कोभिडले आयात कमी, भन्सार लक्ष्यभन्दा कम राजस्व

इकागज | कात्तिक २३, २०७७

विराटनगर : विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीनमा महिनामा लक्ष्यभन्दा करीव २० प्रतिशत कम राजश्‍व मात्र संकलन गरेको छ । २०७७/७८ को तीन महिनामा ७ अर्ब ९३ करोड ३० लाख ४२ हजार रुपैयाँ राजश्‍व संकलन भएको भन्सार कार्यालले जनाएको छ । साउनदेखि असोजसम्म कार्यालयले १० अर्ब १ करोड १८ लाख ६ हजार रुपैयाँ राजश्‍व संकलन गर्ने लक्ष्य लिएको थियो । 

कोभिड-१९ का कारण आयातमा नै कमी आएको भन्सार प्रमुख शिव भण्डारीले बताए । ‘औद्योगिक कच्चा पर्दाथको आयात घटेको छ,’ उनले भने, ‘अर्कोतर्फ रक्सौलको पाइप लाइनवाट पेट्रोलियम पर्दाथ आउन थालेपछि त्यसको प्रभाव यहाँ पनि देखिएको हो ।’ 

उनका अनुसार पछिल्ला दिनमा राजश्‍व संकलनमा सुधार आएको छ । ‘दैनिक लक्ष्यको ८० प्रतिशत माथि संकलन हुन थालेको छ,’ उनले भने, ‘अब लक्ष्यमा पुग्‍ने आशामा छौं ।’

प्रमुख रुपमा औद्योगिक कच्चा पर्दाथमा रडलगायत फलामका सामानको आयातमा कमी आएको छ । तर यो अवधिमा ७ अर्ब ९३ करोड ३० लाख ४२ हजार रुपैयाँ अर्थात ७९ दशमलव २४ प्रतिशत मात्र संकलन भएको हो । 

गएको आर्थिक वर्षको यो अवधिमा कूल ८ अर्ब ९९ करोड ३८ लाख ९ हजार रुपैयाँ राजश्‍व संकलन भएको थियो ।  भन्सार कार्यालयका अनुसार आयाततर्फ ३ अर्ब १७ करोड २ लाख ९२ हजार, मूल्य अभिवृद्धि कर ३ अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क ४६ करोड ३७ लाख ८२ हजार छ । 

यस्तै भन्सार महसुल निर्याततर्फ ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क २७ करोड ६३ लाख, भन्सारको अन्य आय ९४ लाख ३६ हजार र पूर्वाधार कर १८ करोड १४ लाख ४० हजार रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको सुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेकोमा भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोजमा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको जनाएको छ ।