरेको छु । 

लोकतान्त्रिक प्रक्रियाको अभ्यास गर्‍यौँ भन्दै गर्दा तल्ला तहका अधिवेशनमा घटेका घटनाहरू भने बिर्सनलायक छन् । ती घटनाले त असल अभ्यास देखाउँदैनन् त ?
कांग्रेसको संस्कारबाट सुसज्जित भएका कार्यकर्ता उत्पादन गर्ने हाम्रो लक्ष्य हो । हामीले उदारपूर्वक सबै वर्गलाई अटाउने विधान बनायौं । तर विधान नबुझेका मानिस त्यही क्लस्टरहरूका कारण आउँदा त्यस्ता घटना घटे । गण्डकीको अधिवेशनमा पनि प्रतिस्पर्धा भयो । शुक्रराज शर्मा र अर्जुन जोशी उठ्नु भयो । शालिनता पूर्वक विजयी हुने साथीले पार्टीको प्रक्रियाका रुपमा लिनुभयो । पराजित उम्मेद्‌वारले पनि सहर्ष स्वीकारेर कार्यक्रममा आउनु भयो । यो लोकतान्त्रिक प्रक्रिया हो । यसमै हामी प्रशिक्षण दिनुपर्छ । भोलिका दिनमा यस्ता घटना कांग्रेसमा नहोस् भन्‍नेमा हामी सचेत हुनुपर्छ । 

 

पार्टीको विधान नबुझेका मानिस आउँदा यस्ता घटना घटे भन्‍नुहुन्छ । त्यस्ता मानिस पार्टीमा आउनुमा कसको कति योगदान छ ?
पार्टीमा यहि नेता भन्‍नुभन्दा विधानत हामीले गरेको व्यवस्थामा कसैलाई रोक्न मिल्दैन । तर विधानले तोकेको मापदण्ड पुर्‍याएर आउने जति सबै कांग्रेसी संस्कारका छन् भन्‍ने हुँदैन । ती घटना गर्ने व्यक्तिहरूले पनि महसुस गरिसके भन्‍ने मलाई लाग्छ । 

पार्टीमा चरम गुटबन्दी देखिन्छ । गुटबन्दीकै कारण पार्टी कमजोर बन्यो भन्‍ने बहस भइरहँदा अहिलेको महाधिवेशन पनि गुटकै आधारमा भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
कुनै पनि लोकतान्त्रिक पार्टीमा गुट स्वाभाविक कुरा हो । २००७ सालदेखिकै इतिहास हेर्ने हो भने सबै महाधिवेशनमा यस्तै छ । अहिले झन् कांग्रेस वृहत छ । पुराना पुस्तादेखि नयाँ पुस्तालाई बीचमा राखेर हामी पार्टीलाई राम्रोसँग चलाउँछौँ भनेर आउँदा त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । जसै ल्यान्डिङ त एकै हो । एउटा सभापति आउने नै हो । भोलिका दिनमा कांग्रेसलाई हाँक्ने व्यक्ति नै आउने हो । यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ । 

गुटलाई सकारात्मक रुपमा लिनुपर्छ भन्दै गर्दा गुटको आधारमा हुन लागेको प्रतिस्पर्धाले कांग्रेसको आदर्श, आन्तरिक लोकतन्त्रलाई आघात पुग्दैन ? 
गुट कहिलेसम्म हुन्छ भन्दा निर्वाचनमा जाँदासम्म मात्र हुन्छ । नतिजा आइसकेपछि सभापति बन्‍ने अनि अरु जोजो आउनुहुन्छ, उहाँहरूले उदारतापुर्वक छुटेका साथीहरूलाई समावेश गरेर लैजानुपर्छ । छुटेका साथीहरूले के बुझ्नु पर्छ भने उहाँहरू कार्यकर्ताकामाझ जानुपर्छ । यसरी दुवै समुहलाई मिलाएर लैजाने काम नेतृत्वले गर्नुपर्छ । 

गुट पार्टीको महाधिवेशनसम्म मात्र रहन्छ भन्‍नुहुन्छ । तर आगामी निर्वाचनमा पनि गुटकै कारण पार्टीलाई असर नपर्ला भन्‍न सकिँदैन नि । गत निर्वाचनमा पनि त पार्टीमा अन्तरघात भए भन्‍ने भनाइ आएका थिए नि ?
महाधिवेशनमा प्रस्तुत गुटउपगुट त्यो हदमा जान्छ भन्‍ने लाग्दैन । यसलाई त नेतृत्वले म्यानेज गर्ने हो । महत्वपुर्ण कुरा के हो भने अहिलेको प्रतिस्पर्धालाई बाहिरी शक्तिसँगको प्रतिस्पर्धाका रुपमा लगे राम्रो हुँदैन । यसलाई मेटेर अघि बढ्नुपर्छ । भोलिका दिनमा आम निर्वाचनमा अर्को पार्टीसँग लड्‌ने बेलामा टिकट दिने बेलामा यो-त्यो नभनी दिनुपर्छ । जुन समूहको भएपनि राम्रोलाई टिकट दिनुपर्छ । धरातलीय यथार्थलाई हेरेर पार्टीभित्रको शक्ति सन्तुलनलाई ध्यान दिए विगतको अनुभव दोहोरिँदैन भन्‍नेमा ढुक्क छु । 

तपाईंले शेरबहादुर देउवालाई सहयोग गर्ने भन्‍नुभएको छ रे हो ? प्रधानमन्त्री पोखरा जाँदा राष्ट्र बैंक गेस्ट हाउसमा हजुरले देउवालाई ग्रीन सिग्‍नल दिनुभएको भन्‍ने छ त ? 
प्रधानमन्त्री पोखरा जाँदा मैले मुख्यमन्त्रीको रुपमा भेटेँ त्यो एक ठाउँमा छ । जहाँसम्म अहिलेको प्रतिस्पर्धा छ, यो समूहगत रुपमा छौँ । यसो भन्दा उहाँप्रतिको सदासयता कायम छ । अहिले यहाँ गयो, त्यहाँ गयो भन्‍ने पक्षमा म लाग्दिनँ ।

नवलपुरमा भएको प्रतिनिधि सभा क्षेत्र चुनावमा पनि देउवा कोइराला गठबन्धन थियो । त्यसमा पक्कै तपाईंको भूमिका रह्यो होला । यसले पनि तपाईं देउवा समूह निकट हुनुहुन्छ भन्‍ने संशयमा बल पुर्‍याउँछ नि ? 
वडादेखि नै तछाड-मछाड भएको बेला जिल्लामा मिलेर जान चाहेपछि हामीले छाडिदिने हो । मेरो जिल्लामा पनि त्यही भएको हो । अब त्यो सहकार्य अहिले पनि रहन्छ भन्‍ने होइन, नयाँ परिस्थिति आयो होला । वडा, पालिका, प्रादेशिक, राष्ट्रिय अधिवेशनमा परिस्थिति फरक-फरक हुन सक्छन् । यसकारण पहिला यस्तो गरिस् अब पनि त्यही हुन्छ भन्‍ने हुँदैन । सबैको आ-आफ्नै इन्ट्रेस्ट हुन्छ नि । 

भनेपछि तपाईं रामचन्द्र पौडेल पक्षधर नै हो ?
त्यो त अब अन्यथा भन्‍ने नै छैन नि । हिजोदेखि त्यही हो । 

संस्थापनइतर समूहमा देखिएको किचलोलाई कसरी नियाल्नु भएको छ ? 
समूह भन्‍ने हो भने कहिँ छाड्न सक्नुपर्छ । समूह भन्‍ने तर छाड्न नचाहने प्रवृत्ति देखिएको छ । पौडेलजीको कुरा छाडिदिउँ । सबै नेताहरू ६/७ दशकदेखि पार्टी राजनीतिका लागि जीवन बिताउनु भएका नेताहरूले आफ्नो इच्छाका लागि आफूसँग आउन लागेको लिडरसीपको मौकालाई छाड्नुहुन्छ भन्‍ने मलाई लाग्दैन ।

भनेपछि रामचन्द्र पौडेललाई नै सभापतिको उम्मेद्‌वार बनाउनुपर्छ भन्‍ने तपाईंको लाइन हो ?
मैले भने नि, उहाँहरू मिल्नुहुन्छ । अहिलेसम्म रामचन्द्र पौडेलकै नामले त भइरहेको छ, पार्टीमा । यत्रो वर्ष उहाँलाई नै नेता मानेर आएको हो नि । उहाँलाई चित्त बुझाएर जान पनि सकिन्छ । होइन अब नयाँ पुस्ताले यसपालि पौडेलजीकै नेतृत्वमा जाउँ भन्‍नुभयो भने अझै राम्रो हुन्छ नि । नेतृत्वमा बसेपछि निकास त दिनै पर्‍यो नि । तत्काल उहाँहरू एउटा निचोडमा पुगेर देशभरबाट आएका प्रतिनिधिलाई हाम्रो सभापतिको उम्मेद्‌वार यो हो भनेर भन्‍न सक्नुपर्छ । 

महाधिवेशनको सेरोफेरोमा रहँदा नेतृत्वमा मात्र बहस चर्किएको छ । नीतिमा भने कहिँकतै बहस किन नभएको ? 
म के सहमत छु भने कांग्रेसको अधिवेशनबारेमा नीति, कार्यक्रम, आदर्शबारेमा बहस नै छैन । हिजो बीपीले जुन विचार प्रतिपादन गर्नुभएको थियो, जतिबेला २०१२ सालमा कांग्रेसले लोकतान्त्रिक समाजवादी हाम्रो नीति भनेपछि हामी परिवर्तन भएका छैनौँ । बरु अरु पार्टीहरू पनि यही लाइनमा आउनुभएको छ, विभिन्‍न नाममा । महाधिवेशन भन्‍नासाथ अहिले नेतृत्व चयन भन्‍ने सन्देश गएको छ । तर यसकारण नीतिमा बहस हुन छाड्यो भन्‍ने होइन । हाम्रा केन्द्रीय समितिहरूले विभिन्‍न प्रस्ताव लानुहुन्छ, त्यसमा बहस हुन्छ, छलफल हुन्छ । मुलकुरा के हो भने आगामी निर्वाचनमा कांग्रेसका कार्यक्रम के हो स्पष्ट पारेर जनताको बीचमा लैजानुपर्छ ।

कांग्रेसको आन्तरिक लोकतन्त्र धराशयी भयो, सत्ताको दौडमा कांग्रेसले आफ्नो विचार छाड्यो भन्‍ने टिप्पणी हुने गरेको छन् । कांग्रेस साँच्चै नै असफलतातर्फ उन्मुख भएको जस्तो लाग्छ ? 
कांग्रेस जस्तो पार्टी असफल भयो भने नेपालमा कुन पार्टी टिक्छ ? पार्टीलेस हुन्छ त ? हाम्रो पार्टीमा अझै पनि सत्ताका लागि लुछाचुँडी छैन । ब्यालेन्सड नै छ जस्तो लाग्छ । सत्ताका लागि दौड भन्‍ने पार्टीमा छैन । विगतमा हामीले देख्यौँ, समसामायिक कुरामा निर्णय दिन नसक्ने, जनताका लागि आवश्यकहरूलाई प्राथमिकता नदिने कमीकमजोरी देखिएका छन् । हामी जस्ता नेता केन्द्रीय कमिटीमा पुगे त्यस्ता समस्या हटाउन सक्छौं । 

कांग्रेसमा अहिले समस्या नै छैनन् त ? बुँदागत रुपमा भन्‍नुपर्दा कांग्रेसका समस्या केके छन् ?
इतिहासले कहिले गिरिजाप्रसाद जन्माउँछ, कहिले बीपी, कृष्णप्रसाद भट्टराई जन्माउँछ । कहिले गणेशमान सिंह जन्माउँछ । तर सधैँ गणेशमान जन्माउँदैन । विधानले सभापति चलाउनुपर्‍यो । विधानले बनाएका समूहरू समयमै बनाउनुपर्छ । जनमुखी कार्यक्रमहरू ल्याउनुपर्‍यो । यस्ता समस्यालाई सिधा भन्‍न सक्नुपर्छ । यति वर्षभित्र योयो गर्छौं भनेर खाका बनाउनु पर्‍यो । अहिलेको नेतृत्वले त्यसतर्फ ध्यान दिन नसकेको निश्चित नै हो ।

अबको महाधिवेशनपछि आउने नेतृत्व कस्तो हुनुपर्छ भन्‍ने लाग्छ ? अहिलेकै नेतृत्व दोहोरिए पनि अथवा नयाँ नेतृत्व आए पनि कस्ता सुधारका साथ आउनुपर्छ भन्‍ने छ ? 
विधानलाई शिरोपर गर्ने, नेपालका सबै नीति बुझेको र राम्रो बनाउन सक्ने, जनताका बीच पार्टीलाई मजबुत बनाएर लैजान सक्ने नेतृत्व आउनुपर्छ ।

कांग्रेस महाधिवेशन : सादा पोसाकका प्रहरीदेखि कुकुरसहितको गस्ती, साढे ११ सय प्रहरी परिचालन

इकागज | मंसिर २४, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । देशभरबाट हजारौं नेता कार्यकर्ता र जनसहभाग...

कांग्रेसमा पदाधिकारी संख्या थपेर महिलालाई प्रमुख पदमा पुर्‍याउनुपर्छ

इकागज | मंसिर २४, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पुष्पा भुसाल पदाधिकारी आकांक्षी हुन् । पार्टीको संसदीय दलका सच...

फिल्म पैसाका लागि हैन, अभिव्यक्तिका लागि बनाउँछु

सौरभ राई भारतमा बसेर नेपाली फिल्म बनाउने निर्माता तथा निर्देशक हुन् । भारतको कालिम्पोङमा जन्मिएर ललितपु...

कमल थापालाई प्रश्‍न : एमालेले राजसंस्था, हिन्दू राज्य र संघीयताको मुद्दा सम्बोधन गरोस् भन्‍ने हो ?

इकागज | मंसिर ११, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति निकै सका...

‘अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहित नेता ओलीजी नै हो, उहाँ दोहोरिए राम्रो हुन्छ'

इकागज | मंसिर १०, २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितव...

नीति साझा बनाउँ, अब्बल नेतृत्व चयन गरौं  (अन्तर्वार्ता भिडियोसहित)

पुष्पराज आचार्य | मंसिर ६, २०७८

नेकपा एमालेभित्र वैचारिक नेताको छवि बनाएका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे आसन्न १०औं महाधिवेशनमा कस...

‘पकेटका मान्छे छानेर नेता बनाउँछु भन्‍ने सोच अब एमालेमा हुनुहुँदैन’

अनिष भट्टराई | मंसिर ६, २०७८

तत्कालीन नेकपा एकता खारेजपछि ब्युँतिएको नेकपा (एमाले)ले पनि विभाजन भयो । खासमा एमालेको विभाजन ...