वीरगञ्ज महानगरः टिकट पाउन पार्टी फेरेका सरावगी र सिंह यसपालि पनि आमने-सामने हुँदै
काठमडौं– आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज नगरपालिकाको मेयरका लागि मनोनयनको दोस्रो दिन सोमबार जनता समाजवादी पार्टी (जसपा)बाट राजेशमान सिंह र नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरको मेयरमा निकटतम प्रतिद्वन्द्वी रहिसकेका सिंह र सरावगी यसपालिको निर्वाचनमा पनि आमने-सामने हुँदै छन् ।
गएको निर्वाचनमा वीरगञ्जको बहालवाला मेयर सरावगीले तत्कालीन संघीय समाजवादी फोरमबाट चुनाव लडेका थिए भने दोस्रो भएका सिंह राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका थिए । सरावगी १९ हजार ३ सय ९३ मत प्राप्त गरेर मेयरमा निर्वाचित हुँदा सिंहले १२ हजार १ सय ६५ मत पाएका थिए ।
मेयरको टिकट पाउनकै लागि पार्टी परिवर्तन गरेका सरावगी र सिंहबीच यसपालि पनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
२०४३ सालमा नेविसंघबाट राजनीति सुरु गरेर कांग्रेसबाट २०५४ सालको स्थानीय तहको चुनावमा वडा सदस्यमा समेत निर्वाचित सिंह गत चैतमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा)बाट जसपा प्रवेश गरेका हुन् । सुरुमा सिंहको एमालेमा प्रवेश गर्ने योजना थियो तर, उनीभन्दा अगाडि सरावगी एमालेमा प्रवेश गरेपछि उनी राजपामा प्रवेश गरेका हुन् ।
व्यपारिक घरानामा जन्मिएका सरावगी गत फागुनमा एमालेमा प्रवेश गरेका हुन् । उनी २०६३ को लोकतान्त्रिक आन्दोलनको बेला उद्योग वाणिज्य संघको अध्यक्ष थिए ।
गत निर्वाचनमा सरावगी पहिलो र सिंह दोस्रो हुँदा लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव ८ हजार ७ सय १ मत ल्याएर तेस्रो भएका थिए । त्यस्तै, एमालेका बसरुद्धीन अन्सारी ८ हजार ६ सय ८८ मतका साथ चौथो र नेकपा माओवादी केन्द्रका रहवर अन्सारी ८ हजार ३ सय ५ मतका साथ पाँचौ भएका थिए ।
उपमेयरमा भने कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय ७ मत पाएर विजयी भएकी थिइन् ।