स्वतन्त्र मेयर बन्न कस्सिएकी सुनिताको यसरी भयो एमालेमा ‘इन्ट्री’
काठमाडौं – पूर्व मिस नेवाः एवम् संचारकर्मी सुनिता डंगोल नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरको लागि उम्मेदवारी दिने भएकी छिन् । हिजो शनिवारसम्म स्वतन्त्र उम्मेदवारको रूपमा काठमाडौंको मेयरको उम्मेदवारी उनको तयारी थियो । उनले सोही अनुरूप नै घोषणापत्रसमेत सार्वजनिक गरेकी थिइन् ।
मेयर बन्न कस्सिएकी सुनिताको एकाएक एमालेमा प्रवेश गरेर उपमेयरको उम्मेदवारी पक्का गरेपछि स्वतन्त्र उम्मेदवारीप्रति उनको विश्वासको ह्रास र एमालेले उनको व्यक्तित्वलाई आफ्नो भोट बढाउने अस्त्रको रूपमा प्रयोग गरेको टिप्पणी भइरहेको छ ।
उनको यो चित्त बुझाइले स्वतन्त्र रूपमा चुनावमा जित्न कठिन भएको संकेत गर्छ । अर्कोतर्फ उनले एजेन्डा र व्यक्तिगत लोकप्रियताभन्दा पनि पार्टीको झन्डा बोकेर मात्रै पदमा पुग्न सकिने बुझाईलाई स्थापित गर्न खोजेकी छिन् ।
एकदिनमै सुनिताको अडान र विचारमा १८० डिग्रीको परिवर्तन देखिएको छ, शनिबार दिउँसोसम्म उनले निर्वाचनको मैदानमा जनताबीच आउन दलीय झन्डा नै आवश्यक नरहेको बताएकी थिइन् ।
नेवार समुदायको बसोबास बढी भएको काठमाडौँको उपमेयरमा सुनिताको लोकप्रियतालाई एमालेले भजाउन खोजेको छ । त्यसैपनि एमालेको विरुद्धमा गठबन्धन भएकाले एमालेले उम्मेदवारको प्रोफाइललाई पनि बेच्न प्रयास गरेको देखिन्छ ।
डंगोल एमालेकै सदस्य भएको कारण आफूहरूले उपमेयरको रूपमा प्रस्ताव गरेको एमालेका काठमाडौं अध्यक्ष निर्मल देउला बताउँछन् । उनी भन्छन्, ‘उनी हाम्रो पार्टीको सदस्य पनि हुन् । यहाँका युवाहरूको उनलाई समर्थन छ । त्यसैले उनलाई उपमेयरका उठाउन लागेका हौँ ।’
हुन त उनी एमालेको महानगर कमिटीबाट सिफारिस भएकी थिइनन् । उनलाई प्रदेश कमिटीले सिफारीस गरेको उनी बताउँछन् । उनको लाेकप्रियता र उनी एमाले पार्टीको समर्थक भएका कारण टिकट दिएको देउलाले बताए ।
उनले यो उपमेयरको पदको लागि उम्मेदवारी पहिलो खुट्किलाे भएको एक विज्ञप्ति जारी गर्दै बताएकी छन् ।
मेयरको रूपमा आफ्नो घोषणा पत्र सार्वजनिक गरेर पार्टीबाट उपमेयरमा चित्त बुझाउनुले आफ्नो चुनावी एजेन्डाभन्दा पनि पार्टीकै उम्मेदवार भए मात्रै पदमा पुग्न सकिने सोचाई हावी भएको देखिन्छ ।
एमालेबाट टिकट पाएका स्थापित २०५४ सालमा काठमाडौंको मेयर बनेका थिए । त्यसबेला उनले गरेका कामले केही विवाद र धेरै चर्चा पाएको थियो । २०७४ सालमा भएको स्थानीय चुनावमा पनि मेयरमा लागि लबिङ गरेका थिए ।
तर योपटक भने स्थापित मेयर र डंगोल उपमेयरको लागि टिकट पाएकी छिन् । नेवा लिपी, संस्कृति र भाषाको प्रवर्द्धनक लागि अभियानमा सक्रिय थिइन् । डंगोल मिस नेवा २०११ की विजेता पनि भएकोले काठमाडौंमा युवाहरू माझ उनी चर्चित छिन् ।
लामो समयदेखि काठमाडौंको संस्कृतिका आन्दोलनमा सहभागी उनलाई उपमेयरमा उभ्याएर पार्टीले युवा र अभियन्ताहरुको लागि सही कदम चालेको सम्पदा संरक्षण अभियान्ता गणपतिलाल श्रेष्ठ बताउँछन् ।
‘सुनिताले पहिले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे पनि पार्टीले उनलाई आफ्नो तर्फबाट उठ्न आग्रह गरेको थियो । यसैबीच एमालेले उनलाई उपमेयर बनाउने प्रस्ताव गर्याे । एमाले जत्तिको पार्टीले उपमेयरमा उठाउने भए पनि त्यो कुरा नकार्न मिलेन’ श्रेष्ठ भन्छन्, ‘सुनिताको इच्छा काम गर्ने हो । त्यो पार्टी वा स्वतन्त्र भएर पनि गर्न सकिन्थ्यो । तर स्वतन्त्र उम्मेदवार हुँदा चुनाव चिन्ह चिनाउन नै गाह्रो पर्ने रहेछ । त्यसैले पनि उनी पार्टीको तर्फबाट उम्मेदवारी दिने भएकी हुन् ।’
सुनिताले यसलाई राजनीतिमा आफ्नो पहिलो खुट्किलो भनेकी छिन् ।
‘मैले इमान्दारीतापूर्वक भन्‍नैपर्ने हुन्छ राजनीतिमा मेरो यो पहिलो खुट्किलो हो । मैले राजनीतिकै माध्यमबाट निकै लामो यात्रा तय गरेर जनताको सेवा गर्दै जानु पर्दछ’ उनको विज्ञप्तिमा लेखिएको छ ‘म बहुदलीय व्यवस्थामा विश्वास गर्ने नागरिक हुँ । त्यसैले मैले मेयर पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा पनि युवाको आवाज बुझ्ने, साँस्कृतिक–सामाजिक अभियन्ताको आवाज बुझ्ने दलसँग सहकार्य गर्न सकिन्छ भनेर मैले पटक-पटक भन्दै आएकी थिएँ ।’