पक्‍की घर पाउँदा ३४ घर सुकुम्बासी मख्‍ख

सौरभ यादव | कात्तिक २२, २०७७

विराटनगर  : मोरङको ग्रामथान गाउँपालिका-७ नयाँबस्तीका सुकुम्बासीहरूले जस्तापाता लगाएको नयाँ पक्की घर पाएपछि खुसीयाली छाएको छ । सुनसरी मोरङ सिचाईं आयोजना अन्तरगत नहरको ढिलमा बसेका ग्रामथानका ३४ जना सुकुमबासीहरूको घर सरकारले बनाइदिएपछि खुसीयाली छाएको हो ।

संघीय सरकारको तराई मधेस समृद्धि कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको जनता आवासमा आधारभूत आवश्यकताको प्रबन्ध नमिलाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

राज्यको कोषबाट नागरिकका लागि निर्मित घरहरुमा आधारभूत आवश्यकता र अतिआवश्यकीय प्रवन्ध बिना नै हस्तान्तरणका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अथितिको रुपमा कार्यक्रममा पुगेका थिए । मोरङ क्षेत्र नम्बर ४ अन्तर्गतका संघीय सांसद अमनलाल मोदीको निम्तामा मुख्यमन्त्रीसँगै आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय विश्वाससहितको उपस्थिति रहेको थियो । ग्रामथान गाउँपालिकाले आफ्ना नागरिकका लागि निर्माण गरेको आवास हस्तान्तरणका लागि औपचारिक कार्यक्रमको आयोजना गरेको हो ।

तर, कार्यक्रम गरेर मुख्यमन्त्रीले नागरिकलाई हस्तान्तरण गरेका घरमा शौचालय भएर पनि जडान नगरिएको, पानीको स्रोतको यकिन नै नभएको र बिजुलीको समेत सुविधा छैन । एकिकृत नमूना बस्तीका लागि तराई मधेस समृद्धि कार्यक्रमको ६७ लाख ९ हजार १९६ रुपैयाँ स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १ करोड १९ लाख ८६ हजार र ग्रामथान गाउँपालिकाको १ करोड १७ लाख ४५ हजार लागत साझेदारी रहेको गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएर घर बनाउन नसकी अस्थायी संरचनामा कष्टकर जीवन गुजार्दै आएकी ग्रामथान गाउँपालिका ७ की प्रमिला चौधरीले अब टहरामा गर्मीमा मछेट, वर्षामा पानी चुहेर हिलाम्मे र जाडोको चिसो सिरेटो खानु नपर्ने भन्दै खुसी भइन् । ‘अस्थाही टहरमा धरै कष्टकर तरिकाले जीवन यापन गर्नु परेको थियो,’ बिगतमा पाएको दुःख सुनाउँदै पक्की घरमा बसेकी चौधरीले भनिन्, ‘बर्खामा हुने डुवान र जाडोमा हुने सीतलहरको समस्याबाट अन्त्य भएको छ ।’

अस्थायी संरचनामा वृद्धवृद्धा र बालबालिकालाई चिसोबाट जोगाउन निकै समस्या हुने गरेको थियो । यहाँका सुकुम्बासीहरूको बसोबासको टुंगो लागेपछि दैनिक जीवनयापन गुजार्न सहज भएको उनीहरुको भनाई छ । ‘सरकारले पक्की घर बनाइदियो,’ सन्तोष कुमार चौधरीले भने, ‘अब जीवनयापनमा सहज हुने भयो ।’

पक्की घर बनेपछि वर्षामा धेरै राहत मिलेको छ । ‘खाना पकाउने अन्न र दाउरासमेत जोगाउन सकिएको थिएन,’ उनले भने, ‘अहिले ठूलो घरमा बस्न पाइयो । जस्ताको छानोमुनि स्वर्ग पाएजस्तो भएको छ ।’ उनीहरूले घर भित्र शौचालय बनेको छ ।

यहाँका सुकुम्बासीहरूलाई छोराछोरी हुर्काउन र बिहान-लुकीको छाक टार्न निकै गाह्रो थियो । ‘पेटको आगो निभाउँदै ठिक्क थियो, चुहिएको छानो कहाँबाट छाउन सक्नु,’ नयाँ घर पाएकी मन्जु कुमारी सरदारले भनिन्, ‘अहिले पक्की घर, जस्ताको छानो सपनाजस्तो लागिरहेको छ ।’ मुन्टो लुकाउने थलो दरिलो भएपछि गरिखाने आत्मविश्वास नै बेग्लै भएको उनले हर्षिक मुद्रामा बताइन् ।

नयाँ पक्की घर पाएका ग्रामथान गाउँपालिका ७ नमुना बस्तीका सुकुमबासीहरूले खानेपानी, बिजुली बत्ती चाँडो ल्यादिन तीन तहको सरकारसँग आग्रह गरेका छन् । नयाँ घर निर्माण भइसकेकोले चाँडै बिजुली वत्ती र खानेपानी पनि संचालनमा ल्याइदिन उनीहरूले माग गरेका हुन् । स्थानिय प्रमिला चौधरीले सरकारले घर निर्माण गरि हस्तान्तरण गरिदिइ सकेकोले खानेपानी र बिजुली बत्ती पनि चाँडो बनाइदिन सरकारसँग आग्रह गरेकी छिन् ।

‘नयाँ घर त हामीले पाइम,’ उनले भनिन्, ‘बिजुली बत्ती र खानेपानी अहिलेसम्म आइपुगेको छैन् । अहिले सोलरले उज्यालो काम चलाएका छौं ।’ उनले बिजुली आए अन्य कुनै आयआर्जनको काम गरेर स्वरोज बन्न सकिने बताइन् ।

उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँचको मृत्यु, तीनको अवस्था गम्भीर

इकागज | कात्तिक २, २०७७

उदयपुर : कटारी नगरपालिका-१४ भदौरे भीरमा स्कारपिओ जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शनिबा...