पल्सर स्पोर्टस अवार्ड फागनु २३ मा
काठमाडौँ- ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ फागुनमा हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार पत्रकार सम्मेलनमार्फत १९ औँ संस्करणको स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने जानकारी गराएको हो ।
एनएसजेएफका महासचिव प्रज्वल ओलीले काठमाडौँ कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने अवार्डका क्रममा २०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने बताए ।
ओलीका अनुसार स्पोर्ट्स अवार्ड २०७८ मा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिने छ । वर्षको उत्कृष्ट खेलाडी पुरुष/महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्डलाई समेटिएको छ ।
वर्ष खेलाडी पुरुष, महिला,युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमा सार्वजनिक गरिने छ भने लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिन गरिने आयोजकले जनाएको छ ।
वर्ष खेलाडी पुरुष/महिला, पिपल्स च्वाइस, प्रशिक्षक तथा युवा खेलाडीतर्फको विजेताले बजाजको पल्सर मोटरसाइकल प्रदान गरिने छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
यसैबीच एनएसजेएफ र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिबीच मुख्य प्रायोजनका लागि सम्झौता भएको छ । एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार यस वर्षसँग आगामी चार वर्ष पनि स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकका रूपमा बजाज पल्सर मोटरसाइकल रहने एनएसजेएफले जनाएको छ ।