सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन
मलङ्गवा- सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विसर्जन गरिएको छ । विगतमा मूर्ति विसर्जन गर्न जाने क्रममा दुई समुदायबीच मलङ्गवामा विवाद उत्पन्न भई साम्प्रदायिक दङ्गा भड्किएपछि आज विशेष सुरक्षा व्यवस्था अपनाएर मुर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
यस वर्ष मलङ्गवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए । मूर्ति विसर्जनमा यस वर्ष सर्वसाधारणको सहभागिता घटेको थियो ।
विगत वर्षको मार्गमा दुर्गाजीको मूर्ति घुमाउन सुरक्षाकर्मीले दिएनन् । यसमा आपत्ति जनाउँदै अधिकांश सर्वसाधारण मूर्ति विसर्जनमा सहभागी नभएको स्थानीय सुधीर शर्माले जानकारी दिए । यसअघि मलङ्गवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भई कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो ।
मार्गबारे विवाद भएपछि मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विर्सजन गर्न सर्वसाधारण नआएर ढिलाई भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पङ्कज कर्णले जानकारी दिए । मलङ्गवाको जिल्ला विकास चोकको मूर्ति विसर्जनका लागि सहजीकरण भइरहेको प्रहरीले जनाएको छ । रासस